|
तस्वीर : शिला तिमिल्सिना ।

अञ्जु कार्की

सोलुखुम्बु : मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका ६ जनाकै शव काठमाडौं लगिएको छ। पहिलो हेलिकप्टरमा ४ जनाको शव लगिएको थियो। दोस्रो हेलिकप्टरमा दुई शवसहित ६ जनाकै शव काठमाडौं लगिएको हो।

त्रिभुवन विमानस्थल कार्यालयका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार शव लिएर गएका दुवै हेलिकप्टर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल‚ महाराजगञ्कोजको हेलिप्याडमा अवतरण गरेका थिए।

खोजी तथा उद्धारका लागि नेपाली सेना, प्रहरी र काठमाडौँबाट अल्टिट्युड एअरको हेलिकप्टर परिचालन गरिएको थियो। 

सोलुखुम्बुमा हेलिकप्टर दुर्घटनामा परी त्यसमा सवार ६ जनाकै ज्यान गएको थियो। हेलिकप्टरमा रहेका ६ जनामध्ये पाँचजनाको शव र एकजनाको शरीरका टुक्रा भेटिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले जानकारी दिए।

सोलुखुम्बुबाट काठमाडौँका लागि उडेको मनाङ एअरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको लामोजुरा क्षेत्रमा दुर्घटनामा परेको थियो। हेलिकप्टरमा एकजना पाइलट र पाँचजना यात्रु रहेका थिए।

पाइलट नेपाली नागरिक हुन् भने यात्रु सबै मेक्सिकोका नागरिक रहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए। यात्रुमध्ये तीनजना महिला र दुईजना पुरुष थिए।

दुर्घटनामा ज्यान गुमाउनेमा पाइलट चेतबहादुर गुरुङसहित मेक्सिकन यात्रुहरू सिफुएन्तेस जी फेर्नादो, रिङ्कोन इस्माइन, सिफुएन्तेस जी मारिया होसे, गोन्जालेस ओलासियो लुस र गोन्जालेस एब्रिक रहेका छन्। हेलिकप्टर रूखमा ठोक्किएको देखिएको पनि सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए।

बिहान १० बजेर ५ मिनेटमा सोलुखुम्बुबाट उडेको हेलिकप्टर १० बजेर १३ मिनेटपछि सम्पर्कविहीन भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.