|

पर्वत : जिल्लाको फलेवास नगरपालिका–३ शंकरपोखरीका नन्दलाल रेग्मी उमेरले ७९ वर्षका भए। शनिबार मध्यान्हको चर्को घाममा धारोको पानीले भए पनि सिँचाई गर्न पाउने आसमा उनी बीउ राखेको ब्याडमा घुम्दै थिए।

चर्को घाममा आँखाले हेर्न पनि कठिन भइरहेको बेलामा पसिना काढ्दै बीउ सिँचाइका लागि नपुगे असारमा धान रोप्न ठप्प हुन्छ। नन्दलाल मात्रै होइन धेरै ठाउँमा असारे रोपाइको बीउ राखिएका ब्याडमा पट्पटी चिरिएको छ।

पानीको अभावमा न त बीउ राम्ररी बढ्न नसक्दा आउँदो वर्षमा खाद्यान्नको सङ्कट हुन सक्ने चिन्तामा कृषकहरू छन्।

‘धाराको पानी हालेर कति बीउ पो भिज्ला र खै? फेरि यो तिरतिरे धाराको बगेको पानी पाउन पनि गाउँलेहरूको लाइन छ। धान कोदोको बीउ सबै डढ्न लागिसक्यो। पानी नपरेर गर्मी उस्तै छ’, नन्दलाल भन्छन्, ‘यस्तै चाल भए रोपाइ नै हुँदैन। पछि फालेको बीउ त अलिअलि हरियो छ, पहिले छरेको बीउ त सुक्यो। बढेकै छैन। यो किसानलाई केही गरी सुख छैन।’

मनसुन भित्रिन ढिलाइ हुँदा गर्मी अत्यधिक बढेको छ। बजार क्षेत्रमा त कठिन छ नै हरियाली रहेको गाउँमा समेत गर्मीले घर बाहिर निस्केर काम गर्ने अवस्था छैन। गर्मीकै कारण खेतबारीका कान्लामा रहेको घाँससमेत सुक्दा चौपायालाई समेत समस्या भइरहेको कृषकहरू बताउँछन्। पानीको अभावमा मकैका बोटले खाना तयार गर्न नपाउँदा पसाउने बेलाका बोटहरू यसै ठिम्रिएका देखिन्छन्। बिहान बेलुकाको समयमा सामान्य अवस्थामा देखिने मकैका बोट, रोप्नलाई तयारी अवस्थामा रहेको कोदो, उम्रिएको धानको बीउ लगायतका बोटबिरुवा सुकेका छन्।

‘सुरुमा छरेको मकै त कामै नलाग्ने जस्तो भइसक्यो। अब वर्षा हुँदा साथ रोपाइको माचो सुरु हुन्छ। समयमा वर्षा नहुँदा मकै बल्ल पसाउन लागेका जस्ता छन्। मकै पकाउन खेत नरोप्ने की खेत रोप्नका लागि पसाउन लागेको मकै फाल्नेरु’ बागलुङ नगरपालिका–१४ कैयाका गोविन्द ढकाल भन्छन्, ‘घाम र पानीको सन्तुलन नभई खेतीलाई हुँदैन। पछिल्लो समयमा जलवायु परिवर्तनले पो हो कि सन्तुलन भएको देख्न पाइँदैन।’

सामान्यतः जेठ महिनामा कोदो रोपेर सकेपछि असारमा धान रोपाइ सुरु हुने गरेको छ। जिल्लाका अधिकांश ग्रामीण क्षेत्रमा कृषकहरूले धेरथोरै कोदो खेती गर्दै आएका छन्। बारीमा लगाइएका मकै गोड्ने र कोदो रोप्ने काम एकै पटक हुन्छ। पहिलो पटक मकै गोडेका कृषकहरूले वर्षा नहुँदा मकै गोड्न नै नपाएको बताउँछन्। फलेवास नगरपालिकाका कृषक लालप्रसाद तिवारीले खडेरीका कारण खेतका मकै सुकेको बेलामा गोड्न नपाएकै कारण बारीका मकै सप्रिन नपाएको बताउँछन्।

‘बारीको मकै दोहोर्‍याउने  दोस्रो पटक गोड्ने बेलामा पानी पर्नुपर्ने हो। खेतमा धानको बीउ बढ्दै गरेको बेलामा बारीमा कोदो रोप्ने हो। पानी परेपछि मकै दोहोर्‍याउने  र त्यही माटोमा कोदो रोप्ने हो’, उनले भने, ‘अब खेत रोप्ने बेला आउँदा समेत बारीको मकै दोहोर्‍याउन पाइएको छैन। अब कहिले कोदो रोप्नुरु कहिले मकै मकै पाक्नुरु अनि कहिले धान रोप्नु?’

खोल्सा वा पानीको नियमितता भइरहेको ठाउँमा लगाइएको धानको बीउले सिँचाई पाएको भए पनि गर्मीका कारण मकै बाली तयार नहुँदा रोपाइ समेत अनिश्चित भएको छ। जिल्लाका उच्च ठाउँ तथा पानीको सुविधा भएको ठाउँमा असारको सुरुमै रोपाइ हुने गरेको छ भने बेसीमा साउनसम्म पनि रोपाइँ हुने गरेको छ।

बेँसी क्षेत्रमा रहेका कृषकले सामान्यतः ढिलो रोपाइ गर्ने भएकाले मनसुन भित्रिएपछि हुने वर्षाका कारण उनीहरूलाई धान खेतीमा त्यति धेरै क्षति हुँदैन। तर लेकाली क्षेत्रमा असारको सुरुमै रोपाइ हुनका  लागि जेठको अन्तिमसम्ममा धानको बीउ तयार भएको हुनुपर्छ। धानको बीउ तयार हुनु पूर्व कोदो रोपिसकिएको हुनुपर्छ। तर ती क्षेत्रमा अहिलेसम्म पनि कोदो रोप्न सुरु नै हुन पाएको छैन।

पर्याप्त वर्षा नभई ब्याडबाट निकालिएको बीउ मर्छ भने गोडाइका कारण मकैका बोट पनि सुक्न थाल्छन्।

जिल्लाका अधिकांश क्षेत्रमा वर्षाको भरमा नै खेतीपाती हुँदै आएको छ। हिउँदको समयमा सुक्ने पानीका स्रोतहरू वर्षासँगै ब्युँतिन्छन्। खोल्सामा बग्ने पानीमा वृद्धि भएपछि गाउँ गाउँमा लगिएका पाइप र कुलोमा पानी बग्न थाल्छ। यो बेलामा पानी कसरी तर्काउने भन्ने चिन्तामा हुने कृषकहरू कुलो र नहरमा कमिला हिँडिरहेको देख्न बाध्य छन्। झन्डै सात हजार हेक्टर जमिनमा सिँचाइको सुविधा भए पनि खोलानाला नै सुकेकाले समस्या भएको कृषकको भनाई छ। पर्वतमा नौ हजार ५० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ भने झन्डै सात हजार हेक्टरमा कोदो र मकै खेती हुने गरेको छ। मुख्य बाली लगाउने समयमै खडेरी परेका कारण कृषकलाई समस्या परेको छ।   

कृषि ज्ञान केन्द्र पर्वतले लामो समयदेखि वर्षा नहुँदा पर्वतमा रोपाइँ गर्न समस्या भएको बताएको छ। वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले यो महिनाको अन्त्य वा असार महिनाको पहिलो सातासम्म मनसुन सक्रिय भएमा उत्पादनमा भने असर नगर्ने बताउँछिन्।

उनले रोपाइँ गरिसकेपछि साउन र भदौमा समेत निरन्तर वर्षा भएमा धान, कोदो उत्पादन राम्रो हुने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.