|

गुल्मी : गुल्मीको रेसुंगा नगरपालिकामा पाडा प्रवर्धन कार्यक्रमको लगानी डुबेको छ।

नगरपालिकाले आव २०७८।०७९ को संघीय ‘पाडा प्रवर्धन’ कार्यक्रममा कृषक र सरकारको ५०, ५० प्रतिशत साझेदारीमा नगरको १० लाख र कृषकको १० लाख बजेटमा ल्याइएका ५० वटा पाडा मरेपछि उक्त कार्यक्रम असफल भएको हो।

कार्यक्रमअन्तर्गत रेसुंगा नगरपालिका–११ का तिलबहादुर बुचा र वडा नं १२ का नेत्र बस्नेत दुईजनाले प्रस्ताव पेश गरेका थिए। नगरको १० लाख र कृषकको १० लाख बजेटमा कपिलबस्तुको बहादुरगञ्ज गएर पाडा खरिद गरी २५, २५ पाडा ल्याएपछि दुवैजनाका गोठ भरिए। असार २०७९ मा वितरण भएका पाडामा कात्तिकदेखि बिरामी पर्न थालेपछि फागुनमा मरेर सबै सकिए।

पाडा खरिद र गोठ सुधार तथा निर्माणमा ५०, ५० प्रतिशत साझेदारी हो। पाडा खरिदमा १०, १० लाख गरी २० लाख तथा गोठ निर्माण तथा सुधारमा पाँच, पाँच लाख गरी १० लाख गरेर ३० लाख खर्च भएको छ। ढुवानी, दाना र औषधिमा समेत नगरले रकम खर्च गरेको छ। एउटा पाडाको २७ देखि ३५ हजार मूल्य परेको छ। 
गोठमा बाँधेको १५ दिनमै आरुषी कृषि फर्मको एउटा पाडा म¥यो। पाडा एक्कासी दुब्लाउने र बसेपछि उठ्दै नउठेर मर्ने गरेको बस्नेतले बताए। दुवै कृषकले अनुदानमा ल्याएका बाहेक अरू पशुचौपायामा कुनै समस्या देखिएको छैन। ‘पाडा प्रवर्धन’ कार्यक्रम स्वीकृत भएपछि कृषकद्वय बस्नेत र बुचाले स्थानीय जातका पाडाकै माग गरेका हुन्।

यता नगरपालिकाका पशु शाखाका प्रमुख रुमाखर मरासिनीले स्थानीय जातका पाडा वितरण गर्न पाएको भए यस्तो समस्या नआउने बताए। स्थानीय जातका पाडा खरिद गरी वितरण गर्दा लेखापरीक्षणमा समस्या हुने र कर बिजक आवश्यक पर्ने भएकाले तराईका पाडा खरिद गर्न आफूहरू बाध्य भएको बताए। 

जिल्लामा लुम्बिनी प्रदेश सरकारअन्तर्गतको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रहेको छ। दुईजना डाक्टर र प्राविधिक कार्यरत छन् तर ५० वटा पाडा किन्दा नजिकैको स्थानीय सरकारले समन्वय नगरेको कार्यालयले जनाएको छ।

पाडा बिरामी भएर मर्न थालेपछि बिमा दाबीको प्रमाणका लागि मात्रै विज्ञ केन्द्रलाई खबर आएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डाक्टर भरत काफ्लेले बताए।

कृषकले प्रत्येक पाडाको ४० हजारका दरले अजोड इन्सुरेन्समा बिमा गरेका थिए। अजोड इन्सुरेन्स गुल्मीका प्रमुख सन्तोष न्यौपाने कृषकको फर्ममा पशु प्राविधिक सहित पुगेको र  पशु मरेको तीन दिनमा कम्पनीलाई खबर गरेको बताए।

मरेका पाडाको पोष्टमार्टम गरी बिमा रकम भुक्तानीको प्रक्रिया थालेको बताउँदै लगातार पाडा मर्न थालेपछि पाडा प्रवर्धन कार्यक्रम बन्द गर्नुपर्ने अवस्था आएको न्यौपानेले बताए।

यता नगरप्रमुख खिलध्वज पन्थीले कार्यक्रम छनोट गर्दा ध्यान दिन नसक्दा समस्या भएको बताए। अघिल्ला जनप्रतिनिधिले कार्यक्रम सञ्चालन गर्नुपूर्व ध्यान दिनुपर्ने बताउँदै  कृषकको पनि लापरवाही रहेको उनको भनाइ छ।

पाडा बिरामी पर्न थालेपछि उचित स्याहार र औषधि उपचार गर्नेतर्फ नलागी बिमाको रकम पाइन्छ भन्ने प्रवृत्तिका कारण पनि समस्या भएको पन्थीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.