|

बैतडी : सुदूरपश्चिम प्रदेशमा डेंगुका विरामीको संख्या ह्वात्तै बढेको छ। सन् २०२३ को पछिल्लो ४ महिनाको तथ्यांक हेर्दा यहाँ डेंगुका विरामी ह्वात्तै बढेको देखिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको हो।

निर्देशनालयका अनुसार मेमा २२ जना, जुनमा २६ जनामा संक्रमण देखिएकोमा जुलाईमा यो संख्या बढेर ५८ पुगेको छ। अगस्तमा भने डेंगुका विरामी ह्वात्तै बढेको छ। अगस्तमा हालसम्म २१३ जनामा संक्रमण देखिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीले बताए।

सुदूरपश्चिममा सन् २०२३ को हालसम्म ५४० जनामा डेंगु पुष्टि भइसकेको छ। उनले भने, ‘अरु महिनाभन्दा अगस्तमा डेंगुका विरामीको संख्या धेरै बढेको पाइएको छ। गर्मी र वर्षातको समय रहेकाले यो संख्या बढेको हो।’

यसअघि सन् २०२३ कै जनवरीमा १५ जना, फेब्रुअरीमा ५२ जना, मार्चमा १२९ जना, अप्रिलमा २५ जनामा डेंगु देखा परेको थियो।

प्रदेशको तथ्यांकअनुसार सबैभन्दा बढी  पहाडी जिल्ला दार्चुलामा १९४ जनामा डेंगु पुष्टि भइसकेको छ।  कैलालीमा १२५ जना, कञ्चनपुरमा ९५ जना, अछाममा ५२ जना, बाजुरामा ३२ जना, डोटीमा १५ जना, बझांगमा १२ जना, डडेल्धुरामा ९ जना र बैतडीमा ६ जनामा डेंगु देखिएको छ।

तर डेंगुबाट यस वर्ष मृत्यु भने कसैको पनि भएको छैन। गत वर्ष यस प्रदेशमा १ हजार २८९ जना डेंगुका विरामी हुँदा ४ जनाको मृत्यु भएको थियो।  

लामखुट्टको टोकाईबाट हुने डेंगु गर्मी र वर्षातको समय भएकोले बिरामीको संख्या बढ्न थालेको जोशीले बताए। उनले भने, ‘डेंगुको जोखिम कात्तिकसम्मै रहन्छ। वर्षातको समयमा लामखुट्टे उत्पादन बढी हुने र  लामखुट्टेको टोकाईबाट संक्रमण हुन्छ।’

हिमाल र पहाडमा पनि देखिन थाल्यो

तराईका जिल्लामा बढी हुने डेंगु पछिल्लो समय पहाड र हिमाली क्षेत्रमा पनि देखिन थालेको जोशीले बताए।

पछिल्लो समय तराईबाट लामखुट्टे पहाड उक्लिएकाले पहाडमा पनि जोखिम बढ्दै गएको छ। उनले भने, ‘हिमाली क्षेत्र भनेर चिनिने दार्चुलाको ब्यासमा पनि डेंगु सार्ने लामखुट्टे फेला परेको छ। दार्चुलामा प्रदेशकै बढी संक्रमित पनि भेट्टिएका छन्।’

पहाडमा पनि डेंगु बढ्दै गएको र विरामीलाई अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था  आएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। उनले भने, ‘तराईबाट लामखुट्टे पहाड उक्लिएर यहाँ पनि डेंगु बढेको छ। सबैले सचेत रहन आवश्यक छ।’

डेंगु भएका उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर , घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि लक्षण देखा पर्ने गर्छन्।

यसका साथै गम्भीर प्रकृतिको डेंगु भएका बिरामीमा थकान महसुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट खुट्टा सुनिनेजस्ता लक्षण देखा पर्ने निर्देशनालयले जनाएको छ।

डेंगुको जोखिम कम गर्न निर्देशनालयले प्राविधिक सहजीकरण, किटहरु आपूर्ति र बिरामी व्यवस्थापनमा सहयोग गर्ने गरेको छ। स्थानीय तहहरुले उक्त रोग नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान  सञ्चालन गरिरहेका जोशीले बताए।

वर्षातमा दैनिक रुपमा डेंगुका बिरामी बढ्दै गएपछि प्रदेशभरि डेंगु फैलाउने लामखुट्टे  नष्ट गर्ने र सरसफाइ अभियानका साथै सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.