|

नेपाली समाजमा चलेको फेसनको दुनियाँमा राजनीतिक फेसन निकै प्रसिद्ध र जरो गाडेको खेल पनि हो। सिद्धान्तमा भन्दा फेसनका लागि लेख्ने, बोल्ने ,संगठन गर्ने र बेला बेलामा राष्ट्रिय ख्यातिप्राप्त व्यक्तिले केही नारा छोडिदिने प्रचलन यो फेसनमा पर्छ। 

फेसनको ख्याल गरेन भने राजनीतिक दोकान नचल्ने हुनाले पनि चाहेर नचाहेर बाध्यतावश पनि यस्तै गरिन्छ। बौद्धिक वर्ग पनि यही फेसनको वरपर कसरत गर्न पाए आफू पनि फेसनको दुनियाँमा कतै स्थान बनाउन सकिन्छ कि भनेर यसैमा रमाइरहेका हुन्छन्।

आफूलाई पक्षमा नपर्ने राम्रै भए पनि नाक खुम्च्याउने र आफ्नो पक्षको छ भने आकाश पाताल जोडेर प्रभुबाट आजै पो केही झरिहाल्छ कि जस्तो पार्ने फेसनेवलहरू काठमाडौमा धेरै छन्। 

संस्थापन पक्षप्रति जहिले पनि नकारात्मक बन्यो भनेमात्र सही भइन्छ,, शहीद भइन्छ र वाहवाहीका साथै आफ्नो दोकान पनि चल्छ भन्ने अवधारणा नै नेपाली राजनीति र बौद्धिक क्षेत्रको फेसनको मूल हो। 

यतिबेला नेपालमा चलेको राजनितिक फेसन बनेको छ समाजवाद। नेपाली राजनीतिको जतिबेला मियो बनेको बाम गठबन्धनले आफ्नो अर्थराजनीति समाजवाद उन्मुख हुने भन्ने घोषणा गर्‍यो त्यसपछि नै यो फेसनको राप चढेको छ। 

कम्युनिष्टले ल्याएको यो नारा हो तसर्थ यसको कुनै न कुनै रूपमा विरोध गर्नुपर्छ भन्ने फेसनवश होस् वा आफ्नो पक्षको पार्टीले दिएको नारा हो भनेर होस् समाजवादबारे विचार गोष्ठी, अन्तरक्रिया वा लेखहरूमा केही न केही चर्चा परिचर्चा हुने गरेका थिए। 

हुँदाहुँदा पुँजीवादलाई गालीगर्ने र समाजवादलाई एक अमूर्त विषय बनाउने काम पनि समाजवादकै पक्षपोषकहरूबाट हुन पुगेका छन्। यहाँसम्म कि नेपालको मौलिक समाजवाद भनेको एउटा दुहुनु गाई एक हल गोरु प्रत्येक किसानको घरमा पुर्‍याउनुपर्छ भन्ने बिपीको सिद्धान्त हो भन्ने पनि नाम कहलाएका नेता र बुद्धिजीवी भन्न छोडेका छैनन्। 

फेसनका कुरा नगर्ने हो भने समाजवाद भनेको समाज विकासको एउटा चरणमा अनिवार्य रूपमा अपनाउनुपर्ने  राजनितिक , आर्थिक र सामाजिक प्रणाली हो। मूलतः यो राजनीतिक पद्धति हो। नेपालमा मात्र होइन विश्वमा नै सयौं वर्ष अघिदेखि समाजवादका थरीथरी व्याख्या गरिँदै आएका छन्। 

संस्थापन पक्षप्रति जहिले पनि नकारात्मक बन्यो भनेमात्र सही भइन्छ,, शहीद भइन्छ र वाहवाहीका साथै आफ्नो दोकान पनि चल्छ भन्ने अवधारणा नै नेपाली राजनीति र बौद्धिक क्षेत्रको फेसनको मूल हो। 

वास्तवमा मार्क्सले प्रतिपादन गरेको समाजवाद नै आजको दुनियाँको आधिकारिक र वैज्ञानिक समाजवाद हो। मार्क्सले प्रतिपादन गरेको समाजवादका भाष्य र टीका टिप्पणी पनि सयकडौं प्रकारका भइसकेका छन्। त्यसलाई अपभ्रंश गरेर सामाजिक प्राणीका समाजमुखी क्रियाकलाप नै समाजवाद हो भन्नेसम्म तल ओर्लेर समाजवादको व्याख्या पनि गरिएको छ। 

समाजवादको सरल परिभाषामा सम्पूर्ण उत्पादनका साधन सरकारको अधीनमा राखेर नागरिकलाई योग्यता अनुसारको काम,काम अनुसारको दाम अर्थात् उपभोग सुविधा दिने प्रणाली हो भन्ने कुरा नै मार्क्सवादीले मान्दै आएका छन्। 

समाजवादी प्रणाली किन रु भन्ने कुराको ठोस आधारभूत कारण पनि  मार्क्सवादले दिएको छ। मार्क्सको युगमा पुँजीवादले विगत सामन्तवादी आर्थिक प्रणालीको तुलनामा आर्थिक र प्राविधिक विकास यति तीव्र रूपमा गर्‍यो कि त्यसले एकातिर मुठ्ठीभर पुँजीपतिहरूले सम्पूर्ण उत्पादनका साधन पुँजी, श्रम, जमिन, कच्चापदार्थ , कारखाना सबै आफ्नो कब्जामा पारे।

अर्कातिर लाखौं मानिस उत्पादनका साधन विहीन बनेर तिनै पुँजीपतिका लागि सस्तोमा श्रम बेचेर जीवन धान्न विवश भए। उनीहरूको आफ्नो मौलिक सीप बिर्सन बाध्य भए। उनीहरू नाङ्गा सर्वहारा भए। लाखौं यस्ता सर्वहाराको जीवन अमानवीय अवस्थामा गुज्रन थाल्यो। 

पुँजीपतिले नाफाका लागि कमाउने प्रतिस्पर्धामा उत्पादनका साधन र उत्पादित वस्तु प्रयोगमा ल्याउने वा नष्ट गर्ने गरेपछि मानिसको आवश्यकता अनुरुपको उत्पादन प्रणाली नहुदा हजारौं लाखौ मानिस युरोपका गल्लीमा भोकै पनि मरे।

केही सय पुँजीपतिले लाखौ मानिसको जीवनमा खेलबाड गर्दा पनि त्यहाँका सरकारले जनताका लागि केही गरेनन् किनभने ती पुँजीपतिकै पक्षधरहरुले बनाएका सरकार थिए। यस स्थितिमा मार्क्सले समाज विकासको क्रममा पूँजीवादले जुन अद्भूत विकास गरेको छ त्यसको उपयोग केवल पुँजीपतिहरूको नाफाको लागि मात्र हुन थाल्यो।

बहुसंख्यक मानिस एकातिर कङ्गाल सर्वहारा बन्ने र अर्कातिर मुठ्ठीभर पुँजीपति धनाढ्य ,सम्पन्न हुने स्थितिको अन्त्य गरेर फेरि समाजलाई अझ उन्नत र विकसित तुल्याउन सम्पूर्ण उत्पादनका साधन सरकारको मातहतमा राखेर सबैलाई योग्यता क्षमताअनुसारको काम दिने व्यवस्था नै उत्तम विकल्प हो भन्ने सिद्धान्त प्रतिपादन गरे।

मार्क्सले समाजवादको परिकल्पना परोपकारको दृष्टिले होइन कि पुँजी लगानी गरेर नाफा लिन पुँजीवादीले जुन अत्यधिक आधुनिक उत्पादन पद्धतिको प्रयोगबाट प्रतिस्पर्धामा जित्न र नाफा लिन थाल्छन्। त्यसका कारण उत्पन्न अस्वस्थ प्रतिस्पर्धाले पुँजीवादी पद्धति नै अगाडि चल्नै नसक्ने स्थिति आउँछ। त्यसको एक मात्र समाधान समाजवाद मात्र हुन्छ भनेर समाज विकासको अवरुद्ध बाटो खोल्ने उपाय पनि दिएका हुन्।

उनले कुनै पुँजीपतिको रिसले, कसैको शक्ति खोस्न यस्तो सिद्धान्त प्रतिपादन गरेका पनि होइनन्। तर  स्वाभाविक थियो मार्क्सको यो सिद्धान्तप्रति पुँजीपतिहरू असहमत मात्र होइन आक्रोशित पनि बने। तिनले त्यसै बेलादेखि यो सिद्धान्त र यसका प्रतिपादकहरूलाई जरैदेखि निर्मूल पार्ने प्रयास पनि सुरु गरे। निर्मुल पार्न नसके पछि यसमा भ्रम छर्ने र जनतालाई दिग्भ्रमित बनाएर सही विचारलाई कमजोर पार्ने प्रयास पनि सुरु गरे। 

यता मार्क्स र उनका उत्तराधिकारीहरूले पनि यसका लागि सङ्गठित प्रयासबाट सरकार हत्याए पछिमात्र समाजवाद लागू गर्न सकिने रहेछ भन्ने अनुभवका आधारमा सर्वहारा अधिनायकत्वको सिद्धान्त प्रस्तुत गरेका हुन्। 

त्यस पछि मार्क्सको भविष्यवाणी जसरी नै पुँजीवाद सङ्कटमा फस्यो। विश्व युद्ध भयो। अनि पुँजीवादी देशहरू आफ्नो देशको थैली बोकेर कतै परोपकारी भेषमा देखिए। कतै सहकार्यको नाममा पुँजीको विकास नभएका सामन्ती उत्पीडन भएका बर्बर शासकहरु भएका देशमा लगानी गरेर त्यहाँको नाफाले आफ्नो देशमा मध्यम वर्गको विकास गराउन थाले।

पहिलेको एकातिर करोडपति मुठ्ठीभर पुँजीपति र अर्कातिर लाखौं सर्वहारा भएको विषमताको अवस्थालाई रोकेर आफ्नो किल्ला सुरक्षित राख्ने रणनीतिमा उनीहरू लागे। फलस्वरुप अहिले हुँदा हुँदा त्यस्ता पछौटे देशमा पनि पुँजी र प्रविधिको विकास हुँदै गएको छ।

पुँजीवादी देश ती देशलाई साधनको रूपमा प्रयोग गरेर सङ्कट टार्दै बसेका छन्। अहिले युरोपमा पुँजीवादको पहिलोपटक देखापरेको प्रकारको संकट त टरेको छ वित्तीय पूँजीवादका जटिल खालका समस्या देखा पर्ने गरेका छन्। उदारवादी विश्वव्यापीकरणको रणनीति अँगालेपछि पनि पुँजीवादी विश्वमा सन् १९९८,२००८ र अहिलेसम्म पनि युरोपमा वित्तीय पुँजीको सङ्कटले लाखौं बेरोजगार बने।

साना ठूला पुँजीपतिहरू कंगाल बने। फेरि पनि पुँजीवादीहरू समस्या परे गरीब देशलाई परोस् आफूलाई नछोओस् भन्ने भावनाले काम गरेमा आफ्नो सङ्कट टर्ने विश्वासमा छन्। तर यसबाट पछि परेको समाज र देशमा देखिने संकटले तिनलाई  पनि क्रमशः सङ्कटतिर धकेलि रहेकोछ। पुँजीवादको यही सङ्कट समाधानका लागि  नै यहाँ पनि समाजवादका चर्चा हुने गरेका छन्।

त्यस्तै चर्चामध्ये हाम्रो देशमा अहिले समाजवाद चर्चाको विषय मात्र होइन फेसनको विषय पनि बन्दै गएको छ। तर युरोपमा जतिबेला पुँजीवाद विकसित भएर सङ्कटमा फस्दै समाजवादबिना समाज नै अगाडि बढ्न नसक्ने स्थिति थियो। त्यो स्थिति अविकसित देशहरू जसमा नेपाल पनि पर्छ, अझै आएको छैन। यहाँ जुन दुःख हामी भोगिरहेछौँ त्यो हामी कहाँ पुँजी र प्रविधिको विकासबाट अधिक उत्पादन र अतिरिक्त श्रमको अधिक शोषण विरोध भन्दा पनि हाम्रो परम्परागत सामन्तवाद र त्यसले विश्वको पुँजीवादी मुखियाको दलाली गरेका कारण भएको हो।

हामीकहाँ अहिले समाजवादलाई अपव्याख्या गर्ने, फेसनको रूपमा चर्चा गर्ने जुन परिपाटी बसेको छ त्यो चाहिँ पश्चिमा पूँजीवादबाट प्रभावित बौद्धिक वर्गले वैज्ञानिक समाजवादलाई दिग्भ्रमित पार्न प्रायोजित अभियानकै अंग हो।

उनीहरू सामन्तवादी देशका बुर्जुवा बुद्धिजीवी र यहाँसम्म कि धर्म गुरुलाई पनि धन खर्च गरी गरी पुँजीवादलाई गाली गर्न लगाउँछन् र समाजवादको आफ्नै मौलिक मोडलको विकास गर्नुपर्छ भन्छन्।

पुँजीवादको विकास गर्‍यो भने अशान्ति बढ्छ, परम्पराको रक्षा गर्नुपर्छ। ठूला मेसिन भएका आधुनिक कारखाना खोल्न हुँदैन। ठूला एयरपोर्ट र ठूला बिल्डिङ बनाउन हुँदैन। भरसक पैदलै हिँड्नुपर्छ। खेतीमा यान्त्रिकरण गर्न हुँदैन आदि पनि भन्दछन्।

हामीकहाँ अहिले समाजवादलाई अपव्याख्या गर्ने, फेसनको रूपमा चर्चा गर्ने जुन परिपाटी बसेको छ त्योचाहिँ पश्चिमा पुँजीवादबाट प्रभावित बौद्धिक वर्गले वैज्ञानिक समाजवादलाई दिग्भ्रमित पार्न प्रायोजित अभियानकै अंग हो।

​आफूहरू चाहिँ मनग्य भौतिक विकास गरेर आफ्ना सम्पदाले नपुगेर गरीब देशको सम्पदासमेत चोर्दै लगेर सभ्य बनेर बस्ने अनि अरुलाई विकासले विनाश निम्त्याउँछ भन्ने पुँजीवादीहरूले यसरी हाम्रो दयाले, हाम्रो गौरवको रक्षाका लागि भनेका होइनन् बरु आत्मरक्षाका लागि भनेका हुन्।

वास्तवमा पुँजीवाद सामन्तवादभन्दा धेरै प्रगतिशील र आधुनिक विकासको ढोका खोल्ने व्यवस्था हो। यसको निन्दा होइन प्रशंसा गर्नुपर्दछ। हामीले पनि पूँजीवादकै विकास गर्नुपर्दछ। हरेक वाद वा प्रणालीका आआफ्ना विशेषता र चरण हुन्छन्।

त्यहाँ पुगेपछि सरकार र समाजले, राजनीतिले नयाँ पद्धतिको प्रयोग गर्न सक्नुपर्छ। पुँजीवादको विकासको चरण पार गरेपछि मात्र वैज्ञानिक समाजवाद लागू गर्न सकिन्छ, यो कसैको लहडले आउने व्यवस्था होइन। 

समाजवादको लागि पुँजीवादको विकास अनिवार्य छ। अहिले त हामी वित्तीय पुँजीवादको साम्राज्यवादी दमनले गर्दा राष्ट्रिय पुँजीको विकास गर्न सकिरहेका छैनौ।

हामी त साम्राज्यवादीहरूले संरक्षण गरेको सामन्तवादको अवशेष र वित्तीय साम्राज्यवादी दलालका कारण राष्ट्रिय पुँजीवादको विकास समेत हुन नसकेको अवस्थामै छौं भने कसरी समाजवादमा फड्को मार्न सक्छौ र ?

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.