|

सुर्खेत : भाडा घरमा बस्दै आएका प्रहरीछानो चुहिने भएपछि समस्यमा परेका छन्। उच्च हिमाली क्षेत्र हुम्लाको उत्तरी चीनसँगको सिमानामा रहेको यारी प्रहरी चौकीमा कार्यरत प्रहरीले पानी चुहिने समस्याले गर्दा हैरानी व्यहोर्नु परेको हो।

चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १२ जना प्रहरी रहेका छन्। चौकीका लागि भाडामा लिएको घरका सबै कोठाको अवस्था उस्तै छ भने पानी चुहिएपछि कार्यालयका कागजात नचुहिने स्थानमा लगेर सुरक्षित राख्नुपर्ने बाध्यता प्रहरीलाई छ।  

यारी प्रहरी चौकीका  इन्चार्ज तेजबहादुर ऐरीले माटोले छापेको घर भएका कारण पानी पर्नेबित्तिकै चुहिने गरेको बताए। चौकीमा खटिएका प्रहरी पानी पर्दा रातभर जाग्राम बस्नुपर्ने वा ‘स्लिपिङ ब्याग’भित्र बस्नुपर्ने बाध्यता भएको उनको दुखेसो छ।

दुर्गम क्षेत्रमा रहेका प्रहरी चौकीमा सुरक्षित आवास तथा व्यवस्थापन नहुँदा समस्य हुँदै आएको छ। आकाशमा बादल देखिनेवित्तिकै फोन सम्पर्क समेत नहुने गरेको प्रहरीको गुनासो छ। सीमा क्षेत्रमा भाषाको समेत उत्तिकै समस्या छ। यहाँ मात्र होइन, हिमाली क्षेत्रम रहेक अधिकांश प्रहरी चौकी तथा अन्य सरकारी कार्यालयको अवस्था नाजुक छ। 
 
जिल्ला प्रहरी कार्यालयसहित हुम्लामा २५ प्रहरी एकाइ छन्। तर अधिकांश प्रहरी चौकीको आफ्नै भवन नहुँदा समस्या भएको छ। भाडाका १४ प्रहरी चौकीमध्ये अधिकांश भवनमा पानी चुहिने र जीर्ण छन्।

भाडाका घरमा हुँदा प्रहरी चौकी नै असुरक्षित भएको जिल्ला प्रहरी प्रहरी कार्यालयले जनाएको छ।  भाडाको घरमा हुँदा प्रहरी कर्मचारीले सास्ती बेहोर्दै सेवा प्रवाह गरिरहेका छन् । भवन अभावमा अधिकांश चौकीलाई कार्यालय व्यवस्थापन गर्न समस्या भएको छ।

एउटै घरमा कार्यालय र व्यारेक हुँदा सर्वसाधारणलाई सुरक्षा दिन पनि समस्या भएको छ। भाडाको नाममा मासिक करिब पाँच लाख रुपैयाँसम्म खर्च भइरहेको प्रहरीको भनाइ छ। केही भवनको भाडा जिल्ला प्रहरी कार्यालयमार्फत भुक्तानी भएको छ। केही ठाउँमा गाउँपालिकाले बेहोरिरहेको छ।

सीमा प्रहरी चौकी हिल्सा, प्रहरी चौकीहरू यारी, धारापोरी, खार्पु, याङ्चु, सर्केदेउ, पिप्लाङ र मिमीमा भाडाको घरमा प्रहरी बसिरहेको छ। त्यस्तै गल्फागार्ड, छप्रेला, मैला, कवाडी र तुम्च प्रहरी चौकी पनि भाडाको घरमा राख्नुपरेको छ।

ट्राफिक प्रहरी कार्यालय सिमकोटको पनि आफ्नै भवन छैन। कतिपय ठाउँका प्रहरी चौकी भवन जीर्ण हुँदा ढल्ने अवस्थाका रहेको बताएको छ।  ग्रामीण क्षेत्रमा प्रहरी चौकीका लागि उपयुक्त घर नहुँदा स्टोर, ब्यारेक र कार्यालय एउटै घरमा राख्नुपरेको प्रहरीको गुनासो छ।

विपद् व्यवस्थापनका सामग्री राख्ने ठाउँसमेत नहुँदा गाउँमा कुनै घटना भए नियन्त्रणमा समस्या हुने गरेको छ। जिल्ला प्रहरी कार्यालयसहित ६ प्रहरी चौकी मात्र अहिले आफ्नै भवनमा छन्। सदरमुकाम सिमकोटस्थित इलाका प्रहरी कार्यालय डिभिजन वनको भवनमा बस्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.