|

रुकुम : १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा महतबाट धर्मशाला हुँदै रोल्पाको थवाङमा धेरै गुरिल्ला हिँडे। तत्कालीन माओवादीले तयार पारेका लडाकु महतबाट धर्मशाला भएर थवाङ मात्रै पुगेनन्, म्याग्दी, बागलुङ र रुकुम पश्चिम लगायत धेरै जिल्ला हिँडे।

सरकारी सुरक्षाकर्मीको आँखा छल्दै गुरिल्ला हिँड्ने एउटा रुट हो, ६२ किलोमिटर गुरिल्ला अल्ट्रा दौडको रुट महतबाट सुरु भई धर्मशाला–लाबाङ–छोर्वाङ–गल्च्योल–तिल्घा–ढङ्नै–जलजला–थबाङ–पोर्पोछेडा–मारिङ–ठूलो लेक हुँदै महत।

यही रुटमा आज ९९ धावक दौडिए । बिहानै भूमे गाउँपालिका–६, महतबाट एकैखाले पोसाक सहित दौडिएका धावक देख्दा स्थानीयले विगत सम्झिए । ‘बिहानै एकै खाले ड्रेस सहितका जवान दौडिएको हामी गाउँलेले देख्यौँ, स्थानीय अमित बुढा मगरले भने, ‘झट्ट हेर्दा लडाकु दौडे जस्तै लाग्यो ।’ द्वन्द्वका बेला पनि हरेक बिहान, साँझ र राति यसरी नै लडाकु यही बाटो भएर रोल्पातर्फ जाने गरेको बुढा मगरले स्मरण गरे।

भूमे गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि विगतमा गुरिल्ला दौडिएको रुटमा खेलाडी दौडाएको हो। रुकुमपूर्व र रोल्पा जिल्लालाई समेटेर रुट तय गरिएको थियो। पर्यटनको प्रवर्द्धन, प्रचारप्रसार विस्तार गर्ने भन्दै भूमे गाउँपालिकाले गुरिल्ला अल्ट्रा दौड आयोजना गरेको हो। १० वर्षसम्म माओवादी लडाकु हिँडेको बाटैबाटो धावकलाई दौडाउनुको उद्देश्य पर्यटनको विकासमा टेवा पुर्‍याउनु भएको गाउँपालिका उपाध्यक्ष सबिना बुढा मगरले बताइन्।

‘आज खेलाडी दौडेको क्षेत्रमा द्वन्द्वका क्रममा धेरै गुरिल्ला हिँडेका हुन्,’ उपाध्यक्ष बुढाले भनिन्–‘सोही बाटोमा खेलाडी दौडाएर प्रचारप्रसार गरेर पर्यटनको प्रवर्द्धन गर्न खोजिएको हो ।’ यसबाट स्थानीय संस्कृति, जनजीवन, भूगोल तथा ऐतिहासिक क्षेत्रको प्रचार पनि हुने विश्वास गरिएको उनको भनाई रहेको छ।

गाउँपालिकाको आर्थिक सहयोग र भूमे युवा विकास केन्द्रको आयोजनामा चौथो भूमे गुरिल्ला अल्ट्रा दौड प्रतियोगिता गरिएको हो। उक्त दौड दुई किसिमको गरिएको थियो।

१० किलोमिटर र ६२ किलोमिटरमा गुरिल्ला अल्ट्रा दौड प्रतियोगिता गरिएको भूमे युवा विकास केन्द्रका संयोजक सुनिलकुमार रोका मगरले जानकारी दिए। प्रतियोगितामा १० किलोमिटरमा ३० जना र ६२ किलोमिटरमा ६९ जनाले प्रतिस्पर्धा गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.