|

पाेखरा : पाेखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्डफिल साइटको अझै व्यवस्थापन नहुँदा विमानस्थल सञ्चालनमा ढिलाइ हुने भएको छ।

दुइ साता अघि चिनिया विदेश मन्त्री नेपाल भ्रमणमा आएका बेला विमानस्थलको सांकेतिक साँचो प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण भएको छ।

विमानस्थलको निर्माण कार्य पूरा भए पनि विमानस्थल नजिकै रहेको फोहोर विसर्जनस्थल (ल्यान्डफिल साइट) व्यवस्थापन हुन नसक्दा विमानस्थल सञ्चालनमा ढिलाइ हुने भएको हाे।

सुरक्षित उडानका लागि विमानस्थलको दुई किलोमिटर क्षेत्रमा रहेको ल्यान्डफिल साइटलाई उपयुक्त ठाउँमा स्थानान्तरण गरेर व्यवस्थापन गर्नुपर्ने हुन्छ।
पोखरा महानगरपालिकाले ल्यान्डफिल साइट अन्य स्थानमा नसारेसम्म विमानस्थल सञ्चालन गर्न समस्या रहेको छ।

मंगलबार गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सहित सरोकारवाला निकायहरु बीच  बुद्ध एयरले ल्याण्डफिल साइटको विषयमा छलफल गराएको छ।

छलफल कार्यक्रमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र पोखरेलले पोखरा विमान स्थल राष्ट्रिय गौरवको आयोजना भएकाले नीजि क्षेत्र र प्रदेश सरकार सहकार्य गरेर काम गर्ने बताए।

उनले पोखरा विमानस्थल सञ्चालनको लागि ल्याण्डफिल साइट हटाएर नयाँ ठाउँमा बनाउनको लागि १५ दिनमा योजना रिर्पोट ल्याउन निर्देशन दिए।

उनले भने ,‘गौरवका साथ हामी भन्छौँ, नीजि क्षेत्र र प्रदेश सरकार सहकार्य गर्ने छौं, यसमा जसले पनि सहकार्य गरे हुन्छ, भन्ने मान्यता राखेर अगाडि बढ्ने हो। हामी त्यसै बसेको पनि होइन। बसेका पनि छैनौँ।'  

गण्डकी प्रदेशमा पर्यटन मन्त्री मणि भद्र शर्मा कँडेलले पोखरा विमानस्थल सञ्चालनको लागि ल्याण्डफिल साइटको मात्रै काम बाँकी रहेको बताए।

उनले ल्याण्डफिल बनाउने विषयमा जटिलता रहेकाले विमानस्थल सञ्चालनमा समस्या ल्याएको बताए। ल्याण्डफिल साइट बनाउने विषयमा प्रदेश सरकार भन्दा पनि महानगरपालिकाले बढी महत्व दिनु पर्ने मन्त्री कँडेलको भनाई छ।

त्यस्तै, प्रतिनिधि सभाकी सांसद विद्या भट्टराईले विमानस्थल बनाउने बेलामा नै विमानस्थल सञ्चालनमा ल्याण्डफिल साइट मुख्य समस्या रहेको भनिए पनि काम अहिलेसम्म हुन नसक्नु राम्रो नभएको बताइन्।

उनले ल्याण्डफिल साइड समस्या समाधानको लागि प्रदेश र स्थानीय सरकारबीच समन्वय भए पनि जनतासँग समन्वय नहुँदा समस्या आएकाले जनतासँग समन्वय गर्नु पर्ने बताइन्।

सांसद भट्टराईले समस्यामा कहाँ छ भन्ने भन्दा पनि अहिले समस्याको समाधान कसरी गर्ने भन्ने कुरा महत्वपूर्ण भएको बताइन्।

पूर्वाधार निर्माणको लागि तीनै तहका सरकारले टाइमलाइन बनाएर काम गर्नु पर्ने आवश्यकता  औंल्याइन्।

उनले भनिन्, ‘याे आयोजनामा सिङ्गो राजनीतिक दलहरूको लगाम हुँदा हुँदै स्वर्गीय रविन्द्र अधिकारीको समर्पण थियो। त्यसको जिम्मा मैले पाएको हुँदा अलि बढी चासो मैले राखेँ। हामी समस्यामा कहाँ छौँ, भन्ने भन्दा पनि समाधान कसरी गर्ने भन्ने कुरा अहिलेको महत्वपूर्ण कुरा हो। जुन ठाउँ उपयुक्त भन्ने लाग्छ त्यसलाई फाइनल मानेर अगाडि बढ्नु पर्छ। त्यहाँको पूर्वाधार निर्माणको लागि तीनै तहका सरकारले टाइमलाइन बनाएर काम गर्नु आवश्यक छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.