|

चितवन : स्वास्थ्य बिमामा आवद्ध बिरामीलाई एक महिनाको मात्रै औषधि वितरण गरिँदा भरतपुर अस्पतालमा घुइँचो बढेको छ। 

केही महिनाअघिसम्म दीर्घरोगीका लागि दुई महिनासम्मको औषधि एकैपटक वितरण गरिँदै आएकामा पछिल्लो समय एक महिनामा मात्र प्रदान गर्न लागिएको हो।

एक महिनाका लागि मात्रै औषधि दिँदा टाढा–टाढाका बिरामीले झमेलासमेत व्यहोर्नुपरेको छ। बहिरङ्गको टिकट लिएर चिकित्सकसँग परीक्षणपश्चात् मात्रै औषधि पाइन्छ। दीर्घरोगीहरू आफँैमा समस्यामा हुने र टाढा–टाढाबाट महिनैपिच्छे आउनुपर्ने बाध्यता रहेको छ। यसले अस्पतालको व्यवस्थापनमा समेत समस्या देखापरेको छ।

पछिल्लो समय अस्पतालमा बिरामीको चाप उच्च छ। गत असोज ४ गते एकैदिन अस्पतालमा दुई हजार ९४० बिरामी आएका थिए। तीमध्ये दुई हजार ७०९ बिरामीले बहिरङ्ग सेवामा र २३१ जनाले आकस्मिक सेवा लिएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए।
 
माडी नगरपालिका–४ की गोमादेवी चापागाईँ नियमित सेवन गर्ने औषधि लिन अस्पताल आएकी थिइन्। सोमबार बिहान १०ः३० बजेदेखि अस्पतालको फार्मेसीमा लाइनमा बसेकीटोकन लिँदा २०० नम्बर पर् यो। मधुमेह, उच्च रक्तचाप र पिसाब रोक्ने औषधि लिन आएकी उहाँ महिनैपिच्छे आउनुपर्दा समस्या भएको बताउँछिन्। ‘दुई–तीन महिनाको औषधि लिन पाए यो हैरानी व्यहोर्नुपर्ने थिएन’, उनले भनिन्। घरमा बुढाबुढीमात्रै भएको भन्दै ६५ वर्षीया चापागाईँले औषधि लिनका लागिसमेत समस्या हुने गरेको बताइन्।
 
भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट नियमित सेवन गर्ने औषधि लिन आएका ६८ वर्षीय अम्बिकाप्रसाद सापकोटा औषधि नियमित लिन आउनुपर्दा झञ्झट भएको बताउँछन्। अस्पतालमा आएर परीक्षणपछि नियमित सेवन गर्ने औषधिको समेत लाइन बस्नुपर्ने हुँदा बिरामीको चाप बढ्दो क्रममा रहेको उनले जानकारी दिए।

भरतपुर महानगरपालिका–२ क्षेत्रपुरबाट बिरामी आमा लिएर आएका राजेश लामा आमालाई लिएर लाइनमा थिए। नियमित परीक्षण र औषधि सेवन गर्नुपर्ने भएकाले उनी बिरामी ८२ वर्षीया आमालाई नै लिएर अस्पताल आएका हुन्। मधुमेह, उच्च रक्तचाप र कोलस्ट्रोलको नियमित औषधि सेवन गर्नुपर्ने लामाले बताइन्।

अस्पतालमा आइतबारमात्रै बहिरङ्ग सेवामा दुई हजार ४९४ जनाले सेवा लिएका थिए भने आकस्मिक कक्षमा २४५ जनाले सेवा लिएका थिए। अस्पतालको स्वास्थ्य बीमा कार्यक्रम इञ्चार्ज लीलाधर पौडेलले अस्पतालमा आउने आधा बिरामी नियमित औषधि खाने रहेको बताए। उनका अनुसार दुई महिनाको लागि मात्रै औषधि दिँदासमेत ४० प्रतिशत बिरामी घट्छन्। अस्पतालमा आउने बहिरङ्ग सेवाका बिरामीमध्ये ७० प्रतिशत बीमाका बिरामी छन्।
 
भीड व्यवस्थित गर्नका लागि अस्पताल प्रशासनले औषधि फार्मेसी काउन्टर थप्दै लगेको छ। यस्तै टिकट काउन्टरसमेत थप्दै लगिएको अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले जानकारी दिए।
 
बिरामीको चापअनुसार कर्मचारी व्यवस्थापन गर्दै आइएको उनको दाबी छ। सेवाप्रति जनताको विश्वास बढ्दै जाँदा बिरामीको चाप बढेको उनी बताउँछन्। नियमित औषधि सेवन गर्ने बिरामीलाई बिमा बोर्डले लामो समयको औषधि नदिँदा चाप बढ्दै गएको उनले बताए। 

बोर्डले पत्र पठाएर एक महिनाभन्दा बढी समयका लागि औषधि नदिन भनेपछि सोहीअनुसार गरिएको पौडेलको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.