भन्छन्- आन्दोलन पनि गर्ने हो, चुनाव पनि लड्ने हो

|

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले असार १४ गते हुने दोस्रो चरणको निर्वाचन पनि बहिस्कार गरेको छ। ऊ निर्वाचन बिथोल्ने आन्दोलनमा छ। तर निर्वाचनमा सहभागी नहुने निर्णयले राजपाभित्र अन्तरविरोध सिर्जना गरेको छ। मूल नेतृत्वमा चुनावमा जाने/नजानेमा विरोधाभाष त देखियो नै कार्यकर्ता तहमा पनि नेतृत्वले चुनाव बहिस्कार गरेर गलत गर्‍यो भन्ने प्रष्ट संकेत देखियो। यसको एउटा उदाहरण हो ५ नम्बर प्रदेशका रुपन्देही र कपिलवस्तु जिल्लामा राजपाका स्थानीय नेताहरूले दिएको उम्मेदवारी। रुपन्देहीका ४ वटा स्थानीय तहमा राजपाका नेताहरूले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् भने कपिलवस्तुमा पनि ४ वटा स्थानीय तहमा राजपा नेताहरूले उम्मेदवारी दर्ता गरेका छन्। 

थाहा सञ्चार नेटवर्कका दीपेन्द्र कुँवरले स्वतन्त्र उम्मेदवारी दिएका राजपाका दुई नेतासँग कुराकानी गरेका छन्। रामदास गुप्ताले कपिलवस्तु नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका छन् भने मनमोहन चौधरी लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुखको उम्मेदवार बनेका छन्। उनीहरूको भनाई जस्ताको तस्तै-


रामदास गुप्ता

कपिलवस्तु नगरपालिका प्रमुखका उम्मेदवार

म किन उम्मेदवार बनेँ?

मैले कपिलवस्तुमा ५ पटक चुनाव जितेको छु। यहाँका जनताको मनोभावना छ कि तपाईँ आएर सेवा गर्नुस्। पार्टीले चुनाव बहिस्कार गर्ने निर्णय गरेपछि मैले पार्टीबाट राजीनामा दिएर चुनावमा उम्मेदवारी दिएको हुँ। एउटा संगठनकर्ताको दृष्टिकोण मैले सोचेँ कि यो बन्द, हड्ताल र जुलुस गरेर केही हुनेवाला छैन। बरु जनताले रुचाउँछ र पठाउँछ भने त्यो पदमा आएर जनताको सेवा गर्छु। मेरा केही अधुरा कामहरू पनि थिए। त्यो पनि म चुनाव जितेपछि पूरा गर्छु। मैले जनताको दवावका कारण चुनावमा उठेको हुँ। 

जनताको दबाब छ तर नेतृत्वले जवाफ दिएन

मैले जिल्ला स्तरका नेताहरूलाई जनताले चुनाव चाहेका छन्, चुनावमा सहभागी होउँ भनेको हुँ। उहाँहरूले केन्द्रमा कुरा गर्नुभयो वा भएन जवाफ दिनुभएन। मैले उहाँहरूलाई भनेँ कि मैले उम्मेदवारी दर्ता गरिसकेँ, म चुनाव लड्छु। हामी जनतालाई लिएर लामो समयदेखि संघर्ष गरिरहेका छौँ। बन्द हड्ताल गरिरहेका छौँ।

यसबाट पब्लिकलाई पनि नोक्सान भयो। हामीलाई पनि कुनै उपलब्धि भएन। त्यसकारण जितेर जनताको प्रतिनिधि भएपछि जनताको पक्षमा काम गर्न सक्छु कि भनेर चुनावमा सहभगी भएको हुँ। मेरा पुराना योजनाहरू पनि बाँकी थिए। यहाँ पर्यटन र कृषिको राम्रो सम्भावना छ। त्यसकारण मेरा अधुरा काम पूरा गर्ने मौका जनताले दिए भने अब बाँकी रहेको जीवन पनि जनताको सेवामा लगाउँछु। 

म जनताको बीचमा थिएँ। उनीहरूले चुनावमा भाग लिन प्रेसर गरे। पार्टीले संघर्षमा जानुस् भन्यो तर मैले रुचाइनँ। जनताको रुची अनुसार मैले उम्मेदवारी दिएँ। मलाई फकाउन १/२ जना आएका थिए। मैले भनेँ कि पब्लिकबाट प्रेसर छ, म पब्लिकको साथमा जीवन बिताएको छु ३२ वर्ष, मेरो इच्छा पनि त्यही छ, मलाई प्रेसर नगर्नुस्। 

संविधानले केही पनि नदिएको होइन। तर जे पाउनुपर्थ्यो त्यो पूर्ण भएन। यति समयदेखि मधेसी जनता संघर्षमा छन् तर सरकारले उनीहरूलाई सुनेन। घाइतेहरुलाई उपचार गर्न सकेन। मुद्दा लगाएकाहरुमाथिको मुद्दा फिर्ता लिन सकेन। सरकारको के विश्वास गर्ने? 

अधुरा काम

मेरो कार्यकालमा थालेका अधिकांश काम अधुरै छन्। मैले जे अधुरै छोडेको थिएँ त्यो पूरा गर्छु। हाम्रो बेलामा पर्याप्त बजेट थिएन। मेरा अल्पकालीन र दीर्घकालीन योजनाहरू थिए। रिङरोडको परिकल्पना गरेको थिएँ। ती कामहरु त्यसै छन्। जनतालाई खाने पानीको सुविधा छैन। मानिसहरु पलायन भैरहेका छन्।

उनीहरूलाई रोजगारीको केही व्यवस्था गर्न सकिन्छ कि भनेर चुनावमा होमिएको छु। बजेटमात्र होइन, स्थानीय तहमा पावर छ, अधिकार छ। हामी आफ्नो कानुन बनाउन सक्छौँ। आफ्ना योजनाहरू बनाउन सक्छौँ। अधिकारसम्पन्न स्थानीय तहहरु बनेका छन्। सिंहदरबारको अधिकार गाउँमा आएको छ। त्यो अधिकार प्रयोग गरेर जनताको काम गर्न सकिन्छ। 

प्राथमिकता

पहिलो काम म सरसफाईको गर्छु। गास, बास र कपासमा ध्यान दिन्छु। त्यसपछि बाटोघाटो, स्वास्थ्य, पर्यटनमा काम गर्छु। यो बुद्ध भूमि हो। कृषिमा पनि विकास गर्न सक्छौँ। विदेशिएका जनतालाई रोजगारीको व्यवस्था गर्न सकिन्छ। जनतासँग प्रेम नभएको भए मलाई ५ पटकसम्म जनताले जिताउने थिएनन्। जनताले भोट दिए भने काम गर्छु। मैले आफ्नो लागि यो सब गरिरहेको छैन, जनताको लागि काम गरिरहेको छु। मलाई विश्वास छ कि राजपाका नेता कार्यकर्ताले पनि मलाई सहयोग गर्छन्। 


मनमोहन चौधरी

लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुखका उम्मेदवार

म किन चुनावमा उठेँ?

लुम्बिनी सांस्कृतिक नगरपालिका महत्वपूर्ण नगरपालिका हो। तर यो पिछडिएको छ। नगरपालिकाको विकासको लागि राम्रो मान्छे आउनुपर्छ भन्ने जनताको चाहना छ। मैले कार्यकर्ता र जनताको भावना बुझेर उम्मेदवारी दिएको छु। जबसम्म माग पूरा हुँदैन, पार्टीको आन्दोलन जारी नै रहन्छ। चुनाव पनि आन्दोलनकै एउटा रुप हो। जनताहरूको भावना थियो कि उम्मेदवारी दिनुस्, हामी तपाईँको साथमा छौँ। आन्दोलन भन्नुहुन्छ भने हामी आन्दोलनमा जान्छौँ। सबैको मानसम्मान गर्नुपर्छ। जनताभन्दा माथि त हामी होइनौँ। आन्दोलन एक्लै गरेर हुँदैन, भोलि जनता चाहिन्छ।

मैले चुनाव लड्न लागेको कुरा नेताहरूलाई भनेको छैन। म जनताको काम गर्छु, विकासको काम गर्छु। सबै अधिकार स्थानीय तहलाई दिएको छ। जनतालाई जुनसुकै बेला तपाईँहरूलाई साथ दिन तयार छु। आन्दोलन पनि छँदैछ। 

ममाथि कारबाही हुन सक्छ

जनताले यहाँ को कस्तो मान्छे छ सबै बुझेका छन्। उनीहरुले भनेका छन् कि हामीलाई राम्रो मान्छे चाहिन्छ तपाईँ उम्मेदवारी दिनुहुन्न भने हामी मर्कामा पर्छौँ। त्यसैले मैले उम्मेदवारी दिएको। पार्टीका मान्छेले पनि मलाई सहयोग गर्छु भनेका छन्। 

तर मैले पार्टी निर्णय विपरीत काम गरेको छु। ममाथि कारबाही हुन पनि सक्छ। त्यसको लागि म तयार छु। सांसदहरूकै हेर्नुस् उता सरकारमा समर्थन दिएका छन्, आन्दोलनमा पनि लागेका छन्। मैले त यसलाई राम्रो मानेको छु। सरकारमा त गएका छैनन् नि। तर बाहिर बसेर भन्दा समर्थन गरेर कुरा बुझ्न सकिन्छ।  

मेरा प्राथमिकता

मेरो प्राथमिकतामा शिक्षा, स्वास्थ्य र पर्यटन हो। यो लुम्बिनी क्षेत्र हो, यहाँ पर्यटनको निकै सम्भावना छ। शान्तिसुरक्षा र खानेपानी मेरो प्राथमिकतामा छन्। सडक, कृषि र विद्युतमा पनि सुधार गर्नुछ।

रामदास र मनमोहनको अन्तर्वार्ता सुन्नुस्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.