सभापतिका दावेदारहरूसँग गतिलो एजेन्डा नै छैन
सभापतिका दावेदारहरूसँग गतिलो एजेन्डा नै छैन
काठमाडौं : नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले १३ औँ महाधिवेशनमा आफूले महामन्त्री पदमा उम्मेदवारी दिएकाले नै अहिले युवाहरुलाई बाटो खुलेको बताएका छन्।
थापाले थाहा खबरसँग कुराकानी गर्दै १३ औँ महाधिवेशनमा आफूले साहस गरेकैले अहिले दोस्रो पुस्ताका नेताले पदाधिकारीमा दाबी गर्ने हैसियत बनाएको बताएका हुन्।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको मिति भने फागुन ७ गतेलाई तोकिएको छ। पहिले केन्द्रीय सदस्यमा बल्लतल्ल स्थान बनाउने कांग्रेसको दोस्रो पुस्ताले यसपटक नेतृत्वदेखि पदाधिकारीसम्म आफ्नो दावेदारी प्रस्तुत गरिरहेका छन्। यसका पछाडि आफ्नो महत्त्वपूर्ण भूमिका रहेको युवा नेता थापा बताउँछन्।
‘१३ औँ महाधिवेशनमा पनि मलाई कसैले उम्मेदवारी दिन्छ भनेर पत्याएकै थिएनन् नि,’ उति त्यो क्षण सम्झिँदै भने, ‘शीर्ष नेताहरु सबैले नपत्याइरहेका बेला मैले उम्मेदवारी दिएँ। मलाई विश्वास गर्नेले, मेरो एजेण्डा मन पराउनेले भोट पनि हाल्नु भो।’
उनले आफूले चुनाव हार्नु र जित्नुभन्दा थिति बसाल्न सफल भएकोमा खुसी व्यक्त गरे। ‘मैले चुनाव जित्नु-हार्नुलाई ठूलो कुरा मानेको छैन। मैले एउटा थिति बसालेँ, यही ठूलो कुरा हो,’ उनी अगाडि भन्छन्, ‘त्यो बेला मैले हिम्मत नगरेको भए अहिले नयाँ पुस्ता पार्टीको पदाधिकारीमा जाने कुरा छलफलको विषय बन्थ्यो होला तर अहिले नै जाने अवस्था बन्दैनथ्यो।’
उनले १४ औ महाधिवेशनको चुनावी मैदानमा उत्रिँदा बलियो एजेन्डा पनि प्रस्तुत गर्ने बताए। यति मात्रै होइन, उनले अहिले सभापति लड्न चाहने शीर्ष नेताहरुले एजेण्डा प्रस्तुत गर्नै नसकेको पनि बताए।
‘म जुन दिन चुनावको मैदानमा जान्छु, एजेण्डा र मुद्दाका साथ उत्रिन्छु,’ उनले भने, ‘यहाँ सभापति लड्न तयारी गरिरहेकाले आफ्नो एजेण्डा प्रस्तुत गरेको खोइ? हिजोकै जसरी पार्टी चलाएर जनताले के विश्वास गर्ने? जनतामा विश्वास र भरोसा जगाउने एजेण्डा र मुद्दा समात्नु पर्दैन?’
नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा १२ जना नेता त सभापति आफू हुनुपर्छ भन्ने दाबीका साथ तयारीमा जुटेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षकै नेताहरु सबैभन्दा धेरै सभापतिको आकांक्षी छन्। सभापति देउवालाई अहिलेसम्म पार्टी उपसभापति विमलेन्द्र निधिबाहेक अरुले आफ्नै समूहमा अरुले चुनौती दिएका छैनन्। पूर्व महामन्त्री कृष्ण सिटौलालाई उनको समूहमा चुनौती दिने पनि कोही छैन।
१३ औँ महाधिवेशनमा महामन्त्री उमेदवार भएर लड्दै गर्दा आफूले जोखिम मोलेको गगनले उतिबेलै भनेका थिए। त्यति बेला पार्टीमा व्यक्ति व्यक्तिबीच भन्दा ज्वाइँ-ससुराको भिडन्त पनि महामन्त्री पदका लागि भएको थियो। अर्जुननरसिंह केसीलाई तत्कालीन (संस्थापन पक्ष) पौडेल समूहले गगनलाई उमेदवार बनाए आफू ब्याक हुने पनि बताएका थिए। तर, त्यस्तो भएन।
गगनलाई पौडेल समूहले महामन्त्रीको उमेदवार नबनाउने भएपछि उनले पनि सिटौला समूहबाट महामन्त्रीमा उम्मेदवारी दिए। अन्ततः पौडेल समूहबाट उमेदवार बनेका कांग्रेसका संस्थापक बीपी पुत्र शशांक कोइराला महामन्त्री निर्वाचित भए।
केसी र थापा पहिले दुवै तत्कालीन संस्थापन समूहका मानिन्थे। तर, देउवाले केसीलाई आफ्नो क्याम्पमा ल्याए। केसी अहिले पौडेल समूहमै फर्किसकेका छन्। महामन्त्रीमा जितेका शशांकले १४१७ मत ल्याएका थिए । केसीले १०१७ मत ल्याए भने तेस्रो भएका गगनले ५४८ मत मात्रै ल्याएका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।