बैतडी : बैतडीको सिगास गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत निजी श्रोतका शिक्षकले गाउँपालिकालाई २४ घण्टे अल्टिमेटम दिएका छन्।
निजी श्रोत शिक्षक संघर्ष समितिले आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै आफूहरुले गएको चैतदेखि तलब नपाएकाले यथाशीघ्र तलब निकासा गर्न माग गरिएको निजी श्रोत शिक्षक संघर्ष समितिका अध्यक्ष लक्ष्मी शाह चन्दले जानकारी दिइन्।
२०७६ चैतदेखिको तलब निकासा हुनुपर्ने, सिगास स्वयंसेवक शिक्षक कार्यविधि २०७५ लागु हुनुपर्ने, दशैं भत्ता, पोसाक भत्तालगायत सुविधालाई आफूहरुलाई पनि उपलब्ध गराउनुपर्ने, श्रम ऐनअनुसार तलब भत्ताको व्यवस्था गर्नुपर्ने र शिक्षक सिकाइ अनुदान कोटामा कार्यरत शिक्षकको तलबभत्ता निकास गर्नुपर्ने आफूहरुको माग रहेको अध्यक्ष चन्दले बताइन्।
गाउँपालिकाले २४ घण्टाभित्र आफूहरुका मागका विषयमा सुनुवाइ नगरेमा आन्दोलनमा जाने निजी श्रोत शिक्षक संघर्ष समिति चेतावनीसमेत दिएको छ। पटक पटक तलबभत्ताका विषयमा गाउँपालिकाको ध्यानकर्षण गराउँदासमेत केही चासो नदिएको भन्दै शिक्षकहरु रुष्ट भएका छन्।
सिगास गाउँपालिकाका विभिन्न सामुदायिक विद्यालयहरुमा १ सय ९१ जना निजी श्रोतका शिक्षकहरु कार्यरत छन्। कोरोना भाइरस महामारीबीच पनि आफूहरुको तलब निकासा नहुँदा साह्रै समस्या भएको उनीहरुले बताएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।