|

बैतडी : बैतडीको मेलौलीमा ४६ जना सवार बस दुर्घटनाका गम्भीर घाइते १० जनाको अझै उपचार भइरहेको छ। पञ्चेश्वरबाट महेन्द्रनगर जाँदै गरेको लु २ ख २०११ नम्बरको पवनदूत यातायातको बस सोमबार दिउँसो १ बजे मेलौली नगरपालिका ७ स्वाखानीमा दुर्घटनामा परेको थियो।

दुर्घटनामा परेर एकजनाको मृत्यु भएको थियो भने ४५ जना घाइते भएका थिए। पञ्चेश्वर गाउँपालिका–६ रन्तोलीका २७ वर्षीय उमेश भण्डारीको केशरपुर प्राथमिक स्वास्थ्यकेन्द्र मेलौलीमा सोमबार मृत्यु भएको हो।

घाइते ४५ जनामध्ये गम्भीर अवस्थामा रहेका १० जना अझै उपचाररत रहेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

गम्भीर अवस्थामा रहेका एकजनाको धनगढीमा पनि उपचार हुन नसकेपछि बरेली रेफर गरिएको छ। चारजना डडेल्धुरा अस्पताल र पाँचजना धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचाररत रहेका प्रवक्ता खत्रीले बताए।

चालक पञ्चेश्वर गाउँपालिका–६ का ३५ वर्षीय देवसिंह भण्डारीलाई बरेली पठाइएको छ। गोरख साउद, मानवीर साउद, संगीता रावत, दीपिका भट्ट, बिसन भट्टको धनगढीमा र कृष्णा शाही, खड्कबहादुर चन्द, सेतु चन्द र विनोद दमाईंको डडेल्धुरामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

उपचाररत सबै गम्भीर अवस्थामा रहे पनि खतरामुक्त रहेको प्रवक्ता खत्रीले बताए।

ओरालो सडकमा अनियन्त्रित भएर दुर्घटनामा परेको बस रूखमा अड्किएको छ। घटनाबारे जिल्ला प्रहरी कार्यालय बैतडीले अनुसन्धान गरिरहेको जनाएको छ

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.