|

बैतडी : बैतडीको पाटन नगरपालिका-४ चिल्लेपानीमा भाइरल हेपाटाइटिस फैलिएको छ। यहाँ भाइरल हेपाटाइटिसबाट १९ जना बिरामी भएका छन्। 

एकै घरका ३ जना बालबालिकामा भाइरल हेपाटाइटिस भेटिएपछि गाउँमा परीक्षण गर्दा थप १६ जना भाइरल हेपाटाइटिसका बिरामी भेटिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। 

भाइरल हेपाटाइटिस देखिएका ३ जना बालबालिकामध्ये एकजनालाई थप उपचारका लागि धनगढी पठाइएको छ भने २ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको भट्टले बताए। गाउँका ३ बालबालिका उपचारको लागि जिल्ला अस्पताल आउँदा भाइरल हेपाटाइटिस देखिएको हो। 

उनले भने, ‘उपचारका लागि आएका बालबालिकामा भाइरल हेपाटाइटिस पुष्टि भएपछि गाउँमै गएर परीक्षण गरिएको हो। जसमा थप १६ जनामा भाइरल हेपाटाइटिस पुष्टि भएको छ।’ 

स्वास्थ्य कार्यालय र पाटन नगरपालिकाले संयुक्त रुपमा भाइरल हेपाटाइटिसका बिरामीहरुको खोजी गरिरहेको हो। भाइरल हेपाटाइटिस प्रकोपको रुपमा नफैलियोस् भनेर बिरामीहरुको खोजी गरी उपचार गर्न लागेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ। 

दूषित पानी र खानपानलगायतका कारण भाइरल हेपाटाइटिस हुने गर्छ। भाइरल हेपाटाइटिस भएका बिरामीहरुमा ज्वरो आउने, पेट दुख्ने, बान्ता हुने, खान मन नलाग्ने, जण्डिस हुने, पिसाबमा रगत देखिनेलगायत लक्षणहरु देखा पर्छन्। 

यो रोगबाट बच्नका लागि शुद्धीकरण गरेको पानीमात्रै प्रयोग गर्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन्। 

मुहानको पानी परीक्षणका लागि संकलन

​नगरपालिकाको वडा नं ४ मा हेपाटाइटिसका बिरामी भेटिएपछि सो ठाउँमा रहेका खानेपानीका मुहानको पानी परीक्षणका लागि संकलनसमेत गरिएको स्वास्थ्य  कार्यालयका प्रमुख भट्टले बताए। उनले भने, ‘हेपाटाइटिस देखिएपछि गाउँमा रहेका मुहानहरुको पानी परीक्षणका लागि संकलन गरेका छौं।’

यसअघि नमूनाका रुपमा यहाँका खानेपानीका मुहानहरुको पानी परीक्षण गर्दा ५० दशमलव ८ प्रतिशत मुहानको पानीमा दिसामा हुने ‘कोलिफर्म’ किटाणु भेटिएको थियो। 

जिल्लाका सबै स्थानीय तहहरुका नागरिकले नियमित रुपमा प्रयोग गर्दै आएका खानेपानीका मुहान, धारा र ट्याङ्कीबाट नमूना संकलन गरि परीक्षण गर्दा दिसामा हुने कीटाणु कोलिफर्म भेटिएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.