हेटौंडा : मकवानपुर जिल्लामा कोरोना संक्रमण समुदायस्तरमै देखिन थालेको छ। ट्राभल हिस्ट्री नभएका र लक्षण नदेखिएका व्यक्तिहरू पनि संक्रमित हुन थालेका छन्।
आइतबार मात्रै जिल्लामा २३ जना कोरोना सङ्क्रमित थपिएका छन्। यी मध्ये हेटौंडा उपमहानगरभित्रका २० जना रहेका छन्। संक्रमितमध्ये ६ महिला र १७ पुरुष रहेका आइसोलेसन वार्डका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिएका छन्।
हटिया प्रहरी चौकीमा कार्यरत चार जना प्रहरीमा पनि संक्रमण पुष्टि भएको छ। केही दिनअघि मात्रै हटिया चौकीका एकजना प्रहरी सङ्क्रमित भेटिएका थिए।
आइतबार पहिचान भएका सङ्क्रमितमध्ये उपमहानगरको वडा नम्बर २ का २९ वर्षीय एकजना, वडा नम्बर ४ का २८, ३२, ३६ र ५४ वर्षीय गरी चारजना, वडा नम्बर ५ का २१, ३०, ३२ ३९ वर्षका चार जना रहेका छन्।
यस्तै, वडा नम्बर ९ का ४३, ७० र ८८ वर्षका तीनजना, वडा नम्बर ६ का २६ वर्षीय एकजना, वडा नम्बर ११ का ३४ वर्षीय एकजना, वडा नम्बर १३ का एकजनामा पनि कोरोना संक्रमण देखिएको छ। प्रहरी चौकी हटियाका २४, २९, ३४ र ३५ वर्षका चारजनामा कोरोना सङक्रमण पुष्टि भएको छ।
हेटौंडा–११, थार्नायाङमा काम गर्ने विराटनगरका २१ वर्षीय एकजना, बकैया, भीमफेदी र मकवानपुरगढी गाउँपालिकाका क्रमशः २४, ३० र ५२ वर्षका तीनजनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको जनस्वास्थ्य निरीक्षक चौलागाईंले जानकारी दिए।
शुक्रबार र शनिबार प्रयोगशालामा पठाइएका ३५ वटा स्वाब नमुनामध्ये २३ वटामा कोरोना पुष्टि भएको हो। शुक्रबार र शनिबार पठाइएको स्वाबको नमूनामध्ये अझै दुईवटाको रिपोर्ट आउन बाँकी रहेको छ भने आइतबार ४६ वटा नमूना प्रयोगशालामा पठाइएको छ।
प्रशासनको चरम लापरबाही
मकवानपुरमा एक्कासी ठुलो संख्यामा कोरोना संक्रमण दर बढ्नुमा प्रशासनले लिएको कमजोर नीति नै कारक देखिएको छ। कमाण्ड पोष्टको बैठकले चुरिया नाकामा कडाई गरेपनि जिल्ला भित्रको भीड नियन्त्रण गर्न सकेको छैन।
जिल्ला प्रशासन कार्यालय मकवानपुरमै सामाजिक दुरी कायम नगरी सेवा दिइरहेका कारण कोरोनाको जोखिम उच्च भएको छ। आइतबार एकैदिन २३ जनामा कोरोना पुष्टि भएपनि जिल्ला प्रशासन कार्यालयमा नागरिकता वितरणको ठुलो लाइन लागेको थियो। महामारीका बेला सेवाग्राहीको भीडभाड भएपनि प्रशासनले सजगता अपनाएको छैन।
तपाईंको ईमेल गोप्य राखिनेछ ।