|

इलाम : कोशी प्रदेश मुख्यमन्त्री कप नकआउट फुटबल प्रतियोगितामा धनकुटा र सुनसरी विजयी भएका छन्।

ओखलढुंगाको सिद्धिचरण नगरपालिकास्थित सगरमाथा जनता माविको खेलमैदानमा भइरहेको प्रतियोगितामा धनकुटाले भोजपुर र सुनसरीले पाँचथरलाई हराएका हुन्। जितसँगै दुवै टोली सेमिफाइनलमा पुगेका छन्।

पहिलो खेलमा धनकुटाले भोजपुरलाई ५–३ गोल अन्तरले हरायो। धनकुटाको जितमा कुसुम थुलुङले २ गोल गरे। विवेक राई, दीपेन शाक्य र वीरेन लिम्बूले एकएक गोल गरे। भोजपुरको तर्फबाट अनिश बस्नेत, सन्तोष तामाङ र सौगात राईले गोल गरे।

खेलमा सुरुवाती अग्रता भोजपुरले लिए पनि सम्हालिन नसक्दा हार व्यहोर्नु परेको थियो।  

खेलको सातौँ मिनेटमा भोजपुरका अनिश बस्नेतले पहिलो गोल गरेका थिए तर १७ औँ मिनेटमा धनकुटाका विवेक राईले गोल गर्दै खेल बराबरीमा ल्याए। खेलको २७ औँ र ३२ औँ मिनेटमा धनकुटाका कुसुम थुलुङ राईले गोल गर्दै खेल ३–१ को अग्रता बनाए।

दुई गोलले पछि परेको भोजपुरका लागि ३६ औँ मिनेटमा सन्तोष तामाङले गोल गर्दै अन्तर घटाउँदै खेल ३–२ मा फर्काए तर त्यो पनि धेरै समय टिक्न सकेन।

धनकुटाका दीपेन शाक्यले ५७ औँ मिनेट र वीरेन लिम्बूले ६२ औँ मिनेटमा गोल गर्दै ५–२ को स्थितिमा खेल पुर्‍याए।

खेलको ७३ औँ मिनेटमा भोजपुरका सौगात राईले गोल गर्दै अग्रता घटाए पनि जितका लागि पर्याप्त हुन सकेन।

खेलको म्यान अफ द म्याच धनकुटाका कुसुम थुलुङ राई भए। उनलाई बोर्डका सदस्य सचिव हंशराज वाग्ले र ओखलढुंगा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रवीण श्रेष्ठले नगद चार हजार र पदक प्रदान गरे। जितसँग धनकुटाले इलामसँग फाइनल प्रवेशका लागि खेल्नेछ।

यसैबीच आज भएको दोस्रो खेलमा सुनसरीले पाँचथरलाई पराजित गर्‍यो। सुनसरीले पाँचथरलाई ३–० गोल अन्तरले हराएको हो। खेलको २५ औँ मिनेटमा सुनसरीका निमा शेर्पाले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। त्यसैगरी खेलको ४७ औँ मिनेटमा योगेन्द्र कार्कीले गोल थप्दै २–० को स्थितिमा पुर्‍याए।

७२ औँ मिनेटमा शेर्पाले व्यक्तिगत दोस्रो गोल गर्दै सुनसरीको जित पक्का गरे। खेलको म्यान अफ द म्याच दुई गोल गर्ने सुनसरीका शेर्पा घोषित भए। उनले नगद चार हजार र पदक पाए। सुनसरीले सेमिफाइनलमा तेह्रथुम र खोटाङबीचको विजेतासँग खेल्नेछ।

आजै तय भएको तेस्रो खेलमा ताप्लेजुङविरुद्ध  वाकओभर पाउँदै इलामले समेत सेमिफाइनलमा स्थान बनाएको छ। बाढीपहिरोका कारण सडक अवरुद्ध भएपछि ताप्लेजुङ प्रतियोगिता स्थलमा पुग्न सकेन। प्रतियोगितामा कोशी प्रदेशका १३ जिल्ला सहभागी छन्।

कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना रहेका प्रतियोगिताको विजेताले नगद २ लाख, ट्रफी, पदक र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद १ लाख ट्रफी, पदक र प्रमाणपत्र पाउनेछ। प्रतियोगिताका उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र उच्च गोलकर्ताले पाँच हजार रुपैयाँ र ट्रफी पाउनेछन्।

प्रतियोगितको फाइनल खेल असार ९ गते हुनेछ। भोलिको खेल झापा र ओखलढुंगा, तेह्रथुम र खोटाङ तथा संखुवासभा र उदयपुरका बीच हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.