|
Photo : Sandra Hoyn

यो बास्तविकता हो- बंगलादेशको वेश्यालयको। त्यहाँका महिलाले भोग्ने पीडा, उनीहरुको भोगाई, सपना र अनिश्चित भविष्यको बास्तविकताले तपाईँलाई पनि दुखी बनाउन सक्छ, हैरान बनाउन सक्छ। तलको फोटोमा देखिएका टिनैटिनका छाना कांडपारा वेश्यालयका हुन्।  

वेश्यावृत्तीलाई कानुनी मान्यता दिने विश्वका थोरैमात्र मुस्लिम देशहरुमा बंगलादेश पनि एक हो। 'कांडपारा वेश्यालय' बंगलादेशको सबैभन्दा पुरानो र दोस्रो ठूलो वेश्यालय हो। ताङ्गिल जिल्लामा रहेको यो वेश्यालय दुई सय वर्ष पुरानो हो।

कांडपारा वेश्यालय सन् २०१४ मा बन्द गरिएको थियो। वेश्यालय बन्द भएपछि त्यहाँ रहेका महिलाको भविष्य अनिश्चत भयो। उनीहरुलाई कहाँ गएर के गर्ने भन्ने अन्योलता थियो। त्यसपछि स्थानीय गैह्र सरकारी संस्थाहरुको सहयोगमा कांडपारा वेश्यालय पुनः सञ्चालन गरिएको छ।

जर्मन पत्रकार सान्ड्रा होन ठूला पर्खालले घेरिएको कांडपारा वेश्यालय पुगेकी थिइन्, सन् २०१६ मा। सान्ड्राले नेक्स्टशार्कलाई उक्त वेश्यालयका फोटा इमेल गरिन्। जसमा उनले वेश्यालयमा रिपोर्टिङ गर्दाका अनुभव पनि राखेकी छन्।

'वेश्यालय आफैमा एउटा सानो संसार हो, यो सहरभित्र अर्को सहर बनेको छ', होनले वेश्यालयको जीवनबारे शार्कलाई भनेकी छन्, 'सानो गल्लीमा खाना पकाउने स्टल छन्, चिया बेच्ने र सडक किनारका व्यापारी छन्। म हरेक दिन बिहानदेखि बेलुकीसम्म वेश्यालयमा बिताउँथे। त्यतिबेला मैले कहाँ छु भन्ने बिर्सिसकेकी थिएँ। कहिले कहिले त यो आफ्नै नियममा चल्ने अर्कै सहरको दैनिकी हो जस्तै लाग्थ्यो।'

बंगलादेशमा यौन व्यवसायीलाई सामान्य नागरिक भन्दा नीच व्यवहार गरिन्छ। अधिकांश गरिब परिवारबाट आउने केटीहरुको कुनै मानव अधिकार छैन। उनीहरु तस्करका सिकार हुन्छन्। उनीहरु एक महिलाको रोहबरमा काम गर्छन्। उनीहरुलाई बाहिर जान दिइँदैन। उनीहरुलाई किन्ने बेला खर्च भएको पैसा फिर्ता गरेमात्र उनीहरुलाई बाहिर जाने अनुमति मिल्छ। नत्र वेश्यावृति गरेर आफूलाई किनेको पैसा चुक्ता गर्नुको विकल्प उनीहरुसँग हुँदैन।

ग्राहकका साथ २३ वर्षीया मेघला। उनले १२ वर्षको उमेरमा गार्मेन्टमा काम सुरु गरेकी थिइन्। उनलाई एक पुरुषले राम्रो पैसा पाइने जागिरको लोभ देखाएर गार्मेन्टबाट बाहिर ल्याएका थिए। पछि वेश्यालयमा लगेर बेचिदिए।

'बंगलादेशमा कानुनीरुपमा यौन व्यवसायी बन्न १८ वर्षको हुनैपर्छ तर धेरैजसो १८ वर्षमुनीका छन्' होनले भनेकी छन्, 'उनीहरुमध्ये केही केहीले जवान देखिनका लागि 'ओराडेक्सोन स्टेराइड' नामको औषधी प्रयोग गर्छन्, जुन किसानहरु उत्पादन ताजा देखाउन प्रयोग गर्ने गर्छन्। १२ देखि १४ वर्षकी किशोरी यौनकर्ममा प्रवेश गर्नु सबैभन्दा कठीन क्षण हो।'

ग्राहकका साथ १४ वर्षीया अश्मा। उनको जन्म कांडपारा वेश्यालयमै भयो। 

अश्माले स्कुल जान छोडिसकेकी छिन्। स्कुल जान छोड्नुको कारण हो- तिम्री आमा वेश्यालयमा काम गर्छिन् भनेर सँगै पढ्ने विद्यार्थीहरुको हेँला। अश्मा १४ वर्षको उमेरमा यौनकर्मीको रुपमा काम गर्न थालेकी थिइन्। त्यस पहिला उनी ग्राहकलाई नृत्य गरेर मनोरञ्जन दिने गर्थिन्।

यौनकर्मी महिलाहरु एक चोटी ऋणमुक्त भइसकेपछि स्वतन्त्र हुन्छन्। उनीहरु त्यो पेशा छोड्न पनि सक्छन्। तर त्यो समाजले उनीहरुलाई सहज रुपमा स्वीकार गर्ने सम्भावना हुँदैन। समाजले उनीहरुमाथि वेश्याको ट्याग लगाइएको हुन्छ। त्यतिबेला उनीहरु फेरि त्यही वेश्यालयमा काम गर्न पुग्छन्। ऋणमुक्त भइसकेपछि उनीहरुलाई ग्राहकलाई रोज्ने र अश्वीकार गर्ने अनुमति हुन्छ।

'एक महिलाले आफ्नो ऋण तिरेकी छन्। उनी वेश्यालय छोड्न स्वतन्त्र भएकी छिन्', होनले भनेकी छन्, 'तर यौन व्यवसायमा लागेकी महिलाहरुलाई घरबाहिर सामाजिक रुपमा कलंकित गरिएको हुन्छ। जसका कारण ती महिलाहरु वेश्यालयमा नै काम गर्न बाध्य हुन्छन्।'

एक ग्राहक १९ वर्षीया प्रियालाई म्वाइँ खान खोजिरहेका छन्। प्रिया, जो १७ वर्षको उमेरमा कांडपारा वेश्यालय पुगेकी हुन्। 

होनले कांडपारा वेश्यालय पुग्दा सुरुमा दोभाषेलाई लिएर स्थानीयबासीसँग कुरा गरेको बताएकी छन्। उनले सुरुको १ हप्ता फोटो नखिचेको बताइन्। त्यसपछि भने उनी यौनकर्मी र ग्राहकको अनुमतिमा फोटो पनि लिन र यौनकर्मीका कुरा सुन्न थालिन्।

काजल ६ महिने बच्चासँग। साथमा पल्टिरहेका ग्राहक। काजललाई आफ्नो उमेर थाहा छैन, उनलाई लाग्छ उनको उमेर १७ वर्ष भयो। काजलले ९ वर्षको उमेरमा विवाह गरेकी थिइन्। जन्मेको २ हप्तामा नै उनकी काकीले काजललाई कांडपारा वेश्यालयमा बेचेकी थिइन्।

काजललाई बच्चा जन्माएपछि पनि ग्राहकसँग यौन सम्पर्क गर्नुपरेको छ। बच्चा भएको कारण उनको व्यवसाय त्यति राम्रोसँग चलिरहेको छैन।

'सुरुमा महिला र ग्राहकसम्म पहुँच पुर्‍याउन मुस्किल परेको थियो। केही ग्राहक फोटो खिचाउन मानिरहेका थिएनन्, खासगरी धनी मान्छेहरु', होनले आफ्नो अनुभव भनेकी छन्, 'तर अरु ग्राहकले त्यसको पर्वाह गरेनन्। केहीले मलाई भने 'दिमागलाई आनन्द दिन चाहान्छौँ र यो कुनै गल्ती हैन भने किन लुकाउनु?'

वेश्यालयको कोठमा ग्राहकसँग १५ वर्षीया पिंकी। उनी १४ वर्षको उमेरमा वेश्यालयमा आएकी हुन्। १२ वर्षको उमेरमा विवाह गरेकी पिंकी घरबाट भागेकी थिइन्। उनलाई एक पुरुषले सडकबाट उठाएर वेश्यालयमा बेचेका थिए।

'केही केटीहरुले अनुहार छोपेका थिए र आफ्ना कुरा भन्न रुचाएनन्। अरुले भने खुलस्त रुपमा आफ्ना जीवनका कुरा राखे।'

मूल्य कति पर्छ भन्ने केटीको उमेर र सुन्दरताका आधारमा निर्धारण गरिन्छ। साथै उनीहरु बस्ने कोठा कति सफा छ भन्नेमा मूल्य तोकिन्छ। कांडपारा वेश्यालयका यौनकर्मी दैनिक १ हजार देखि २ हजार टाका (११ देखि २२ अमेरिकन डलर) कमाइ गर्छन्। उनीहरु प्रत्येक ग्राहकबाट सरदर ३ सय टाका (३ डलर) लिन्छन्।

१७ वर्षीया सुमायाका नियमित ग्राहक एवं 'प्रेमी' २३ वर्षीय टिटुसँग। टिटु ढाकामा बस्छन् र हरेक महिना सुमायालाई भेट्न कांडपारा वेश्यालय पुग्छन् र १ हप्ता बिताउँछन्।

'प्रेमी' टिटुले अनुहार सुन्निनेगरी पिटेपछिकी सुमाया। उनीहरु सधैँजसो झगडा गरिरहन्छन्। कारण, टिटु सुमायासँग विवाह गर्न चाहन्छन् तर सुमाया मान्दिनन्। सुमायालाई टिटुले विवाह गरेपछि सबै पैसा लगेर भाग्नेछन् भन्ने शंका छ। झगडाको अर्को कारण हो, सुमायाले अरुसँग यौनसम्पर्क गरेको टिटुलाई मन पर्दैन।त्यस्तै सुमाया पनि टिटुले वेश्यालयमा अरुसँग यौनसम्पर्क गरेको देख्न सक्दिनन्। 

होन भन्छिन्, 'अधिकांश यौनकर्मीहरुको दुःखको कथा छ। तर उनीहरु बाहिरी रुपमा बलिया देखिन्छन्। त्यस्तो अवस्थामा पनि हार नमानेर जीवन निर्वाह गर्ने उनीहरुको साहसलाई प्रसंसा गर्छु। उनीहरु मात्र जीवित र पीडित मात्रै होइनन्, उनीहरु संघर्ष गरिरहेका छन् र आफ्नै किसिमले मोजमस्ती गरिरहेका छन्।'  

वेश्यालयमा हातमा कन्डम समातेर हाँस्दै गरेकी २७ वर्षीया बोन्ना। उनी ७ वर्षकी हुँदा सौतेनी बाबुबाट बलात्कृत भइन्। उनी १० वर्षको उमेरमा घरबाट भागेकी थिइन्। उनलाई सडकबाट उठाएर १ पुरुषले वेश्यालयमा लगेर बेचेका थिए। उनका दुई नियमित ग्राहक छन्। उनी हरेक दिन सरदर १५ सय टाका (१९ अमेरिकन डलर) कमाउँछिन्।

होनका अनुसार 'महिलाहरु खाली समयमा भेला भएर नाच्छन्। उनीहरु ग्राहकको खिल्ली उडाउँदै, एकअर्कालाई जिस्क्याउँदै हाँसो ठट्टा गर्छन्। दुःख बिर्सेर पनि केटीहरु जिवन्त र खुसी देखिन्छन्। अझै पनि उनीहरुका सुन्दर सपना छन्।'

वेश्यालयमा २ ग्राहकसँग १८ वर्षीया पपिया। उनी सानै छँदा बुबाआमाको मृत्यु भएको थियो। उनले वृद्धसँग विवाह गर्नुपरेको थियो। उनका पति र उनी लागुपदार्थ हेरोइनको व्यापार गर्थे। सोही अपराधमा प्रहरीले उनीहरुलाई जेल हाल्यो। पपिया भन्छिन्- जेलमा उनका पति पिट्दैनथे, त्यसकारण जेल उनका लागि सुरक्षित ठाउँ थियो। जेलमै संगत भएकी एक महिलाले उनलाई वेश्यालय पुर्‍याइन्।

होन भन्छिन्, 'अधिकांश महिला वेश्यालयमा धेरै पैसा कमाउने सपना देख्छन्। उनीहरु बुढी भएपछि पुरुषमा भर पर्नु नपरोस् भन्ने चाहन्छन्। उनीहरु आफ्ना सन्तानलाई राम्रो स्कुलमा पढाउन चाहन्छन्, जसका लागि धेरै पैसा कमाउनमा लाग्छन्। उनीहरु बच्चाहरुको भविष्य आफ्नै जस्तो नहोस्, भविष्यमा राम्रो काम गरुन् भन्ने चाहन्छन्।'

१९ वर्षीया प्रिया। साथीलाई जिस्क्याएर पिटेजस्तो गर्दै।

होन भन्छिन्, 'धेरैजसो महिलाका 'प्रेमी' छन्। साथै नियमित ग्राहक छन्। मलाई एक यस्ती महिलाबारे थाहा छ जसले सबैभन्दा बफादार ग्राहकको विवाह प्रस्ताव अस्वीकार गरेकी थिइन्। उनलाई लाग्दैनथ्यो कि उसले विवाह गरेपछि आफूलाई पैसा राख्ने अनुमति दिनेछ। उनी आफूलाई यौनकर्मीका रुपमा स्वतन्त्र बाँच्ने चाहना राख्थिन्।'

कांडपारा वेश्यालय बाहिर फालिएका कण्डम। 

'मैले वेश्यालयमा एक महिलालाई भेटे। त्यहाँ आउनुअघि उनी गार्मेन्टमा काम गर्थिन्। गार्मेन्टमा उनले एक महिलालाई भेटेकी थिइन, जसले आकर्षक जागिरको लोभ देखाइन्। त्यसपछि उनले आफ्नै इच्छामा वेश्यालयमा काम गर्न सुरु गरिन्। उनी वेश्यालय नछोड्ने बताउँछिन्। किनकि वेश्यालय पैसा कमाउनका लागि राम्रो ठाउँ भएको उनको बुझाई छ।'

रुँदै गरेकी २६ वर्षीया दीपा। उनी वेश्यालयमा ग्राहकबाट गर्भवती भएको दुई महिना भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.