|

ताप्लेजुङ : कोरोना माहामारीको जोखिमका कारण मुलुकका हरेक क्षेत्र प्रभावित भएका छन्। यसबाट शहर र भिडभाडभन्दा टाढा रहेका ताप्लेजुङका हिमाली गाउँ पनि मुक्त हुन सकेनन।

गलैंचा बेचेर गुजारा चलाउने चीनसँगको सीमावर्ती गाउँ ओलाङचुङगोलाका महिलालाई अहिले गलैंचा कहाँ बेच्ने भन्ने समस्या भएको छ। फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाकी डोङ्गा शेर्पासँग २५ वटा गलैंचा बिक्रीका लागि तयार छन्। यी गलैंचा उनले हिउँदभर बुनेकी हुन्। तर, कोरोना संक्रमणको महामारीले गर्दा गलैंचा घरमै थन्किएको छ।

चीनसँगको नाका बन्द भएपछि गलैंचा नबिकेको हो। ‘यतिकै घरमा बसेर पनि केहि काम छैन। बनाएको गलैँचा पनि बेच्ने ठाउँ छैन,’ डोङ्गाले भनिन्, ‘तिब्बतसँगको सिमाना बन्द हुँदा समस्या भएको हो।’

डोङ्गासहित ओलाङचुङगोलाका महिलाको मुख्य काम गलैंचा बुन्नु हो। प्रत्येक घरमा अहिले कम्तीमा १५ वटा बिक्रीका लागि तयार भएका गलैंचा छन्। यहाँको गलैंचाको मुख्य बजार तिब्बत हो। तिब्बतले नेपालसँगको टिपताला नाका माघयता बन्द गरेको छ। नेपालतर्फ पनि चार महिनासम्म बजार पसल बन्द थिए।

एउटा गलैंचा बुन्न १२ देखि १५ दिन लाग्छ। प्रतिगोटा मूल्य १० देखि २० हजार रुपैयाँसम्म पर्छ। गलैंचाको कच्चा पदार्थ धागो चीनबाटै ल्याइन्छ। सेतो धागो ल्याएर घरेलु झारपातको प्रयोग गरेर त्यसलाई विभिन्न रंगको बनाइने डोङ्गाले बताइन्। तान लगाएर हातले बुनेको गलैँचा निकै आकर्षक र खप्ने भएकाले राम्रो बजार पाउन थालेको थियो। तर, सबै काम हातले गर्नुपर्ने हुँदा लगानी धेरै हुन्छ। त्यसैले खासै धेरै फाइदा हुँदैन।

‘गलैँचा बुन्नका लागि धागो तिब्बतबाट नै ल्याउनु पर्छ। बिक्री पनि त्यही गर्ने हो,’ पासाङ छोकी शेर्पाले भनिन्, ‘सबै हातैले बनाउने हुँदा महँगो पर्न आउँछ तर यताको बजारमा बिक्री नै हुँदैन।’ 

तीन हजार २०० मिटर उचाईमा रहेको यो बस्तीमा अन्नबाली उत्पादन हुँदैन। जीविकोपार्जको आधार नै गलैंचा र पशुपालन हो। याक÷चौंरी र गलैंचा बेचेर यहाँका बासिन्दा गुजारा चलाउने गर्दछन्। चीन र नेपाल दुवैतर्फको बजार बन्द हुँदा व्यवसाय ठप्प भएको र अब स्थानीय तहको योजनाको नै आम्दानीको स्रोत बनेको छ। 

‘अहिले चिनसँगको कारोबार ठप्प छ,’ वडा नम्बर ७ का वडाध्यक्ष छेतेन भोटेले भने, ‘अहिले त स्थानीय तहको योजनाको काम मात्र भैरहेका छन्। त्यसैमा स्थानीय लागेका छन्।’

ओलाङचुङगोलामा ५३ घर परिवारको बसोबास छ। यहाँबाट वार्षिक ५०० भन्दा बढी गलैँचा तिब्बतको बजारमा निर्यात हुने गरेको वडा कार्यालयको तथ्यांकमा उल्लेख छ। यस्तै, कोसेलीको रुपमा काठमाडांै र अमेरिकासम्म पनि यहाँको गलैंचा पुग्न गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.