|

पर्वत : जिल्लाको कुश्मा नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सहकारीबाट ऋण लगेर नतिरेकालाई तिर्न ताकेता गरेको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलद्वारा जारी सूचनामा कुश्मा नगरपालिका क्षेत्रभित्रका सहकारी संस्थाबाट ऋण लगेका ऋणीले आफूले लगेको ऋणको साँवाब्याज र हर्जाना समेत चुक्ता गर्न भनिएको छ।

सहकारीबाट ऋण लगेका सहकारी संस्थाका ऋणी सदस्यहरूले आफ्नो संस्थामा सम्पर्क गरी नियमानुसार नतिरेको अवस्थामा प्रचलित सहकारी ऐन तथा नियमावली र संस्थाको स्वीकृत विनियम बमोजिम कारबाही गर्ने चेतावनी पनि दिइएको छ।

संस्थामा आबद्ध शेयर सदस्यहरूले नियमानुसार ऋण लगी तोकिएको समयावधिभित्र साँवाब्याज र हर्जाना समेत भुक्तानी नगर्दा बचतकर्ताको बचत फिर्ता गर्न रकम अभाव हुनुका साथै सहकारी क्षेत्र बदनाम हुन सक्ने खतरा देखिएको उल्लेख छ।

यसअघि जिल्लाको जलजला गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सहकारीबाट ऋण लिएका व्यक्तिलाई तिर्नुपर्ने मितिमा कर्जा र त्यसको ब्याज तिर्न अनुरोध गरिसकेको छ।

जिल्ला सहकारी संघ कुश्माले ऋणीले समयमै कर्जा र ब्याज नतिर्दा सहकारी संस्थाहरू समस्यामा परेको र बचतकर्तालाई समेत असर परेकाले जलजला गाउँपालिकामा रहेका सहकारीका ऋणीहरूलाई रकम चुक्ता गरिदिन निर्देशन दिन अनुरोध गरेको थियो।

सहकारीका सदस्यहरूले तोकिएको म्यादभित्र नियमित किस्ता, ऋणको साँवाब्याज नबुझाउँदा सहकारी संस्था समस्यामा पर्ने भन्दै कुश्मा र जलजलाले रकम चुक्ता गर्न आह्वान गरेका हुन्।

सहकारीबाट ऋण लिई नियमित रूपमा किस्ता नबुझाउने, म्यादभित्र ऋणको साँवाब्याज नबुझाउने ऋणीले आफ्नो संस्थाको सम्पर्कमा आई ऋण तिर्ने बुझाउन, सञ्चालक समितिसँग आवश्यक छलफल गर्ने, आफूले लिएको ऋणको किस्ता नियमित गर्ने ऋणको साँवाब्याज तोकिएको म्यादभित्र बुझाई आफू जस्तै अन्य सदस्यहरूको बचत रकम फिर्तामा सहयोग गरी आफ्ना सहकारी संस्थालाई समस्याग्रस्त हुनबाट बचाउन गाउँपालिकाले अनुरोध गरेको छ।

सहकारी संस्थाहरूले एकैपटक कर्जा, किस्ता र ब्याज असुली गर्दा धेरै रकम बुझाउनुपर्ने सहकारीका सञ्चालकहरू बताउँछन्।

सहकारी वा अन्य वित्तीय संस्थाबाट लिएको कर्जा नतिर्ने भनी कतिपयले अभियान चलाउने भन्दै प्रचारबाजी गरेपछि कतिपय वित्तीय संस्थाले समस्या भोगिरहेका छन्। कोभिड–१९ का कारण वित्तीय संस्था पनि आर्थिक कारोबारको समस्यामा परे भने नागरिकले पनि समस्या भोग्दै आइरहेका छन्।

त्यसमा पनि ऋण तिर्न नसकेकै कारण आत्मदाह र आत्महत्या गरेका घटना बढेपछि वित्तीय संस्थाको आर्थिक कारोबारमा झनै समस्या भइरहेको छ।

कर्जाको किस्ता वा ब्याज जसोतसो तिर्दै आएका ऋणीले पनि यही शून्य अवस्थाको मौका छोपेर साँवाब्याज तिर्न मौनता देखाइरहेका छन्। यही वेला फेरि सहकारीका सञ्चालकहरू ठूलो रकम हिनामिना गर्दै फरार हुन थालेपछि पनि बचतकर्ताहरू समेत समस्यामा पर्दै आइरहेका छन्।

सहकारीहरूमा देखिएको आर्थिक हिनामिनाको मौका छोपेर वित्तीय संस्थामा ऋण चुक्ता गर्न नखोज्ने पनि भेटिने गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.