सरोकारवाला भन्छन् : एकै समयमा औषधिको माग धेरै भयो तर अभाव छैन

|

काठमाडौं : देशभर आँखा पाक्ने रोगको संक्रमण बढ्दा बजारमा यसको औषधिको अभाव हुन थालेको छ। भाइरल कन्जङ्क्टीभाइटिस भनिने यो रोग लागेमा आँखामा संक्रमण हुने गर्छ। यो संक्रमण हुँदा एकैपटक धेरै जनामा संक्रमण देखिन थाल्छ।

केही हप्तादेखि काठमाडौं उपत्यकासहित देशका ठूला शहरमा स्कूले बालबालिकामा समेत आँखा पाक्ने संक्रमण बढेको छ। यसले गर्दा आँखामा राख्ने र खाने औषधि अभाव भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको औषधि व्यवस्था विभागले भने एकैपटक आँखाको संक्रमणमा प्रयोग गरिने औषधिको माग धेरै हुँदा बजारमा अभाव जस्तो देखिएको बताएको छ। विभागका महानिर्देशक नारायण ढकालका अनुसार औषधिको अभावभन्दा पनि आँखाको उपचारमा प्रयोग गरिने औषधिको माग धेरै हुँदा अभाव जस्तो देखिएको बताउँछन्।

‘औषधिको अभाव भएको होइन‚ अन्य समयमा भन्दा अहिले औषधिको माग धेरै भएको हो। सामान्य अवस्थामा आँखाको उपचार गर्ने अस्पतालमा मात्रै यस्ता औषधिको माग हुन्थ्यो तर अहिले बिरामीको चाप धेरै हुँदा सबै खालका अस्पतालदेखि औषधि पसलसम्म औषधिको माग भइरहेको छ’‚ औषधि व्यवस्था विभागका महानिर्देशक ढकालले भने।

ढकालका अनुसार भारतीय कम्पनीले उत्पादन गर्दै आएको आँखाको उपचारका लागि प्रयोग गरिने ‘ट्रोर्बा’ नामक औषधिको भने केही अभाव रहेको छ।

‘भारतीय कम्पनीले उत्पादन गर्दै आएको ट्रोर्बा नामक आँखाको उपचारमा प्रयोग गरिने एक प्रकारको ‘आई ड्रप’अलि अभाव जस्तो देखिएको छ तर हामीले कम्पनीसँग पनि कुरा गरिरहेका छौँ। नेपालसँग सीमा जोडिएका भारतीय शहरहरूमा पनि भाइरल कन्जङ्क्टीभाइटिसका बिरामी बढेका छन्। यसले गर्दा यो समस्या देखिएको हो’‚ ढकालले भने।

यता नेपालमा आँखाको उपचारका लागि विभिन्न प्रकारका औषधि उत्पादन गर्दै आएको नेपाली कम्पनी नेशनल हेल्थ सेन्टरले पनि एक महिनायता देशभरबाट आँखाको औषधिको माग सामान्य अवस्थामा भन्दा सात गुणाले बढेको जनाएको छ।

नेशनल हेल्थ सेन्टरका बजार प्रबन्धक राधेश्याम महतोका अनुसार अन्य वेला हरेक महिना ३० हजार डोजसम्म बजारमा जाने औषधिमा गत एक महिनामा एक लाखभन्दा बढी बजारमा गइसकेको छ।

नेशनल हेल्थ सेन्टरका बजार प्रबन्धक महतोले भने‚ ‘अन्य समयमा भन्दा अहिले आँखाको उपचारका लागि औषधिको माग सात गुणाले बढेको छ। एक महिनामा हामीले एक लाखभन्दा बढी डोज बजारमा पठाइसकिएको छ तर माग अझै पनि धेरै छ।‘

महतोका अनुसार डेन्टामेसिन‚ सिफ्रोफोक्सिन तथा ओफ्लोफिक्सिन जस्ता औषधिको माग धेरै रहेको छ। उनका अनुसार यी सबै औषधि आँखाको संक्रमण हुँदा प्रयोग गरिने एन्टिबायोटिक युक्त ‘आई ड्रप’ हुन्। यस्तै केही दिनयता बालबालिकाको आँखाको उपचारमा प्रयोग गरिने ‘डोर्बामाइसिन’नामक एन्टिबायोटिक ‘आई ड्रप’ को माग समेत बढेको महतोले बताए।  

नेपाल औषधि उत्पादक संघ (एपोन) का अध्यक्ष प्रज्वलजंग पाण्डेका अनुसार नेपालमा सामान्य अवस्थामा आँखाको उपचारका लागि प्रयोग गरिने औषधिको माग एकदमै कम माग हुने गर्छ जसले गर्दा थोरै नेपाली कम्पनीले मात्रै यस्ता औषधि उत्पादन गर्छन्। अहिले भने आँखाको उपचारमा प्रयोग गरिने विभिन्न प्रकारका ‘आई ड्रप’को माग धेरै भएको छ।

‘थोरै नेपाली कम्पनीले मात्रै आँखाको उपचारमा प्रयोग गरिने औषधिको उत्पादन गर्छन् जसले गर्दा बजारमा औषधि कम हुन्छ तर अहिले एकदमै धेरै औषधिको माग छ। हामीले  यस्ता औषधि उत्पादन गर्ने नेपाली कम्पनीलाई केही समय उत्पादन बढाउन भनेका छौँ’‚ एपोनका अध्यक्ष पाण्डेले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.