|

तनहुँ : नेपाल आयल निगमले देशकै दोस्रो ठूलो पेट्रोलियम भण्डारण गृहको शिलान्यास गरिएको छ। 

बिहीबार भण्डारण गृहको निर्माणका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले विधिवत् रुपमा शिलान्यास गरेसँगै भण्डारण गृह निर्माणमा औपचारिकता पाएको छ। 

गण्डकी प्रदेशको कास्कीको पोखरा महानगरपालिका–२९ र ३० गगनगौडामा यसको डिपोको भण्डारण क्षमता विस्तार गरिएको हो। हरेक प्रदेशमा ९० दिनका लागि इन्धन भण्डारण क्षमताको डिपो निर्माण गर्ने निगमको घोषित नीतिअनुसार पहिलो परियोजनाको रुपमा गण्डकी प्रादेशिक डिपोको क्षमता अभिवृद्धि गरिएको छ। 

निगमले १९ वर्षपछि आफ्नै लगानीमा पहिलो कामको रुपमा यो योजनालाई अगाडि बढाएको नेपाल आयल निगम लिमिटेड केन्द्रीय कार्यालय काठमाडौंका प्रवक्ता इन्जिनियर विनीतमणि उपाध्यायले बताए। 

उपाध्यायका अनुसार २०५८ सालपछि निगमको पहिलो लगानीको योजना हो यो। ‘एसियाली विकास बैंकको सहयोगमा २०५८ सालमा बनेयता स्तरोन्नति हुन नसकेको यस डिपो अब भने अमलेखगञ्जपछिको नेपाकै दोस्रो ठूलो पेट्रोलियम भण्डारण गृह हो,’ उनले भने। 

‘कुल ७७ रोपनी क्षेत्रफलमा परियोजना अन्तर्गत हालको डिपो हातामा ५०/५० लाख लिटर क्षमताका दुई वटा ठूला डिजेल भण्डारण ट्यांक बन्नेछन्,’ उपाध्यायले भने, ‘७७ करोड रुपैयाँको लगानीमा यो भण्डारण गृह निर्माण हुनेछ।’

दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको उक्त परियोजनाको ठेक्का समानान्तर–रेलिगेयर–भारत ट्यांक जेभीले पाएको छ। एक नयाँ पहुँच सडक, दुई लाख लिटर क्षमताको पानी भण्डारण ट्यांक, डिपोको चमेना गृह, चालक तथा सुरक्षाकर्मी बस्नका लागि पनि नयाँ संरचना निर्माण गरिनेछ। 

इन्धन भण्डारण ट्यांक  र यसमा जडान हुने संरचनाहरु जर्मन प्रविधिमा आधारित पूर्ण अटोमेटिक हुनेछन्। प्रविधिको प्रयोगबाट नै डिजेल लोड तथा अनलोड सुविधा पूर्ण रुपमा स्वचालित र हाइटेक सुरक्षामा आधारित हुने निगमले जनाएको छ।

अग्‍नि सुरक्षाका लागि डिपोको भण्डारणमा विशेष प्रविधि र सावधानीको कार्य पनि परियोजनाकै हुने बताइएको छ। नयाँ भण्डारण गृहमा २० हजार लिटर क्षमताका ३२ देखि ४० ट्यांकरले दैनिक डिजेल अनलोड गर्न सक्ने दाबी निगमले गरेको छ।

ट्यांकर अनलोडका लागि प्रतिघण्टा १ सय २० किलोलिटर क्षमताका पाँच वटा पम्प जडानसहित चार वटा नयाँ ‘वे’ पनि सञ्चालन हुनेछन्। डिपोमा करिब दुई घण्टासम्म निरन्तर आगो नियन्त्रणका लागि लड्ने क्षमताको पूर्वाधार जडान गरिने उपाध्यायको भनाइ छ।

उनका अनुसार भण्डारण गृहको तापमान, इन्धन चुहावट, आगलागीलगायत दुर्घटना पहिचान गर्न विशेष प्रविधि डिपोमा जडान हुनेछ। ७० प्रतिशत पानी र ३० प्रतिशत फोमयुक्त अग्नि नियन्त्रण उपकरण त्यसका लागि प्रयोग हुनेछ। गण्डकी प्रदेशमा प्रतिवर्ष पेट्रोलियम पदार्थको खपत बढ्दो क्रममा भएकाले डिपोको विस्तार गरिएको उनले बताए।

गण्डकीमा कति पेट्रोलियम पदार्थ खपत हुन्छ?

प्रदेशमा हरेक दिन चार लाख ६७ हजार लिटर पेट्रोलियम पदार्थको खपत हुने गरेको निगमले जनाएको छ। एक दिनमा प्रदेशमा तीन लाख २५ हजार लिटर डिजेल र एक लाख ४२ हजार लिटर पेट्रोल बिक्री हुँदै आएको छ।

हाल डिपोमा २२ लाख ८० हजार लिटर डिजेल र तीन लाख ५० हजार लिटर पेट्रोलको भण्डारण क्षमता रहेको छ। पेट्रोलियम पदार्थ आपूर्तिमा अवरोध आएको खण्डमा प्रदेशमा डिजेलको माग ७ दिन र पेट्रोलको माग २ दिन मात्रै धान्न सक्नेछ।

बिहीबार भण्डारण गृहको शिलान्यास भएसँगै परियोजना सञ्चालनमा आएपछि प्रदेशमा डिजेलको भण्डारण ३० दिनलाई पुग्ने र दुई दिनका लागि मात्रै पुग्ने पेट्रोलको भण्डारण १२ दिनलाई पुग्नेछ। 

मन्त्री भट्टले जहाँ धेरै इन्धन खपत हुन्छ, त्यहाँ भण्डारण विस्तार गरिनुले संकटको हट्ने विश्वास व्यक्त गरे।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.