|

म्याग्दी : गएको शनिबार रातिदेखि अवरुद्ध कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम सडकखण्डमा सोमबार साँझसम्म पनि यातायात सञ्चालन हुन सकेको छैन।

शनिबार परेको अविरल वर्षाले आएको पहिरोका कारण बेनी–जोमसोम सडकखण्डअन्तर्गत म्याग्दीको बैसरीमा सडक अवरुद्ध भएको हो। रघुगङ्गा गाउँपालिका–३ बैसरीमा सडक माथिबाट खसेको पहिरोले सडक अवरुद्ध भएको म्याग्दी प्रहरीले जनाएको छ।

वर्षाले गर्दा नियमित रुपमा पहिरो झर्दा यातायात सञ्चालन हुन नसक्दा मुस्ताङ जाने र मुस्ताङबाट फर्कने पर्यटक, तीर्थयात्री र सवारीसाधनहरुलाई समस्या भएको मुस्ताङबाट बेनी फर्कंदै गरेका कृष्ण शर्माले बताए। ​रघुगङ्गा गाउँपालिका–१ र २ को सिमानाबाट झरेको पहिरोले रघुगङ्गा–३ बैसरीमा सडक अवरुद्ध भएको उनले बताए।

बैसरीमा दैनिकजसो खस्ने पहिरोले बेनी–जोमसोम सडकखण्डमा यातायात प्रभावित हुने गरेको छ। सडक माथिबाट पहिरो निरन्तर खस्न थालेपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकमा दिनहुँजसो यातायात बन्द हुने गरेको हो।

सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका सर्वसाधारणका साथै तीर्थयात्री र पर्यटकले सास्ती लामो समय सडकमै बस्नुपरेको छ भने समयमा गन्तव्यमा पुग्न पाएका छैनन्।

सडक माथिको करिब ४ सय मिटर चौडा र ५ सय मिटर लामो पाखोबाट पहिरो खसिरहेको छ। पाखोबाट खस्ने ढुङ्गा र पहिरोले गुडिरहेका सवारीसाधनलाई क्षति पुग्ने, यात्रुलाई चोटपटक लाग्ने गरेको छ। गत वर्षदेखि बैसरीमा पहिरो खस्न सुरु गरेको हो।

वैकल्पिक सडक स्तरोन्नतिमा ध्यान नदिँदा ठूला सवारीसाधन पहिरोले रोकिनुपर्ने अवस्था छ भने जीप र मोटरसाइकलले बैसरी–रिसिनचौतारी–पिप्ले–घुमाउने ताल जोड्ने सडक प्रयोग गर्न थालेका छन्।

वैकल्पिक सडक जीर्ण, साँघुरो र जोखिमयुक्त छ। कूल ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सीधा यातायात सञ्चालन नहुँदा आवतजावत र कृषि उपज निकासी प्रभावित भएको छ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले भिरमाथिको पाखो भूमिगत पानी र पहिरोले चिराचिरा भएर सडकमा पहिरो खसिरहने हुँदा जोखिमका साथै सडक अवरुद्ध हुने गरेको बताए।

सडकमा थुप्रिने पहिरो डोजरको सहायताले कालीगण्डकीमा खसालेर पन्छाउने गरिएको छ। बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिको नेतृत्वमा केही दिनअघि भूमिगत पानी पाइपबाट बगाएर पहिरो रोकथामको प्रयास भए पनि सफल भएको छैन।

आकाशबाट पानी पर्नेबित्तिकै पहिरो चल्ने र सडकमा खस्ने समस्या छ। तत्काललाई जोखिम न्यूनीकरणको उपाय, अवरुद्ध सडक खुलाउन डोजर तथा मजदुर परिचालनका साथै दीर्घकालीन समाधान गर्न माथिल्लो निकायमा पहल गर्ने आयोजना प्रमुख प्रजापतिले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.