|

म्याग्दी : गाउँमा रोजगारीको सम्भावना नदेखेपछि जिल्लाका अधिकांश युवा शहर हुँदै विदेश पलायन हुने क्रम बढ्दो छ।

युवा विदेशिन थालेपछि म्याग्दीका ग्रामीण बस्ती युवाविहीन भएका छन्। गाउँमै बसेर केही उद्यम गर्ने सोच बनाए पनि स्रोतसाधन जुटाउन नसक्दा गर्जो टार्न विदेशिनुपरेको उनीहरूको भनाइ छ।

मालिका गाउँपालिका–५ देविस्थानका प्रेमबहादुर बूढा अन्तरराष्ट्रिय युवा दिवस (आज) कतार उड्दै छन्। उनी चर्को ब्याजमा ऋण काढेर कतार जान लागेका हुन्।

बिरामी आमाको हेरचार गरी परिवारसँग बसेर काम गर्ने सोच बनाएका बेनी नगरपालिका–३ भकिम्लीका देवबहादुर घर्ती पनि युएई जान काठमाडौंमा छन्। साहुले ऋण पत्याएका युवा खाडी तथा अन्य युवा भारतका विभिन्न शहर जाने क्रम बढ्दो छ। यसले जिल्लाकै सबैजसो गाउँबस्तीको प्रतिनिधित्व गर्छन्।

गाउँमा युवा नहुँदा आपत् विपतका वेला निकै अप्ठ्यारो पर्ने गरेको बेनी नगरपालिका–२ बगरफाँटका ८७ वर्षीय वेदप्रसाद उपाध्यायले बताए। ‘गाउँमा सानोतिनो काम अह्राउन युवा भेटिन्नन्, मर्दापर्दा त झनै सकस पर्छ’, उनले भने।

म्याग्दीलाई लाहुरेको जिल्ला भनेर चिनिन्छ। बैंक तथा वित्तीय संस्थाहरूको तथ्यांकअनुसार यो जिल्लामा वार्षिक तीन अर्बभन्दा बढी विप्रेषण भित्रिने गर्छ। युवा पुस्ता विदेश लाग्दा चाडपर्व निरस हुँदै गएको बूढापाकाको भनाइ छ। अचेल गाउँमा नाचगान गर्ने, बिहेबटुलोमा काम सघाउने, बिरामी पर्दा अस्पताल पुर्‍याइदिने र मर्दा घाट पुर्‍याउने मान्छेको अभाव हुन थालेको छ।

युवा पुस्ता विदेश पलायन हुँदा खेतीपातीको काम प्रभावित भएको छ। मजदुर नपाउँदा बाली लगाउन नपाएकाले धेरैजसो जग्गा बाँझो रहेको छ। विदेश पलायन रोक्न नसके चाँडै जिल्लाको लघुउद्यम र कृषि क्षेत्र ठप्प हुने किसानको चिन्ता छ।

स्वदेशमा रोजगार पाउने अवस्था नआउँदा म्याग्दीबाट वैदेशिक रोजगारमा जानेहरू बढेका छन्। शैक्षिक, दक्ष र मजदुरसम्मका युवायुवती रोजगारको खोजीमा विदेश पलायन हुन थालेका हुन्। स्वदेशमा आत्मनिर्भर बन्ने तलब र सेवा सुविधाको अभावले पछिल्लो समय वैदेशिक रोजगारका लागि राहदानी लिने संख्या म्याग्दीमा बढेको हो।

जिल्ला प्रशासन कार्यालय म्याग्दीबाट वैदेशिक रोजगार, अध्ययन र विकसित देशमा पारिवारिक बसाइँसराइका लागि राहदानी लिनेको संख्या बढेको तथ्यांकमा देखिन्छ।

म्याग्दीमा कक्षा १२ सम्मको पढाइ सकेपछि राहदानी लिएर विदेश जाने युवायुवती बढ्न थालेका छन्। जिल्ला प्रशासन कार्यालय म्याग्दीमा नागरिकताभन्दा राहदानी बनाउने संख्या पछिल्लो समय बढी भेटिन्छन्। स्वदेशमा रोजगारीको अवसर नभएपछि युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य बनेका हुन्।

गत आर्थिक वर्षमा जिल्ला प्रशासनबाट ६ हजार १८० जनाले राहदानी लिएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ। आर्थिक वर्ष २०७८।०७९ मा ४ हजार ७४ जनाले राहदानीका लागि सिफारिस लिएका थिए। सहायक प्रमुख जिल्ला अधिकारी धीरेन्द्रराज पन्तले पछिल्ला वर्षमा राहदानी लिने संख्या बढेको बताए। राहदानी लिने युवायुवती बढी छन्।

गाउँमा वृद्धवृद्धा र बालबालिका मात्र बढी छन्। स्थानीय तहले स्थानीय स्रोतसाधन प्रयोग गरी रोजगार सिर्जना हुने उद्योग र कलकारखाना बनाउन नसक्दा सुरक्षित भविष्यको खोजीमा विकसित मुलुकमा युवायुवतीको पलायन बढेको हो।

युवा लक्षित गरी ल्याइएका विभिन्न कार्यक्रम कार्यान्वयन प्रभावकारी नहुँदा पनि युवा विदेशिने क्रम बढेको सरोकारवालाहरूले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.