|

बैतडी :  छुट्टाछुट्टै  स्थानमा भएका दुर्घटनामा एकैदिन नौजनाको मृत्यु भएको छ।  मंगलबार राति ११ बजे जयपृथ्वी राजमार्गको खोडपे–बझाङ सडकखण्डअन्तर्गत  बैतडीको पाटन नगरपालिका ८ को झौलेक मोडमा से १ ज ७६४ नम्बरको जिप  दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भयो। 

भारतमा रोजगारी गरेर नयाँ वर्ष मनाउनका लागि घर फर्किरहेका बझाङको एकैगाउँका ६ जना बाटोमै अस्ताए।

दुर्घटनामा परी बझाङको केदारस्युँ गाउँपालिका ५ को बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय बिरे धामीको घटनास्थलमै मृत्यु भयो।  सोही जिपमा सवार ५ जना भने हाम फालेर बाँच्न सफल भएका छन्।

दुर्घटनालगत्तै  प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीलगायतको टोली घटनास्थल पुगेको थियो।

यस्तै, मंगलबार बेलुका सिगास गाउँपालिका–२ धौलाडीमा बालुवाको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु भयो।  बेलुका ७ बजेतिर धौलाडीस्थित सडकको भिरालो जमिनमा बालुवा खन्ने क्रममा ढिस्कोमा पुरिएकी राजमतीको घटनास्थलमै मुत्यु भयो।

 पुरिएर घाइते भएका सिगास गाउँपालिका–२ धौलाडी ६२ वर्षीय सालिभानसिंह धामीको उपचारको लागि डडेल्धुरा लैजाने क्रममा गए राति १० बजे मृत्यु भएको छ।  यस्तै, बालुवाको ढिस्कोमा पुरिँदा ४२ वर्षीय सङ्ग्रामसिंह धामी  घाइते भएका छन्। धामीलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ।

सँगै बालुवा खन्न गएका नरेन्द्र धामी र मनोज धामी भने सकुशल छन्।  यसका साथै मंगलबार साँझ भीरबाट लडेर बैतडीमा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको पाटन नगरपालिका १० का ४३ वर्षीय राजबहादुर साउद छन्।  बजारबाट घर फर्कने क्रममा ठूलाखाली भन्ने स्थानबाट लडेर साउँदको मृत्यु भएको हो।

नयाँ वर्षको मुखैमा भएको यो दुर्घटनाले निकै दुःखी बनाएको प्रजिअ पन्थीले बताए।  उनले भने, ‘दुर्घटनाले नयाँ वर्ष खल्लो  भएको छ। मृतकप्रति श्रद्धाञ्जली,घरपरिवारलाई धैर्यधारणको कामना छ।‘ एकैदिन भएका घटनाहरूका विषयमा प्रहरीले अनुसन्धान थालेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.