|

बैतडी : बैतडीका स्थानीय तहमा धमाधम पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालनमा रहेका छन्। रनिङ शिल्ड प्रतियोगिता सञ्चालनमा रहेकाले खेलकुदमय भएका छन्।

विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्ने उद्देश्यले सञ्चालन गरिने प्रतियोगिता उपयुक्त खेलमैदानबिना भइरहेका छन्। 

प्रतियोगिताका खेलहरू राजमार्ग बन्द गराएर सडकमा, मन्दिर प्रांगण, विद्यालयको चौरमा खेलाइरहेका छन्। पालिकामा उपयुक्त मैदान नहुँदा प्रतियोगिताका खेल सडक, मन्दिर र चौरमा गराउनुपर्ने बाध्यता रहेको छ।

स्थानीय तहले खेलकुद क्षेत्रलाई प्राथमिकता तथा खेल पूर्वाधार निर्माण ध्यान नदिँदा यस्तो समस्या आएको हो। खेलकुदका गतिविधि सञ्चालनका लागि उपयुक्त खेल मैदान आवश्यक पर्ने भए पनि खेल मैदानबिना प्रतियोगिता सञ्चालन भइरहेका हुन्। उपयुक्त खेल मैदानबिना सञ्चालनमा रहेको प्रतियोगितामा खेलाडीले आफूले चाहेको प्रदर्शन गर्न नसक्ने र चोटपटकको सम्भावना पनि उच्च हुन्छ।​

यहाँका केही स्थानीय तहले पालिकास्तरीय खेलमैदान निर्माण गरे पनि खेल्नलायक छैनन्। स्थानीय तहमा रहेका माध्यमिक विद्यालयमा अध्ययनरत १८ वर्षमुनिका विद्यार्थीका लागि प्रतियोगिता आयोजना गरिएको हो। रनिङ शिल्ड प्रतियोगितामा भलिबल, एथ्लेटिक्स, कबड्डी, दौड लगायतका खेल भइरहेका छन्।

हालै जिल्लाको दोगडाकेदारमा सम्पन्न रनिङ शिल्ड प्रतियोगिताअन्तर्गतका केही खेल सडकमै खेलाइए। पालिकाका वडा नम्बर ७ मा रहेको चनैराज खेलमैदानमा प्रतियोगिता सञ्चालनको स्थान तोकिए पनि सानो र उपयुक्त नहुँदा केही प्रतिस्प्रर्धा महाकाली राजमार्गमा चक्काजाम गरेर गराइएको थिए।

प्रतियोगिताअन्तर्गत दौडहरूको प्रतिस्प्रर्धा राजमार्गको खोचलेक–सिल्लेगडा सडकखण्डमा गरिएका हुन्। दौड सञ्चालन हुँदा राजमार्गमा सवारी आवागमनमा रोक लगाइएको थियो। कालोपत्रे सडकमा दौडमा भाग लिँदा एक खेलाडी घाइते समेत भएकी थिइन्।

दोगडाकेदार गाउँपालिका–२ मा रहेको रौलेश्वर माविकी खेलाडी हीरा कुँवर दौडिने क्रममा लडेर घाइते भएकी थिइन्। लडेर घुँडामा चोट लागेकी कुँवरलाई मोटरसाइकलमा राखेर उपचार गराइएको थियो।​

मेलौलीमा सम्पन्न शिल्ड प्रतियोगिता मेलौली भगवती मन्दिरको प्रांगणमा सम्पन्न भएको छ। पालिकास्तरीय खेलमैदान निर्माण गरिए पनि खेल्न उपयुक्त नभएकाले मन्दिरमा प्रतियोगिता गराइएको खेलकुद विकास समिति मैलौलीका अध्यक्ष शंकर भण्डारी सागरले बताए।

जिल्लाको सिगास गाउँपालिका, पाटन नगरपालिकामा सञ्चालनमा रहेको रनिङ शिल्ड प्रतियोगिता विद्यालयका खेलमैदानमा भइरहेका छन्।

पढाइसँगै खेलकुद पनि महत्त्वपूर्ण रहेकाले स्थानीय सरकारले खेल क्षेत्रमा लगानी बढाउन जरुरी देखिएको सनातन धर्म मावि श्रीकोटका प्रधानाध्यापक बलदेव नाथको भनाइ छ।

उनले भने, ‘विद्यालय भनेको देशलाई चिनाउन खेलाडी उत्पादन हुने जग हो। खेलकुदका लागि पालिकाले खेल पूर्वाधारका साथै खेल पनि थप्नुपर्छ। साथै खेलशिक्षक र प्रशिक्षण पनि आवश्यक छ।’

स्थानीय तहले खेलकुद र खेल पूर्वाधार निर्माणमा ध्यान नदिँदा यस्तो समस्या आएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चमन भण्डारीले बताए। राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद नारा दिई पनि उपयुक्त खेलमैदान नहुँदा खेलाडीले आफूले चाहेअनुसार प्रदर्शन गर्न सकेका छैनन्।

उनले भने, ‘खेलाडी उत्पादनको मुख्य आधार विद्यालय रहे पनि यहाँका पालिकाले खेलक्षेत्रमा कुनै चासो दिएका छैनन्।’

खेलमैदान निर्माण गर्न कुनै चासो नदिएका पालिकाले कमिशन आउने सडक लगायतका पूर्वाधार निर्माणमा ध्यान दिएको भण्डारीको आरोप छ। उनले भने, ‘खेल पूर्वाधारका लागि पालिकाले चासो दिएका छैनन्। कमिशन आउने सडक लगायतका अन्य पूर्वाधार निर्माणमा मात्रै ध्यान छ।’

प्रतियोगिताले विद्यार्थीले आफ्नो क्षमता प्रदर्शन गर्ने र उत्कृष्ट गर्ने खेलाडीका लागि माथिल्लो स्तरको प्रतियोगितामा सहभागिताका लागि ढोका खुल्ने भए पनि उपयुक्त मैदान नहुँदा चाहेअनुसार प्रदर्शन गर्न असहज भएको छ।

खेलमैदान अभावमा सडकमा दौड प्रतियोगिता सञ्चालन गर्नुपर्ने बाध्यता आएको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताए। निकट भविष्यमै लबलेकमा निर्माणाधीन पालिकास्तरीय खेलमैदान निर्माण सम्पन्न गरी खेल्न योग्य बनाउने उनको भनाइ छ।

जिल्लाको मेलौली नगरपालिका, शिवनाथ र दोगडाकेदार गाउँपालिकामा शिल्ड प्रतियोगिता सम्पन्न भइसकेका छन्। आइतबारदेखि पाटन नगरपालिका, पुर्चौडी नगरपालिका, डिलाशैनी, सिगास र सोमबार पञ्चेश्वर गाउँपालिकामा रनिङ शिल्ड सञ्चालन हुँदै छ।

यसका साथै फागुन ३ गते दशरथचन्द नगरपालिका र फागुन ७ गतेदेखि सुर्नया गाउँपालिकामा रनिङ शिल्ड प्रतियोगिताको तयारी रहेको छ।

यहाँका पालिकामा माघ २५ गतेदेखि शुरु भएका शिल्ड प्रतियोगिता फागुन ९ गतेसम्म सञ्चालन हुनेछ। पालिकास्तरीय रनिङ शिल्ड सम्पन्न भएपछि फागुन दोस्रो सातापछि जिल्लास्तरीय प्रतियोगिताको तयारी भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.