'करोडौंको रेमडिसिभर स्टोरमा थन्कियो'

|

काठमाडौं : सरकारले कोरोनाविरुद्धको खोप आयात गर्न निजी कम्पनीलाई अनुमति दिएको छ। औषधि व्यवस्था विभागले खोपको एक्स फ्याक्ट्री मूल्य, ढुवानी, भण्डारण, सम्बन्धित मुलुकको कर, सेवा शुल्कसमेत विश्लेषण गरी मुनाफा बढीमा १० प्रतिशत कायम हुने गरी लागत विवरण पेश गर्ने गरी बताएको छ।

पहिलो चरणको कोभिडविरुद्धको खोप आयात गरेको करिब दुई महिना हुनै लाग्दा खोप आयात गर्न इच्छुक निजी कम्पनीलाई आयातको अनुमति दिएको हो। सरकारले कोभिसिल्ड खोप आयात गर्ने तयारी गरे पनि भारतीय कम्पनीसँग मूल्यमा सहमति हुन सकेको छैन। सरकारको तर्फबाट खोप आयात गर्न नसकिरहेको समयमा निजीलाई खोप आयात गर्नलाई बाटो खोलिदिएको हो।

खोप आयात गर्न कानुनी रुपमा बाटो खोलिदिए पनि सहजै खोप आयात गर्न नसकिने औषधि आयातकर्ताहरू बताउँछन्। राष्ट्रिय हितको लागि खोप ल्याउनु पर्ने भएकोले सरकारले व्यवसायीको लगानी सुनिश्चित गरिदिनुपर्ने उनीहरुको माग छ।

 

सरकारले ल्याएको नि:शुल्क खोप जनताले लगाउन नमानेको अवस्थामा निजीले खोप आयात गर्दा लगानी खेर जान सक्ने  नेपाल औषधि आयातकर्ता महासंघका महासचिव पवन आचार्य बताउँछन्। उनले भने, 'हामीले ल्याएको खोप सरकारले खरिद गर्नुपर्छ वा हाम्रो लगानीमा सरकारको ग्यारेण्टी गरिदिनुपर्छ। हामीले तोकेको मूल्यमा सरकारले खोप लगाउने वातावरण बनाइदिनुपर्छ।' निजी औषधि आयातकर्ताहरू सरकारलाई सहयोग गर्न तयार रहेको उनको भनाइ छ।

आचार्यका अनुसार यसभन्दा अगाडि निजीले ल्याएका करोडौँ मूल्य पर्ने रेमडिसिभर औषधि प्रयोगविहीन भएर स्टोरमा थन्किरहेको छ। करोडौंको  लगानी खेर गएको उनको दाबी छ। अहिलेको अवस्थामा मुनाफा कमाउने भन्दा पनि राज्यको लागि नागरिकको तर्फबाट गरिने कर्तव्यको रुपमा सम्झिने उनको भनाइ छ।

देशभर खोपको माग उच्च छ त्यसलाई व्यवस्थापन गर्न नसकेकाले सरकारले निजीलाई अनुमति दिएको हुन सक्ने उनको अनुमान छ। 'सहज हुँदा सरकारले आयात गर्ने अप्ठयारो पर्दा निजीलाई गुहारिरहेको छ,' महासचिव आचार्य भन्छन्,'  निजी खोप ल्याउन तयारी छ। ल्याइसकेपछि आइपर्ने चुनौतीको लागि सरकारले सहयोग गर्नुपर्छ।' अन्य कुरामा अन्तर्राष्ट्रिय मापदण्डको कुरा गर्ने नेपाल भित्रका निजी औषधि आयातकर्तालाई विभिन्न अवरोध गर्ने कुरामा मान्य नहुने उनले प्रस्ट पारे।

खोप निर्माण कम्पनीसँग खरिद गर्न सम्झौता भएपछि मात्र मूल्य निर्धारण गर्न सकिने उनले बताए। औषधि व्यवस्था विभागले खोप आयात गर्नलाई बल्ल बाटो खुला गरेकोले अब प्रक्रिया अगाडि बढने उनको भनाइ छ।

'खोप आयात गर्न सहज वातावरण बनायौ'

औषधि व्यवस्था विभागमा निजी कम्पनीले खोप आयात गर्नको लागि रुचि देखाएका छन्। हस्पिटेक कम्पनीले चीनमा निर्मित कोभ्याक्सको खोप आयात गर्नलाई आवेदन दिएको विभागका प्रवक्ता सन्तोष केसीले जानकारी दिए। रसियन कम्पनीको खोप आयात गर्नलाई रसियन राजदूतावासले पनि पहल गरिरहेको केसीको भनाइ छ।

प्रवक्ता केसीले भने,' व्यवसायीलाई खोप आयात गर्नलाई सहज वातावरण बनाइदिने विभागको काम हो। व्यवसायीको हितको लागि के गर्ने त्यस सम्बन्धी निर्णय मन्त्रालय र स्वास्थ्य सेवा विभागले गर्छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.