भन्छिन् : विदेशमा कतिखेर के हुन्छ कसैलाई केही थाहा नहुने रहेछ'

|

काठमाडौं नेपालमा साउन-भदौ कोरोना महामारीको कारण ज्यान गुमाउनेको संख्या बढिरहेको थियो। स्वदेशमा महामारीले मात्र नेपाली नागरिकको ज्यान गएको थिएन। वैदेशिक रोजगारमा गएका नेपाली कामदारको पनि मृत्यु भइरहेको थियो।

महामारी बढेसँगै वैदेशिक रोजगारको सिलसिलामा गएका धेरै नेपाली उद्धारपछि स्वदेश फर्किए। सरकारले धेरैको उद्धारको गर्‍यो। धेरैजसो स्वदेश आए पनि केही नेपालमा काम नपाइने डरले विदेशै बसे। 

यतिखेर धन कमाउने र परिवारलाई सुखसाथ पाल्ने लालसा बोकी गएका नेपाली अरबको 'रेगिस्तान'मा तातो हावा खाँदै पसिना बगाउँदै श्रम गरिरहेका छन्। केही भने झोला बोकी गएका रातो बाकसमा आउँछन् त कतिको भने मृत शरीरसमेत स्वदेश आउँदैन। वैदेशिक रोजगार बोर्डमा विभिन्न समस्या लिएर दैनिक सरदर ५० जना पुग्ने गरेका छन्। मृतक र घाइतेका आफन्त क्षतिपूर्ति दाबीका लागि जाने गरेका छन्।

रामेछापकी नगरपालिका वडा ९ की कल्पना कार्की बस्नेत बबरमहलस्थित वैदेशिक रोजगार बोर्डको कार्यालय परिसरमा मलिन अनुहार लगाएर बसिरहेकी थिइन्।श्रीमानको अनुहार देख्न नपाए पनि उनी सान्त्वना रकम देख्ने आशामा महिना-महिनामा दुईदेखि चार पटकसम्म त्यहाँ पुग्छिन्। 

कल्पनाका श्रीमान रमेशको साउनमा दुबईमा मृत्यु भयो। कोरोना महामारी कारण उनको शव नेपाल ल्याउन नसकेपछि उतै अन्त्येष्टि गरियो। 'बिरामी थिएनन् एक्कासि मृत्यु भएको खबर आयो, नेपालमा हुँदा केही रोग भएको थाहा थिएन,' उनले भनिन्,' विदेशमा कतिखेर के हुन्छ कसैलाई केही थाहा नहुने रहेछ।'

'अभिभावकविहीन भएको छु'

'साउन ३२ गते मृत्यु भएको रहेछ। ढिलो खबर आयो। यो वर्ष उनको परिवारमा दुःखको ग्रहण लागेको रहेछ। वैदेशिक रोजगारमा धन कमाउन गएका श्रीमान साउनमा बिते यता घरमा ससुराको कात्तिकमा मृत्यु भयो। म त अहिले अभिभावकविहीन जस्तै भएको छु,' उनले दुःख पोखिन्। 

रमेश विदेश गएपछि कल्पना छोरालाई पढाउने भनी भक्तपुर आइन्। लोकन्थलीमा बसेर घर नजिकैको बोर्डिङ स्कुलमा छोरा कक्षा ९ पढिरहेको छ। उनले मासिक रुपमा नियमित पैसा पठाउँथे। उनी श्रीमानको कमाइले छोराको स्कुलको 'फि' तिर्थिन्। 'अहिले श्रीमान् पनि छैनन्,' बोर्डको आगन्तुक कक्षमा बसिरहेकी कल्पनाले आँसु पुछ्दै भनिन्,' पैसा पनि छैन। बोर्डबाट राहत पाउने आशामा आएकी हुँ।'

विदेशमा अन्त्येष्टि गरिएको शवका आफन्तलाई बोर्डले राहतस्वरुप सान्त्वना रकम दिने उनले सुनेकी थिइन्। त्यसैले उनी बेलाबेला बोर्ड धाइरहन्छिन्। धेरै धाइन्। तर, पैसा पाउन सकेकी छैनन्। कहिले कागजपत्र त कहिले के-के मिलेन भनेर बोर्डले दुःख दिने गरेको उनी सुनाउँछिन्। राहत रकम पाए केही समय भए पनि घरखर्च चलाउने आशामा उनी छिन्।

विदेशमा अन्त्येष्टि भएका शवका आफन्तलाई बोर्डले सान्त्वनास्वरुप ५० हजार रुपैयाँ दिन्छ। मृत्यु भएकाका परिवारले बोर्डबाट कुनै सुविधा नपाए २५ हजार रुपैयाँ राहतस्वरुप उपलब्ध गराउँदै आएको छ।

रमेशको परिवारलाई नेपाल सरकारले क्षतिपूर्ति नदिए पनि कम्पनीले विदेशको नेपाली ४ लाख ४२ हजार रुपैयाँ दिएको थियो। कल्पनाले रामेछाप जिल्ला प्रशासन कार्यालयबाट क्षतिपूर्तिस्वरूप रकम पाएकी थिइन्। कम्पनीले दिएको राहतले केही महिना घर खर्च चलाए पनि अहिले सकिएको उनी बताउँछिन्। 

'छोरालाई दुःख गरेर भए पनि पढाउँछु'

बोर्डबाट उनले केही सुविधा पाइनन्। श्रीमान दुबईमा श्रम स्वीकृति नलिई बसेकाले बोर्डबाट सुविधा पाएकी छैनन्। बिमाको पनि समयावधि सकिएकोले बोर्डबाट पाउने सम्पूर्ण सुविधाबाट उनी वञ्चित भएकी छन्।

रमेश वैदेशिक रोजगारमा गएको करिब ८ वर्ष भएको थियो। कतारमा साढे ३ वर्ष बसी नेपाल आएका थिए उनी। कम्पनी राम्रो नपरेकोले स्वदेश फर्केका थिए। परिवारलाई सुख दिने आशामा २०७३ मा पुनः हरियो पासपोर्ट बोकी दुबई लागेका थिए रमेश। मिडिल इस्ट कम्पनीमा सेक्युरिटी गार्ड गर्थे। दुबई बसेको चार वर्ष हुँदै गर्दा उनको मृत्यु भएको हो। 

कल्पनाका श्रीमानले घर खर्च भनेर मासिक ४० देखि ५० हजार पठाइरहन्थे। रमेशले गरेको श्रमको मूल्यबाट परिवार सहजै चल्दै थियो। उनको आम्दानीको स्रोत पनि छैन, घरबार चलाउन र छोराको स्कुल फि तिर्नसमेत हम्मे-हम्मे परिरहेको छ।

दुःख पोख्ने ठाउँ र साथी नहुँदा कल्पनालाई गाह्रो भइरहेको छ। छोराको अनुहार हेरेर बसिरहेकी छन्। छोरालाई दुःख गरेर भए पनि पढाउने अठोट लिएकी छन्। काम गरेकी छैनन्, छोराको पढाइ र घरको काम गर्नुपर्दा काम बाहिर काम गर्न भ्याएकी छैनन्। सजिलो र भनेजस्तै काम पाए काम गर्ने सोचाइमा उनी छन्।

'श्रम स्वीकृति गरेका नेपाली कामदारले बोर्डबाट सुविधा पाउँछन्'

वैदेशिक रोजगार बोर्डको प्रवक्ता दीनबन्धु सुवेदीले विदेशमा मृत्यु भएका कामदारहरु वैधानिक रुपमा बसोबास गरिरहेका छन् भने मृतकका परिवारले क्षतिपूर्ति पाउने गरेको बताए। सम्बन्धित मुलुकमा जाँदा श्रम स्वीकृति लिएर गएको हुनुपर्ने उनले जानकारी दिए।

उनका अनुसार विदेशमा हालसम्म २ सय ७२ जनाको नेपाली कामदारको शव अन्त्येष्टि गरिएको छ। ७८ जनाको परिवारले क्षतिपूर्ति रकम पाइसकेका छन्।

'अवैधानिक रुपमा बसोबास गरेका र भिजिट भिसामा गएकाले क्षतिपूर्ति पाउँदैनन्,' सुवेदीले भने, 'पूर्ण रुपमा श्रम स्वीकृति लिएर गएका छन् भने सहजै बोर्डले क्षतिपूर्ति उपलब्ध गराउँछन्।'

विदेशमा मृत्यु भएर शवको अन्त्येष्टि उतै गरेकालाई बोर्डले सहयोग उपलब्ध गराउँदै छ। बोर्डले प्रतिशव ५० हजार रुपैयाँ दिने गरेको छ। मृतकको आफन्तलाई सहयोगस्वरुप २५ हजारसमेत दिने गरेको छ।

सान्त्वना रकम जसले बोर्डबाट सुविधा पाएका छैनन्, तिनीहरुलाई सान्त्वना रकम उपलब्ध गराउँदै आएको सुवेदीले जानकारी दिए। मृतकका सन्तानलाई कक्षा १२ सम्म बोर्डले निःशुल्क शिक्षा प्रदान गर्ने गरेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.