प्रजिअ, उपमहानगर र अस्पताल अर्कालाई समस्या पन्छाउँछन्

|

हेटौंडा : बागमती प्रदेश राजधानी हेटौंडा भएपछि यहाँ पूर्वाधार विकासलगायत धेरै क्षेत्रले फड्को मार्ने अपेक्षा गरिएको थियो। तर प्रदेश सरकारले नै बजेट छुट्याएर काम सुरु गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (हालको हेटौंडा अस्पताल) चुरेहिल अस्पताल, मकवानपुर सहकारी लगायत अन्य स्वास्थ्य संस्थामा आउने बिरामीले दिनभरि एम्बुलेन्स खोज्दा पनि भेटिने अवस्था छैन। 

शनिबार हेटौंडा १ जरुवाटोलकी एक वृद्धा बिरामीलाई आकस्मिक रुपमा स्वास्थ्य समस्या भएपछि चितवन मेडिकल कलेज लैजानुपर्ने भयो, तर दिनभरि एम्बुलेन्स खोज्दा पनि नभेटेपछि स्कर्पियो रिजर्भ गरेर लैजानुपरेको बिरामी वृद्धाका छोरा सन्तोष शर्माले बताए। 

यस्तै हेटौंडा अस्पतालमा डिस्चार्ज हुने सुत्केरीले पनि एम्बुलेन्स नपाएर निजी गाडी र अटोमा जानुपर्ने बाध्यता छ। एम्बुलेन्स अभावको जानकारी गराउँदा अस्पतालमा कार्यरत चिकित्सक, प्रशासनले बेवास्ता गर्ने गरेको शनिबार हेटौंडा अस्पतालमा आएका बिरामीहरुले बताएका छन्। 

शनिबार हजुरआमाको उपचार गर्न आएकी हेटौंडा ४ कर्राकी कल्पना तिमल्सिना भनिन् ‘दिनभर एम्बुलेन्स चालक र अस्पतालमा फोन गर्दा पनि मेसुको फोन उठ्दैन, न हामीलाई एम्बुलेन्सबारे अरुले जानकारी दिन्छ।’

शनिबार हेटौंडा अस्पताल मात्रै होइन, हेटौंडाको चुरेहिल अस्पताल, हेटौंडा सहकारी अस्पतालमा पनि एम्बुलेन्स नभएको भएका, केही एम्बुलेन्स पनि भरतपुर गएका एम्बुलेन्स चालकहरुले बताए। 

नेपाल रेडक्रस सोसाइटी मकवानपुरको एम्बुलेन्स पनि थन्किएको छ भने केही एम्बुलेन्सहरु बिग्रिएर ग्यारेजमा रहेका एम्बुलेन्स चालकहरु बताउँछन्। 

लकडाउनको फाइदा उठाउँछन् चालक 

कोरोना भाइरसको कारण देशमा केही हदसम्म लकडाउन छ। त्यसको फाइदा मकवानपुरका एम्बुलेन्स चालकहरुले लिइरहेका छन्। एम्बुलेन्स चालकहरुले बिरामीको बाहाना गर्दै यात्रुलाई मकवानपुर–चितवन, मकवानपुर–वीरगन्ज ओसारपसार गराइरहेको पाइन्छ। 

यात्रुहरुले पनि जिल्ला प्रशासनसँग पास लिने झमेला गर्नुभन्दा केही बढी रकम तिरेर एम्बुलेन्समा यात्रा गर्न थालेका छन्। जसका कारण हेटौंडामा एम्बुलेन्सको दुरुपयोग बढेको देखिन्छ। 

यस्तै एम्बुलेन्सहरू बिरामी पु¥याएर एम्बुलेन्स दर्ता भएको सम्बन्धित स्वास्थ्य संस्थामा नपुगी फर्कने बिरामी कुरेर बस्दा एम्बुलेन्सको कमी भइरहेको हेटौंडा अस्पतालका अध्यक्ष प्रकाश पौडेलले बताए।  

समस्या पन्छाउँछन् सबै

एम्बुलेन्स अभावबारे जिल्ला प्रशासन कार्यालय, हेटौंडा उपमहानगरपालिका र हेटौंडा अस्पताल सबैलाई जानकारी भएता पनि सबैले जिम्मेवारीबाट पन्छिने कुरा गरेका छन्। मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाल आफैं एम्बुलेन्स सञ्चालनको जिल्लास्तरीय समितिका अध्यक्ष हुन्छन्। तर नेपालले एम्बुलेन्स नपाएको बारे जानकारी गराउँदा उनले गैरजिम्मेवार जवाफ दिएका छन्। 

उनले भने, ‘हेटौंडाको कुरा उपमहानगरले हेर्ने हो, समस्या आइरहेको छ तर उपमहानगरलले नियमन गर्ने हो। अन्य स्थानीय तहको समस्या छैन, यहाँको उपमहानरले हेर्ने हो।’ 

यस्तै हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुपेन्द्र कार्कीले हेटौंडा उपमहानगर क्षेत्रको एम्बुलेन्स सञ्चालनबारे हेटौंडा अस्पतालका अध्यक्ष प्रकाश पौडेलले हेर्ने बताए।

हेटौंडा अस्पतालका अध्यक्ष प्रकाश पौडेलले भने आफूलाई कानुनी रुपमा कुनै अधिकार नभएको बताए। हेटौंडा अस्पतालको एउटा एम्बुलेन्सबारे मात्रै जानकारी हुने उनी बताउँछन्। 
उनले एम्बुलेन्स अभावबारे प्रजिअलाई जानकारी गराए पनि हल नभएको भन्दै जिल्ला प्रशासन कार्यालयले नियमन गर्नु पर्ने तर्क गरेका छन्।

  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.