|

काठमाडौं :नेपालमा स्वास्थ्य सेवा तर्फको सबैभन्दा ठूलो समस्या भनेको स्वास्थ्य क्षेत्रको एउटा प्रमुख समस्या भनेको स्वास्थ्य जनशक्तिको व्यवस्थापन हो।

स्वास्थ्य सेवातर्फका जनशक्तिको एकिन विवरण आफ्नै विभागीय मन्त्रालय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग नहुँदा स्वास्थ्यकर्मीको व्यवस्थापनमा मन्त्रालयको कार्य सधैँ फितलो हुने गर्छ। अझै अचम्मको कुरा हाल स्वास्थ्य मन्त्रालयसँग आफू मातहतका विभाग, अस्पताल तथा प्रतिष्ठानमा कति दरबन्दी खाली छ भन्ने एकिन विवरण समेत छैन।

मन्त्रालयले आफू मातहतका स्वास्थ्यकर्मीको एकिन विवरण संकलन गर्न नसक्दा समस्या भइरहेको बुझेका हालका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पटक पटक आफू मातहतका सबै निकायलाई आफ्ना विभाग तथा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको विवरण पठाउन निर्देशन दिइरहेका छन् तर अधिकांश कार्यालयले अटेर गरेका छन्।

मन्त्रालयले मातहतका निकायमा पटक–पटक कर्मचारी विवरण माग गर्दा पनि अधिकांश कार्यालयले अटेर गरेका छन्। पछिल्लो पटक ६ जेठमा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पत्रकार सम्मेलनमा मन्त्रालय मातहतका निकायमा कार्यरत सम्पूर्ण कर्मचारीको विवरण सात दिनभित्र अपडेट गरिसक्ने बताएका थिए। विगतका अन्य मन्त्री झै उनको पनि स्वास्थ्य मन्त्रालय मातहतका कर्मचारीको विवरण अपडेट गफमै सीमित भएको छ। मन्त्री बस्नेत विदेश उडेको चार दिनपछि १० जेठमा मन्त्रालयले मातहतका २९ निकायमा पत्राचार गरी तीन दिनभित्र सम्पूर्ण कार्यरत कर्मचारीको विवरण पठाउन भनेको थियो।

पत्राचार गरेको १६ दिनमा १३ वटा निकायले मात्र विवरण पठाएको मन्त्रालयले जनाएको छ। जसमा गजेन्द्रनारायण सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल अस्पताल, परोपकार प्रसूति गृह थापाथली, कान्ति बाल अस्पताल, औषधि व्यवस्था विभाग, राष्ट्रिय एचआईभी एड्स तथा यौन रोग नियन्त्रण केन्द्र, भरतपुर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, औषधि व्यवस्था कार्यालय विराटनगर, वीर अस्पताल, नरदेवी औषधालय, मानसिक अस्पताल, औषधि व्यवस्था कार्यालय बाँके रहेका छन्। अन्य विभाग मातहतका निकाय र केही अस्पतालले भने अझै विवरण बुझाएका छैनन्।

पटक पटक मन्त्रालयले ताकेता गर्दा पनि स्वास्थ्य मन्त्रालय अन्तर्गतका विभाग, संघीय अस्पताल तथा प्रतिष्ठानले विवरण  नपठाउदा मन्त्रालयले पछिल्लो समय तीन दिनको समय दिएर पुन: निर्देशन दिएको छ।

मन्त्रालयले लोक सेवा आयोगको स्वीकृत वार्षिक तालिका अनुसार आ.व. २०८०/८१ मा रिक्त पदको पदपूर्ति गर्ने प्रयोजनको लागि तीन दिनभित्र रिक्त पदको विवरण पठाउन मन्त्रालय विभाग, अस्पताल, प्रतिष्ठानहरुलाई परिपत्र गरेको हो।

मन्त्रालयले गरेको परिपत्रमा भनिएको छ ‘लोक सेवा आयोगको स्वीकृत वार्षिक तालिका अनुसार आ.व. २०८०/८१ मा रिक्त पदहरूको पदपूर्ति गर्ने प्रयोजनको लागि तहाँ कार्यालय र अन्तर्गत रिक्त रहेको स्वास्थ्य सेवाका नवौँ र एघारौँ तहको पदको विवरण एकिन गरी पछि सम्म फरक नपर्ने गरी ३ (तीन) दिन भित्र उपलब्ध गराई दिनुहुन यस मन्त्रालयको मिति २०८०/०५-०४ को निर्णयानुसार अनुरोध छ।’

मन्त्रालयले विवरणमा सेवा,समूह/उपसमुह, श्रेणी/तह पद कुल स्वीकृत दरबन्दी, दरबन्दीमा कार्यरत संख्या, कामकाजमा रहेको कर्मचारीको संख्या, रिक्त संख्या (बढुवा, अवकाश, अन्य), जम्मा रिक्त संख्या, अवकाश, राजीनामा, मृत्यु, कारबाहीमा परि रिक्त हुनेहरुको संख्या भरेर पठाउन भनेको छ।

टेकु स्थित स्वास्थ्य सेवा विभाग, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, टेकु, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल तथा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र, भक्तपुरसँग विवरण मागेको हो। चि.वि.रा.प्र.,वीर अस्पताल, तथा वीर अस्पताल नर्सिङ क्याम्पस काठमाडौंलाई पनि परिपत्र गरेको छ।

त्यस्तै नारायणी अस्पताल, वीरगञ्ज, मानसिक अस्पताल, ललितपुर, भेरी अस्पताल, नेपालगन्ज, कोशी अस्पताल, विराटनगर डडेलधुरा अस्पताल, डडेलधुरा,आयुर्वेद चिकित्सालय, नरदेवीसँग पनि विवरण मागेको हो। कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौंडा, राष्ट्रिय औषधि प्रयोगशाला, बिजुलीबजार, गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज, पशुपति होमियोप्याथिक चिकित्सालय, ललितपुरलाई पनि पत्राचार गरेको छ।

पटक पटक मन्त्रालयले ताकेता गर्दा पनि किन मन्त्रालय अन्तर्गतका विभाग, संघीय अस्पताल तथा प्रतिष्ठानले कर्मचारीको विवरण पठाएन त भन्ने प्रश्नमा मन्त्रालयका एक उच्च अधिकारीले भने ‘कतिपय विभाग, संघिय अस्पताल तथा प्रतिष्ठानले वर्षौँदेखि आफूखुसी कर्मचारी राखेर काम गराइरहेका छन भने कतिपयमा विभिन्न संस्थाको लगानीमा कर्मचारी राखेर काम गराइरहेका हुन्छन्। यस्तो अवस्थामा केही अप्ठ्यारो होला कि भनेर एकिन विवरण नपठाउने हुन्।‘

नेपालको स्वास्थ्य प्रणालीमा अझै पनि २०२० सालमा बनेका कानुन अनुसार काम भइरहेका छन्। हाल २०४८ सालको दरबन्दीमा स्वास्थ्य संस्था चलिरहेका छन्। नेपालको स्वास्थ्य क्षेत्रको एउटा विडम्बना यो पनि हो विरामी र स्वास्थ्य संस्था अनुसारको दरबन्दी अनुसार कर्मचारी नहुनु, जसले गर्दा सरकारी स्वास्थ्य संस्थाबाट दिने सेवा सधैँ फितलो हुने गरेको छ।

सरकारी स्वास्थ्य सेवामा हाल ३० वर्षअघिकै दरबन्दीअनुसार काम अगाडि बढिरहेको छ। अस्पताल तथा स्वास्थ्य संस्थामा दरबन्दी कम भइरहेको समयमा भएका दरबन्दीमा पनि पूर्णरूपमा कर्मचारी कार्यरत छैनन्। धेरै दरबन्दी रिक्त हुँदा पनि सेवा प्रवाहमा समस्या देखिएको छ।

सरकारी स्वास्थ्य क्षेत्रको सेवामा ४० देखि ६० प्रतिशत जनशक्ति संगठन संरचनाभन्दा कम छन्। जनशक्ति कम हुँदा स्वास्थ्य संस्थाहरूले करारमा कर्मचारी राखेर काम चलाउनुपर्ने बाध्यताले गर्दा स्वास्थ्य क्षेत्रको सेवा चुस्त दुरुस्त हुन सकेको छैन। भएको जनशक्ति संरचना पनि २०७४ सालमा संघीय कार्यान्वयनको समयमा भएको कर्मचारी समायोजनको समयमा कटौती भएको छ। ३० वर्षअघिको परिवेश जनसंख्याको आधारमा भएका जनशक्तिले अहिलेको सेवाको चाप धान्नै नसक्ने अवस्थामा पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.