|

बैतडी : बैतडीका स्थानीय तहहरूले आर्थिक वर्ष २०८०।०८१ का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन्।

नगरसभा तथा गाउँसभाबाट यहाँका स्थानीय तहहरूले सार्वजनिक गरेको नीति तथा कार्यक्रम र बजेटमा सार्वजनिक गर्दै शिक्षा, स्वास्थ्य, कृषि, रोजगारलाई मुख्य प्राथमिकतामा राखेका छन्।

दशरथचन्द नगरपालिकाले आगामी आवका लागि ८२ करोड १७ लाख ३८ हजार बराबरको बजेट ल्याएको छ। उपप्रमुख कौशिला चन्दले आर्थिक विकास, भौतिक पूर्वाधार, सामाजिक विकास, सुशासन लगायतका क्षेत्रलाई प्राथमिकता राख्दै बजेट नगरसभामा पेश गरेकी हुन्।

नगरपालिकाले पुँजीगततर्फ ११ करोड विनियोजन गरेको छ भने चालू खर्चतर्फ १३ करोड ४० लाख २८ हजार ८८९ रुपैयाँ बजेट विनियोजन गरेको छ। यस्तै आर्थिक विकासतर्फ ७५ लाख विनियोजन गरेको नगरपालिकाले सामाजिक विकासतर्फ ४ करोड ६० लाख, पूर्वाधार विकासतर्फ १ करोड ६६ लाख विनियोजन गरेको नगरपालिकाले वातावरण तथा विपद् व्यवस्थापनतर्फ ५० लाख विनियोजन गरेको छ।

पुर्चौडी नगरपालिकाले ६४ करोड ५४ लाख ११ हजार बजेट ल्याएको छ। पूर्वाधार, कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेको छ। नगरसभामा बजेट प्रस्तुत गर्दै उपप्रमुख मीना धानुकले सामाजिक विकास, पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य र सुशासनलाई प्राथमिकतामा राखेको बताइन्।

पुर्चौडीमा सामाजिक विकासतर्फ ८ करोड ५० लाख, वन वातावरण तथा विपद् व्यवस्थापनतर्फ ५० लाख, सुशासन तथा संस्थागत विकासतर्फ ९ करोड, पूर्वाधार विकासतर्फ ७ करोड र आर्थिक विकासतर्फ एक करोड विनियोजन गरिएको छ।

पाटन नगरपालिकाले सार्वजनिक गरेको ६३ करोड ५३ लाख ६२ हजार २१० रुपैयाँ बराबरको बजेटमा शिक्षा, स्वास्थ्य र सामाजिक विकासलाई प्राथमिकतामा राखेको नगर प्रमुख गौरीसिंह रावलले बताए।

दोगडाकेदार गाउँपालिकाकी उपाध्यक्ष पार्वती कार्कीले प्रस्तुत गरेको ५१ करोड ४४ लाख ४० हजार ४ सयको बजेटमा स्वास्थ्य, कृषि र सुशासनलाई प्राथमिकतामा राखिएको छ।

सिगास गाउँपालिकाले केही नयाँ कार्यक्रमसहित पुराना कार्यक्रमलाई निरन्तरता दिँदै ४३ करोड ८२ लाख ३१ हजार ८ सय बराबरको बजेट सार्वजनिक गरेको छ। जसमा चालूतर्फ ३३ करोड ८९ लाख २४ हजार ८ सय र पुँजीगततर्फ ९ करोड ९३ लाख ७ हजार बराबरको बजेट विनियोजन गरिएको अध्यक्ष हरिसिंह धामीले बताए।

पञ्चेश्वर गाउँपालिकाले ३८ करोड ७३ लाख ७२ हजार २ सय रुपैयाँको बजेट ल्याएको छ। कृषि,स्वास्थ्य र विद्युतीकरणलाई प्राथमिकतामा राख्दै बजेट गाउँसभामा पेश गरेको गाउँपालिका उपाध्यक्ष बीना भट्टले जानकारी दिइन्।

शिवनाथ गाउँपालिकाले पनि ३६ करोड ३४ लाख ६७ हजार ९ सयको रुपैयाँको बजेट ल्याएको छ। बजेटमा शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखिएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.