|

गुल्मी : २०७६ सालमा रेसुंगा नगरपालिकाले एकलौटी रुपमा सुरक्षित आप्रवासन परियोजना (सामी)  कार्यक्रम अगाडि बढाएको भन्दै नेपाली कांग्रेसले परियोजना अगाडि बढ्न दिएन।

नेकपा एमालेले नेतृत्व गरेको नगरपालिकामा एमालेले एकलौटी रुपमा कर्मचारी भर्ती गर्न लागेको र पारदर्शी रुपमा काम नगरेको भन्दै  कांग्रेसले अवरोध गरेको थियो।

तर अहिले आएर नगरपालिकाको नेतृत्व नेपाली कांग्रेसले गरेपछि सामी परियोजनालाई अगाडि बढाएको छ। अहिले नगरप्रमुख तथा नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले जिल्ला प्रशासन कार्यालयमा सुरक्षित वैदेशिक रोजगारीका लागि आप्रवासी स्रोत केन्द्रको एक कार्यक्रमबीच उद्घाटन गरे। 

प्रशासनमा अहिले नगरपालिकाले २ जना आप्रवासी स्रोत केन्द्र सूचना तथा परामर्शदाता राखेको छ। नगरपालिकाभित्र स्वयंसेवक ३ जना राखेको छ।

नगरप्रमुख पन्थीले तत्कालीन समयमा नेकपा एमालेले नेतृत्व गरेको नगरपालिकाले सामी परियोजनालाई कार्यकर्ता भर्ती केन्द्र बनाएको र अपारदर्शी तवरले सूचना लुकाएर काम गरेको आरोप लगाउँदै पुनः विज्ञापन गर्नुपर्ने अडान राखेका थिए।

सत्ता र शक्तिमा नेकपाकै हालीमुहाली भएको भन्दै अगाडि बढे गाउँमा गएर काम गर्न सहज नहुने र परियोजनालाई भर्ती केन्द्र बनाउन नहुने पन्थीले बताएका थिए।  तत्कालीन समयमा उनी नेपाली कांग्रेस गुल्मीको सचिव थिए।

परियोजना आवश्यक छ : नगरप्रमुख पन्थी

यता नगरप्रमुख पन्थीले पहिले केही प्रक्रियाका बारेमा आफूहरूको असहमति भएको र विरोध गरेको स्विकारे। केही प्रक्रियाको बारेमा विरोध भए पनि पछि समाधानतर्फ गएको भन्दै कार्यान्वयन नगर्नु तत्कालीन नेतृत्वको विषय भएको उनको दाबी छ।

अहिले सो परियोजना आवश्यक ठानेको र कार्यान्वयनमा गएको भन्दै कार्यक्रम प्रभावकारी हुनेमा उनले विश्वास व्यक्त गरे।

वैदेशिक रोजगारीमा जाने युवाहरू ठगिनबाट बच्ने, वैदेशिक यात्रामा जानुपूर्व आवश्यक ज्ञान लिएर जान सक्ने भएकाले यो परियोजना आवश्यक रहेको पन्थीको दाबी छ।

कांग्रेसले काम गर्नै दिएन : भुसाल

रेसुंगा नगरपालिकाका पूर्व नगरप्रमुख डिल्लीराज भुसालले सामी परियोजनालाई कांग्रेसले अगाडि बढाउन नदिएको गुनासो गरेका छन्। आफूले परियोजना अगाडि बढाउन बारम्बार प्रयास गर्दा पनि कुनै उपाय नलागेको भन्दै राजनीतिक खिचातानीले गर्दा कार्यक्रम फ्रिज गएको उनको भनाई छ।

२०७७ साउन ११ गते आइतबार बिहान ११ बजेका लागि तोकिएको परीक्षामा कांग्रेसले नगरपालिकाको गेटमै धर्ना दिने र अवरोध गरेपछि परीक्षा स्थगित गरिएको थियो 

नगरपालिकाका सूचना अधिकारी शंकरप्रसाद गौतमले आफूहरूले नियमसंगत २०७६ फागुन १२ गते सूचना प्रकाशन गरी आवेदन मागेको र सोहीअनुसार छोटो सूचीमा नाम प्रकाशन गरिएको दाबी गरेका थिए। 

तत्कालीन समयमा जिल्लाका रेसुंगा, मुसिकोट नगरपालिका, इश्मा र छत्रकोट गाउँपालिकामा सो परियोजना लागू हुने गरी योजना अघि बढेको थियो।

तत्कालीन रेसुंगा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालको संयोजकत्वमा अन्य ३ स्थानीय तहका प्रमुख, सदस्य रहने गरि स्थानीय तह परियोजना व्यवस्थापन समिति रहेको थियो।

जिल्लाका ४ वटा स्थानीय तहमा यो कार्यक्रम लागू हुने भएकाले यो कार्यक्रमको संयोजन रेसुंगा नगरपालिकाले गरेको थियो। हाल सो परियोजना रेसुंगा नगरपालिकामा मात्र लागू हुने गरी अगाडि बढाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.