|

नवलपरासी : कोरोना महामारी फैलनसक्ने कारण देखाएर गत वर्षको चैत्र ११ गते देखिनै बन्द गरिएका हाटबजारहरू अहिले धमाधम खुल्न थालेका छन्।

पश्चिम नवलपरासीका स्थानीय तहका विभिन्न ठाउँहरूमा लाग्ने गरेका हाटबजारहरू पछिल्लो समय क्रमश: संचालनमा आउन थालेका हुन्। हाटबजार संचालनमा आएपछि मानिसहरूको चहलपहल बढ्दै गैरहेको छ।

हाटबजार संचालन गर्नका लागि जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहबाट स्वीकृति दिइएको छैन। पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक हाटबजार संचालनका लागि लगाइएको प्रतिबन्ध अहिले पनि कायमै रहेको बताउँछन्‌।तर, प्रतिबन्ध कायमै रहेपनि जिल्लाका बर्दघाट नगरपालिका, सुनवल नगरपालिका र रामग्राम नगरपालिका संगै अन्य पालिकाहरूमा हाटबजारहरू निर्बाध रुपमा संचालन भैरहेका छन्।

यता, हाटबजार व्यवसायीहरू भने पछिल्लोपटक बजार, पसल, उद्योग कलकारखाना, सार्वजनिक यातायात संचालन भैरहेकोले हाटबजार समेत  संचालन गर्न पाउनुपर्ने माग राख्दै आएका छन्। उनीहरूले सम्बन्धित स्थानीय तहहरूमा ज्ञापनपत्र समेत बुझाइसकेका छन्। अहिले स्थानीय तहहरूसँग अनुमति लिएर हाटबजार संचालन गरेको व्यवसायीले बताउने गरेपनि स्थानीय तहहरूले भने कुनै अनुमति नदिएको दावी गरेका छन्।

 बर्दघाट नगरपालिकामा पनि हाटबजार संचालन भैरहेका छन्। बर्दघाट नगरपालिकाका अधिकारीहरूसँग यसबारे जानकारी लिँदा हाटबजार संचालनका लागि कुनै अनुमति भने नदिएको पाइयो। नगर प्रमुख धीरज शर्मा बस्यालले हाटबजार संचालन गर्ने सम्बन्धमा कुनै निर्णय नभएको बताएका छन्‌‌। प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्यले नगरपालिकाले अहिलेसम्म हाटबजार संचालनका लागि अनुमति नदिएको जानकारी दिए।

हाटबजार व्यवसायीका जिल्ला कोषाध्यक्ष पुण्डरी न्यौपानेले भने समितिको निर्णय भएर हाटबजार खोलिएको नभई व्यापारीहरूले स्व:स्फुर्त रुपमा खोलेको बताए। लामो समयको बन्दाबन्दीका कारण छाक टार्न पनि मुस्किल परेपछि रोगभन्दा बढी भोकले सताएपछि बाध्य भएर हाटबजार संचालन गर्न थालेको न्यौपानेको भनाई छ। 'हामीले बजार खोल्न आग्रह गर्दै स्थानीय तहहरूमा निवेदन पनि दिएका थियौं, तर महिनौंसम्म पनि कुनै निर्णय नभएकोले संचालन गर्नुपर्ने अवस्थामा पुगेका हौं,' न्यौपानेले भने।

कोरोना महामारीको जोखिम झनै बढ्दै गएकोले तत्कालै हाट बजार संचालन गर्न सकिने अवस्था नरहेको, तर हाटबजार साप्ताहिक रुपमा नभएर दैनिक रुपमा फरक-फरक वस्तुको विक्रि गर्ने गरी संचालन गर्न सकिने विषयमा भने छलफल भएको प्रमुख जिल्ला अधिकारी पाठकको भनाई छ। पाठकले हाट बजार संचालन गर्ने/नगर्ने निर्णय स्थानीय तहमार्फत हुने भए पनि अहिलेसम्म कुनैपनि स्थानीयतहले हाटबजार संचालन गर्न दिने भनी निर्णय नगरेको बताउँछन्‌।

जिल्लाका विभिन्न स्थानहरूमा लाग्ने हाटबजारमा कोरोना महामारीबाट बच्नका लागि आवश्यक न्यूनतम मापदण्ड पनि अपनाएको पाइँदैन। एका/दुई उपभोक्ता र एका/दुई व्यवसायीले मास्क र सेनिटाइजर प्रयोग गर्ने गरेपनि अधिकांश उपभोक्ता र व्यवसायीले न त मास्क र सेनिटाइजर प्रयोग गर्छन्, नत एक अर्काबीच भौतिक दुरी कायम गर्ने गरेको पाइन्छ।

हाटबजार मात्र होइन, बजार क्षेत्रमा खुलेका पसल तथा व्यवसायीक प्रतिष्ठानहरूमा पनि कुनै सचेतता अपनाएको पाइँदैन। बजारमा हुने चहलपहल देख्दा लाग्छ  : कोरोनाले कुनै प्रभाव नै पारेको छैन।

पश्चिम नवलपरासीमा दिन-प्रतिदिन कोरोना संक्रमित हुनेको संख्या बढ्दै गएको छ भने कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या थपिइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.