|

दैलेख : जिल्लाको नारायण नगरपालिका–२ जाहारकोटका सर्वराज भण्डारी तरकारी खेती गर्न थालेको झण्डै दुई दशक बित्यो। उमेरले ६० नाघेका उनको परिवारको आम्दानीको स्रोत तरकारी खेती हो।

सरकारी जागिरे हुँदै विभिन्न संस्थामा रोजगारी गरेका भण्डारीको ११ जनाको परिवार छ। बिहान हुनेबित्तिकै उनको सबै परिवार तरकारीबारीमा व्यस्त हुन्छ। व्यावसायिक तरकारी खेतीमा लागेको भण्डारीको परिवारले वर्षमा करिब ८ लाख रुपैयाँको तरकारी बेच्दै आएको छ।

२०३५ सालमा सरकारी जागिरमा प्रवेश गरेका भण्डारी २०३८ पछि ०४१ सम्म जाजरकोट मालपोतमा मुखिया रहे। २०५६ सम्म विभिन्न संस्थामा रोजगारी गरेका भण्डारीले माओवादी द्वन्द्वका कारण २०५६ पछि बाध्यताले तरकारी पेशामा होमिएको बताए।

माओवादी द्वन्द्वका कारण रोजगारी छोड्नु परेसँगै छोराछोरी पढाउन र परिवारको गर्जो टार्ने उपायमा तरकारी खेतीमा लागेको उनको भनाइ छ। उनले अहिले तरकारीबाट हुने आम्दानीले पाँचजना पढाउँदै घरखर्चको जोहो हुँदै आएको बताए।

उनले भने, ‘एक छोरी आइएस्सीएजी पढ्दै छे। अर्की छोरी आईएड पास गरेर बीएड पढ्ने तयारीमा छ। दुई नातिनी, र एक नाति माध्यमिक शिक्षा पढ्दै छन्। सबैको खर्चको जोहोसँगै पाँचजनालाई पढाउने पैसा तरकारी बेची हुन्छ।’

केही वर्ष अघिसम्म वर्षमा करिब ११ लाख रुपैयाँसम्मको तरकारी बेच्दै आएका भण्डारी पछिल्ला वर्षमा उत्पादनमा कमी आउन थालेको बताउँछन्। ‘केही वर्षअघिसम्म वर्षमा ११ लाख रुपैयाँसम्मको तरकारी बिक्री हुन्थ्यो। अहिले उत्पादन घटेको छ, माटोको उर्वरा शक्तिमा कमी आएको हुनसक्छ’, भण्डारीले भने।

भण्डारी जस्तै व्यावसायिक तरकारी खेतीमा होमिएकी नारायण–२ जाहारकोटकी मानकुमारी थापा एकल महिला हुन्। उनका श्रीमानको मृत्यु भएको करिब २५ वर्ष पुग्यो। केही वर्ष अघिसम्म आफूले खाने र बचेको तरकारी बेच्ने गरेकी उनी व्यावसायिक तरकारी खेतीमा लागेको तीन वर्ष पुग्यो।

मानकुमारीले असारको महिनामा मात्र तरकारी बिक्री गरी १ लाख बढी रुपैयाँ आम्दानी गरेको बताइन्। उनले तरकारी बेचेर आएको आम्दानीले घर खर्चसँगै आफूलाई चाहिने अन्य सामान खरिद गर्दै आएको बताइन्। पछिल्लो समय तरकारीले मूल्य पाउन थालेपछि आफूहरूलाई राहत हुने गरेको नारायण–२ का किसानहरू बताउँछन्।

व्यावसायिक कृषिमा वडाध्यक्ष

नारायण नगरपालिका–२ का वडाध्यक्ष रेशमबहादुर थापा व्यावसायिक कृषिमा होमिएका जनप्रतिनिधि हुन्। उनले आफ्नै बारीमा उत्पादित तरकारी बेची वर्षमा ८ लाखभन्दा बढी आम्दानी गर्दै आएका छन्।

बिहान हुनेबित्तिकै तरकारी बारीमा व्यस्त हुने वडाध्यक्ष थापाले मासिक न्यूनतम ३० हजारभन्दा बढीको तरकारी सहकारीमार्फत बेच्दै आएको बताए। उनले जनप्रतिनिधि व्यावसायिक बन्नुपर्ने धारणा राखे।

‘१० देखि ५ बजेसम्म जनताको सेवामा व्यस्त हुन्छु, बचेको समय तरकारी खेतीमा दिएर मासिक न्यूनतम ३० हजारभन्दा बढी आम्दानी गर्दै आएको छु’, वडाध्यक्ष थापाले भने।

उनले जनप्रतिनिधि आत्मनिर्भर हुँदै कामको खोजीमा विदेश जाने युवालाई आफ्नै ठाउँमा रोजगारी सिर्जना गर्नेतर्फ लाग्नुपर्ने बताए। वडाध्यक्ष थापाले सञ्चालन गरेको कृषि फर्ममा अहिले ८ जनाले रोजगारी गर्दै आएका छन्।

नारायण–२ जाहारकोटमा रहेको कृतिदेवल बहुउद्देश्य कृषक सहकारी संस्थाले उत्पादन भएको तरकारी सहजै खरिद गर्ने गरेकाले किसानलाई सहज भएको उनले बताए। ‘किसानको सहजताका लागि नगरपालिका र सहकारीको साझेदारीमा तरकारी बोक्ने गाडीको व्यवस्था गरिएको छ। तरकारी सङ्कलन केन्द्रको निर्माण गरेका छौँ’, वडाध्यक्ष थापाले भने।

डोकोमा डुलाउनुपर्ने बाध्यता हट्यो

एक वर्ष अघिसम्म तरकारी बिक्रीका लागि डोकोमा बजार डुलाउनुपर्ने बाध्यतामा रहेकी नारायण–२ जाहारकोटकी मानकुमारी थापालाई अहिले बजार डुल्नुपर्ने बाध्यता हटेको छ।

स्थानीय कृतिदेवल बहुउद्देश्य कृषक सहकारी संस्थाले किसानहरूले उत्पादन गरेको तरकारी खरिद गरी बेच्ने गरेकाले मानकुमारी मात्र नभई जाहारकोटका सबै किसानलाई सहज भएको हो।

आफ्नै ठाउँमा सञ्चालनमा आएको सहकारीले तरकारी खरिद गरिदिने गरेकाले राहत भएको किसानहरू बताउँछन्। किसानलाई सहकारीले उचित मूल्य दिई तरकारी खरिद गर्ने गरेको सहकारीका अध्यक्ष दीपककुमार थापाले बताए। उनले उत्पादनका आधारमा सहकारीले किसानको बारीमा पुगेर तरकारी खरिद गर्दै बेच्दै गरेको बताए।

उनले सहकारीमार्फत नारायण–२ जाहारकोटमा उत्पादन भएको तरकारी दैलेख सदरमुकाम लगायतका बजारमा बिक्री गर्दै पछिल्लो समय सुर्खेतसम्म निर्यात हुँदै आएको बताए।

५१ लाख बढीको तरकारी बिक्री

नारायण नगरपालिका–२ जाहारकोटमा सञ्चालनमा रहेको कृतिदेवल बहुउद्देश्य कृषक सहकारी संस्थाले जेठ मसान्तसम्म (११ महिना) मा किसानबाट खरिद गरी ५१ लाख ३५० रुपैयाँको तरकारी बेचेको जनाएको छ।

सहकारीका व्यवस्थापक रोहितकुमार भण्डारीले सहकारीमार्फत ११ महिनाको अवधिमा ५१ लाखभन्दा बढीको तरकारी बेचेको बताए। उनले असारको तरकारी संकलन गरी महिनामा सहकारीमार्फत १० लाखको तरकारी बेच्ने लक्ष्य रहेको बताए।

सहकारीमा १ सयजना किसानको तरकारी संकलन हुने गरेको व्यवस्थापक रोहित भण्डारीले बताए। उनले सहकारीमा तरकारी ल्याउने १ सयजना किसानमध्ये ४० जनाले सहकारीमार्फत मासिक न्यूनतम ३० हजार रुपैयाँ बुझ्ने गरेको बताए।

किसानहरूलाई सहकारीसम्म तरकारी पुर्‍याउन सहजताका लागि नारायण नगरपालिका र कृतिदेवल बहुउद्देश्यीय कृषक सहकारी संस्थाको साझेदारीमा गाडीको व्यवस्थापन गरिएको नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्माले बताए। उनले किसानलाई तरकारी खेतीमा आत्मनिर्भर बनाउन स्थानीय सरकारले किसानमुखी विभिन्न काम गर्दै आएको बताए।

नगरपालिका कृषि शाखा प्रमुख खेमराज शर्माले किसानहरूलाई उत्पादनदेखि बजारीकरणसम्मको काम नगरपालिकाले गर्दै आएको बताए। नारायण–२ का किसानलाई तरकारी खेतीमा आत्मनिर्भर बनाउन नगरपालिकाले यस वर्ष ६ लाख रुपैयाँ अनुदानमा सहयोग गरेको शर्माले बताए।

‘तरकारी संकलनका लागि दुईवटा चिस्यान केन्द्र निर्माण गरेका छौं। यो वर्ष तरकारी पकेट केन्द्र सञ्चालनका लागि २ लाख र सहकारीलाई अनुदान ४ लाख गरी ६ लाख रुपैयाँ सहयोग गरेका छौँ’, कृषि शाखा प्रमुख शर्माले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.