महाधिवेशन नजिकिँदै गर्दा नेता तानातान
महाधिवेशन नजिकिँदै गर्दा नेता तानातान
काठमाडौं : प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको महाधिवेशनमा फागुन ७ देखि १० गतेसम्मलाई तोकिएको छ। साङ्गठानिक संरचना समायोजन, सदस्यता नवीकरण तथा वितरणको काम समयमै नसकिने पक्का भएकाले महाधिवेशनमा फागुनमै नहुने पनि पक्का छ।
फागुनमा महाधिवेशन नहुने विषय केन्द्रीय समितिले अनुमोदन गरे विधानत: त्यसको ६ महिनाभित्र गर्नै पर्ने बाध्यता छ। सभापति शेरबहादुर देउवा मिति सारेर आफू बलियो हुने रणनीतिसहित बढिरहेका छन्। आफूइत्तरमा कचिङ्गल रहेकाले देउवा फेरि सभापति बन्ने दाउमा छन्।
सभापति देउवाले पार्टी उपसभापति विमलेन्द्र निधिले सभापति पदकै लागि उम्मेदवारी दिए के गर्छन् भन्ने कुरा अहिले कांग्रेसभित्र बहसको विषय बनेको छ।
'हामीले कांग्रेसका देउवा गुटका नेतासँग यस विषयमा टेलिफोन कुराकानी गरेका छौँ। कुनै समय देउवाबाटै नेवि संघको नेतृत्व २३ वर्षकै उमेरमा खोसेका निधि लामो समय उनै देउवाको गुटमा रहेर साथ दिइरहे। तर, अहिले परिस्थिति त्यस्तो छैन', देउवानिकट एक नेताले भने, 'निधिलाई मात्रै होइन, कांग्रेसका पहिलो पुस्ताका नेता भनिनेलाई एउटै डर छ, ‘यो महाधिवेशनमा चान्स गुमाए १५ औँ महाधिवेशनमा त गगन, प्रदीप पौडेल पुस्ताले पूरै हस्तक्षेप गर्नेछन्।’
देउवा निवास पुगेर सभापति लड्न लागेको बताउँदै निधिले भनेका थिए, ‘म सभापति लड्ने हो, मलाई समर्थन गर्नुस्, अर्काे पटक गगन, मिनेन्द्रहरुको पालो हो।’
निधिको यो भनाइलाई देउवाले गम्भीर रुपमा लिएको उनीनिकट नेताहरु बताउँछन्। ‘विमलेन्द्र दाइले देउवाज्यूलाई सभापति लड्न लागेँ, समर्थन गर्नुस् भन्नुभयो, त्यसपछि सभापतिज्यूको प्लानमा केही गडबडी भएकै छ,’ देउवानिकट नेता भन्छन्, ‘बिमलेन्द्रलाई सभापतिले आफूलाई सहयोग गर, संसदीय दलका नेता बनाउँला भन्न सक्ने पनि देखिन्छ।’
तर, यसपाली निधिले ब्याक हुने संकेत नदिएको ती नेताले बताए। निधिले उम्मेदवारी दिए सबैभन्दा ठूलो धक्का देउवालाई नै हुने पक्का छ। उक्त समूहमा देउवाको गतिविधिले असन्तुष्ट भए पनि नेताहरु मुख फोरिहाल्न सक्ने अवस्थामा थिएनन्। देउवानिकट मानिने पार्टीका सहमहामन्त्री प्रकाशशरण महत निधिले उम्मेदवारी दिने पक्का भए सिनारियो फेरिने तर्क गर्छन्।
‘अहिले उहाँ सभापति लड्ने नै हो भन्ने पक्का त भएको छैन,’ उनले भने, ‘उहाँ लड्नु भयो भने केही परिवर्तन त हुन्छ। अहिले उहाँले इच्छा मात्रै व्यक्त गर्नु भएको हो। उहाँ लड्नु भयो भने अरु पनि थपिएलान् नि।’
निधिले उम्मेदवारी दिए देउवाले शशांकको टिम समात्न सक्ने उनको समूहका एक प्रभावशाली नेता बताउँछन्। ‘विमलेन्द्र कुनै पनि हालतमा ब्याक नहुने अवस्था भयो भने समीकरण परिवर्तन हुने छ। अहिले चलिरहेको गुटहरूमा धेरै फेरबदल हुन सक्नेछन्,’ उनले भने, ‘देउवाले अन्तिममा महामन्त्री शशांकलाई लिएर प्यानल बनाउनु हुन्छ जस्तो लाग्छ।’
देउवाले महामन्त्री कोइरालासँग पछिल्लो समय भेटघाट बाक्लै बनाएको उनले बताए। केही समयअघि शशांकलाई देउवाले एक पटक फेरि सहयोग गर्न भनेका थिए। अहिले देउवाले आफूनिकट नेताहरुलाई महामन्त्रीसँग र महामन्त्री निकटसँग छलफल बढाइरहेको स्रोतको दाबी छ।
देउवा समूहकै नेता निधि सभापतिको उमेदवार बन्ने पक्का भए देउवा ब्याक भएर सभापतिको कुन उमेदवारलाई साथ दिनेछन् भन्ने विषय पनि महत्वपूर्ण छ। देउवाले निधिको उम्मेदवारीका कारण चुनाव हार्ने आँकलन गरेर ब्याक हुँदा निधिलाई समर्थन गर्ने अवस्था नरहेको तर शशांकलाई समर्थन गर्ने सम्भावना रहेको नेताहरु बताउँछन्।
तर, देउवाको साथ नपाउँदा निधि भने पूर्व महामन्त्री प्रकाशमान सिंहको समूहलाई अगाडि लिएर जाने सम्भावना पनि देखिन्छ। निधिनिकट एक नेता भन्छन्, ‘निधि र प्रकाशमान दुवै कांग्रेस संस्थापकहरुको 'लिगेसी' बोकेका नेता हुन्। लिगेसी बोकेको भन्दैमा उनीहरु दु:ख नगरी आएका छैनन्। पार्टीमा लडेर आएकाले उनीहरुले संगठन पनि बनाएका छन्। यिनीहरूको समीकरणले कांग्रेसमा देउवा, पौडेल र सिटौला गुट भताभुङ्ग हुने देखिन्छ,’ एक नेता भन्छन्।
यही समूहलाई पूर्व महामन्त्री तथा १३ औँ महाधिवेशनबाट आफ्नो गुट स्थापना गरेका कृष्ण सिटौलाले पनि समर्थन गर्ने नेताहरुको विश्वास छ। ‘सिटौला दाइले यो समूहलाई समर्थन गर्नुहुन्छ। उहाँको मनसाय नै संस्थापन इतर र संस्थापन समूहबाट देउवाको विरुद्ध उत्रिने पार्टीमा थिति बसाल्ने भन्ने छ’ उनीनिकट एक नेताले भने। प्रकाशमान सिंह पौडेल पक्षका नेता हुन्। उनी निधिको टोलीसँग मिले त्यता पनि गुट फेरबदल हुने अवस्था छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।