|

म्याग्दी : आज असार १५‚ २० औं राष्ट्रिय धान दिवस। मध्य असार बितिसक्दा पनि म्याग्दीको ८८ प्रतिशत खेत बाँझै छ।

समयमै पर्याप्त पानी नपर्दा म्याग्दीमा धान रोपाइँ प्रभावित बनेको छ। असार महिनाको सुरुवातसँगै म्याग्दीका कृषकहरु धान रोपाइँको चटारोमा जुटे पनि पर्याप्त वर्षा नभएको कारण मध्य असारसम्म जम्मा करिब १२ प्रतिशत मात्रै धान रोपाइँ भएको हो। 

कृषि ज्ञान केन्द्र म्याग्दीका अनुसार, जिल्लाको माथिल्लो भेगमा धान रोपाइँ द्रुत गतिमा भैरहे पनि तल्लो भेगमा अझै रोपाइँ हुन सकेको छैन। असारको सुरुवातमा पर्याप्त वर्षा नभएको र वेंशीका फाँटका खेतमा मकै खेतीसमेत भएकाले धान रोपाइँमा केही ढिलाइ भएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सिग्देलले जानकारी दिए।

‘दुई दिनदेखि नियमित वर्षा भैरहेको छ, रोपाइँको लागि पानीको स्रोत बढेपछि रोपाइँ गर्न कृषकलाई भ्याइ–नभ्याई भएको छ, तल्लो वेंशीको फाँटहरुमा अधिकांशमा मकै खेती भएकाले पनि रोपाइँ केही पछि धकेलिन्छ‚’ उनले भने। 

जिल्लाको अधिकांश कृषकहरु सिँचाइ अभावमा खेत रोपाइँको लागि वर्षामै भर पर्नुपर्ने बाध्यता रहेको छ। मूल फुट्ने गरि वर्षा नभएसम्म रोपाइँ थाल्न नसकिने किसानहरुको भनाई छ। 

केही वर्षअघिसम्म जेठको अन्तिमबाट नै धान रोपाइँ हुने गरेकोमा अहिले मध्य असारमा समेत धमाधम धान रोपाइँ हुन नसकेको कृषकहरूको भनाइ छ।

जिल्लामा जम्मा १ हजार ६८० हेक्टर जमिनमा मात्रै बाह्रैमहिना सिँचाइको पहुँच पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ। जिल्लाको उच्च पहाडी केही भागबाहेक अधिकांश क्षेत्रमा धान खेती हुँदै आएको छ।

कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरण सिग्देलका अनुसार जिल्लाको ३ हजार ८९० हेक्टर क्षेत्रफलको जमिनमा धान रोपाइँ हुने गरेको छ।

त्यसमध्ये आजसम्म जम्मा करिब १२ प्रतिशत जग्गामा मात्र रोपाइँ भएको उनले बताए। ज्ञान केन्द्रका प्रमुख सिग्देलका अनुसार गत वर्ष यही समयमा ४० प्रतिशत खेतीयोग्य भूभागमा धान खेती भएको थियो।

यो वर्ष पर्याप्त वर्षा नहुँदा धान खेतीका लागि आवश्यक पानीको जोहो हुन सकेको छैन। नेपालमा एक साताअघिदेखि नै मनसुन सुरु भए पनि म्याग्दीमा हालसम्म पर्याप्त पानी परेको छैन। 

पानी नपर्दा पानीका मुहान सुकेर कुलो तथा नहरमा पानी बगेको छैन। यसले म्याग्दीका धान खेती गर्ने किसानले समयमै धान रोप्न नपाउने हो कि भन्ने चिन्ता गर्न थालेका छन्। 

यो वर्ष पानी नपरेकाले धान रोपाइँमा ढिलाइ भएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सिग्देलले बताए। ‘यो वर्ष पानी राम्रोसँग परेको छैन‚’ उनले भने‚ ‘किसानका धानको ब्याड छिप्पिएको छ। पानी नपर्दा कतिपय स्थानमा अझै ब्याड राख्न बाँकी छ।’ 

म्याग्दीमा गौरी, जेठो बुढो, जर्नेली, पहेंले, मार्सी, ताकमारे, भट्टे र छमरुङ, माछापुच्छ्रे, अन्नपूर्ण-३, खुमल-४, खुमल-१०, लुम्ले-२ लगायतका उन्नत जातका धानको खेती हुने गर्छ। लेकाली क्षेत्रका कृषकले भिरालो जमिनमा गर्न सकिने र सिँचाइ आवश्यक नपर्ने घैया जातको धानखेतीसमेत हुन्छ।

प्रतिकूल मौसमका कारण यस वर्ष मकै उत्पादन पनि घट्ने अनुमान छ। यस वर्ष ९ हजार ४३५ हेक्टर क्षेत्रफलमा मकैखेती गरिएको छ। गत वर्ष ३२ हजार २०० मेट्रिक टन मकै उत्पादन भएको थियो। मकै म्याग्दीमा सबैभन्दा धेरै खेती हुने बाली हो। 

मकै खेती भएका बगरफाँट, सिंगा र पुलाचारका फाँटमा अझै धान रोप्ने समय भए पनि मकै खेती नभएका फाँटमा भने धान रोप्न ढिलाइ भएको किसानको भनाइ छ। 

समयमै धान रोप्न नपाउँदा धानको उत्पादन घट्ने किसानको भनाइ छ। यो वर्ष समयमै पानी पनि नपर्ने र मल पनि नपाउने समस्याले धान उत्पादन घट्न सक्ने बगरफाँटका कृषक भीमबहादुर रिजालले बताए। ‘समयमा मल पनि नपाउने र समयमा धान रोप्न नपाउने समस्याले उत्पादन घट्न सक्छ,’ रिजालले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.