|

नवलपरासी : एउटा सानो झुप्रो घर छ। त्यही घरअगाडि छाप्रो छ। त्यही छाप्रो ‘भगवान’ बनाउने उद्योग हो। जहाँ २४ वर्षीय लक्ष्मण सहानी बिहान उठेदेखि साँझसम्म भगवान बनाउनमै ब्यस्त हुन्छन्।

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–७ गुठी प्रसौनीका लक्ष्मणले भगवानका मूर्ति बनाउन थालेको १२ वर्ष भयो। यस अवधिमा उनले भगवानका हजारौं मूर्ति बनाइसके। उनले बनाएका मूर्ति ठूला–ठूला घरका अगाडि, मन्दिरअगाडि सजिएका छन्। ती मूर्तिलाई साक्षी राखी हजारौंले आफ्नो मनोकांक्ष पूरा होस् भनी भाकल पनि गरे होलान्।

हामी दुःख या सुख‚ दुवै क्षण भगवानलाई सम्झन्छौं। श्रद्धाले पूजाअर्चना गर्छौं। हामीले आस्था राख्ने तिनै भगवान बनाउनेहरू भने कति खुसी होलान्? उनीहरुको जीवन कस्तो होला?

करिब १० वर्ष अरुकहाँ मूर्ति बनाएका लक्ष्मण त्यो समय आफूले कति पनि पैसा नकमाएको बताउँछन्। पछिल्ला दुई वर्ष यता उनले आफ्नै कारखाना खोलेका हुन्। त्यसपछि अलिअलि कमाउन सुरु गरेको उनको भनाइ छ। त्यही आम्दानीले ६ जनाको परिवार पाल्दै आएको उनले बताए।

यतिका अवधि भगवानको मूर्ति बनाइसकेका लक्ष्मणको मनमा कहिले काहीं अनेकौं कुरा खेल्दो रहेछ। ‘मैले बनाएका मूर्ति पुज्नेहरु कति खुसी र सुखी छन्‚’ उनले सुनाए‚ ‘म भगवान बनाउँछु तर मेरो अवस्था फेरिएन।’ हरेक वर्ष झण्डै आधा समय मूर्ति बनाउनमै व्यस्त हुने लक्ष्मण त्यसबाट राम्रो आम्दानी नभएपछि अहिले केरा खेतीतर्फ लागेका छन्।

हिन्दू धर्मावलम्बीको महान् चाड विजयादशमी र दीपावली नजिकिँदै गएकाले यतिबेला लक्ष्मणलाई दुर्गा माता र लक्ष्मी माताका मूर्ति बनाउन भ्याइनभ्याइ छ। दशै र तिहारका लागि मूर्ति तयार गर्न बैशाखदेखि नै काम सुरु गर्नुपर्ने उनले सुनाए। किनकि‚ मूर्ति तयार गर्न झण्डै ५ महिना लाग्ने लक्ष्मणले बताए। उनले आफ्नो कारखानमा चारजनालाई रोजगारी दिएका छन्। एक सिजनमा दुईदेखि ३ लाख रुपैयाँ खर्च गरेर बनाएका मूर्ति बिक्री भए खर्च कटाएर उनले ५० हजार रुपैयाँ जति बचाउँदा रहेछन्।

पछिल्ला वर्षहरुमा कोरोना महामारीका कारण दुर्गा र लक्ष्मीका मूर्ति स्थापना गरी सामूहिक पूजाआजा गर्न प्रशासनले रोक लगाएकाले पनि सबै मूर्ति बिक्री नहुँदा सोचेजस्तो आम्दानी गर्न नसकेको उनको दुखेसो छ। मूर्ति बनाउन आवश्यक सामान भारतको गोरखपुर गएर ल्याउनुपर्ने र माटो भने सुस्ता गाउँपालिका–१ रुपौलियाबाट ल्याउने गरेका उनले सुनाए।

दशैं र तिहार लक्षित गरेर दुर्गा र लक्ष्मीका मूर्ति बनाउने लक्ष्मण एक्ला होइनन्। पश्चिम नवलपरासीमा मूर्ति बनाएरै गुजरा चलाउनेहरु धेरै नै छन्। तर‚ मिहनेतअनुसारको मूर्तिको मूल्य नपाएको उनीहरुको गुनासो छ। आफूहरुले जसोतसो मूर्ति बनाउने काम गरे पनि अहिले जस्तो अवस्था रहे नयाँ पुस्ता भने पेशातर्फ आकर्षित नहुने हो कि भन्नेमा उनीहरु बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.