|
तम्घास सिमलटारी सडकखण्डमा जोखिम मोलेर खोला तर्दै यात्रु। तस्वीर : तिलाचन पाण्डे

गुल्मी : मदन भण्डारी राजमार्गअन्तर्गतको तम्घासदेखि सिमलटारी सडकखण्डमा पुल नहुँदा यात्रुलाई सास्ती भएको छ।

सदरमुकाम तम्घासदेखि सिमलटारीसम्म २८ किलोमिटर कालोपत्रे रहेको मदन भण्डारी राजमार्ग छ। राजमार्गका खोलामा पुल नहुँदा जोखिम मोलेर यात्रा गर्न बाध्य भएको मालिका गाउँपालिका–५ का सन्तोष महतराले गुनासो गरे।

वर्षायाम र पानी पर्दा सो सडकबाट मोटरसाइकल लिएर जान नसकिने भन्दै राजमार्गको सडक छाडेर जोखिम मोलेर कच्ची सडक खोज्दै जान बाध्य भएको उनको भनाइ छ।  खोलाहरू बढ्दा ठुलठूला गाडी पनि बगाउने जस्तो भएकाले आफूहरू वैकल्पिक बाटो खोजेर जानुपर्ने बाध्यता भएको उनले बताए।

नाम मात्रैको राजमार्ग भएको भन्दै खोलामा पुल नहुँदा खोला मार्ग जस्तो भएको उनको भनाइ छ।

यता सोही गाउँपालिका वडा नम्बर ४ का धनीश्वर अर्यालले  सडक र खोलाको हालत देख्दा मदन भण्डारीको नै अपमान भएको बताए। उक्त राजमार्गका खोलाहरूमा पक्की पुल निर्माण गर्न कसैको ध्यान नगएको उनको गुनासो छ।

उक्त राजमार्गअन्तर्गत हुलाके, सिलादी खोला र अर्जेमा रहेको फूलबारी खोलामा जोखिम मोलेरै यात्रा गर्न बाध्य भएका छन्।

एक वर्षअगाडि सोही राजमार्गमा रहेको खोला बढेकै कारण मालिका गाउँपालिका–७ घमिरका संक्रमित दम्पती बोकेको एम्बुलेन्स उपचारका लागि सरमुकाम तम्घास आउन सकेको थिएन। उक्त एम्बुलेन्सले खोला तर्न नसकेपछि सदरमुकामबाट नेपाली सेनाको ट्रक पठाइएको थियो। सेनाको ट्रक पनि खोला तर्न नसकी सदरमुकाम तम्घास फिर्ता आएको थियो। संक्रमितलाई ३० घण्टापछाडि सदरमुकाम तम्घास ल्याइएको थियो।

खोला अवलोकन गर्दै पूर्वमन्त्री विष्ट
निर्वाचन नजिकिदै गरेपछि गुल्मी क्षेत्र नम्बर २ का सांसद तथा पूर्वमन्त्री गोकर्णराज विष्टले अहिले खोला अवलोकन गर्न थालेका छन्। विष्टले खोला अवलोकन गरेका तस्वीर सामाजिक सञ्जालमा भाइरल भएका छन्। कतिपयले यसलाई निर्वाचन नजिकिएपछिको प्रचार पनि भनेका छन् भने कतिपयले हालसम्म के हेरेर बसेको भन्दै आक्रोश व्यक्त गरेका छन्।​
मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीका प्रमुख शशांक मिश्राले राजमार्गमा पर्ने खोलामध्ये चार ठाउँमा पुल निर्माणको टेन्डर भई सम्झौता पनि भइसकेकाले दशैँतिहार पछाडि काम अगाडि बढ्ने बताए।

वर्षायामको समय पनि भएकाले र चाडपर्व पनि आएकाले दशैँतिहार पछाडि द्रुत गतिमा अगाडि बढाउने उनको दाबी छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.