|

काठमाडौं : गौतम बुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी भइरहेको छ।

शुक्रबारको गोरखापत्र दैनिकमा समाचार छ, सरकारले विश्वको ठूलो खुला संग्रहालय दाबी गरिएको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (संयुक्त राष्ट्रसंघीय अङ्ग–युनेस्को) को जवाफ पर्खिरहेको छ।

पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गका अनुसार तिलौराकोट क्षेत्रलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गर्न स्थानीय सरकार, स्थानीय तह, स्थानीय बासिन्दा, विज्ञहरूसँग छलफल र सिमानाबारे प्रष्ट पारेर युनेस्कोलाई पत्र पठाइएको छ।

‘तिलौराकोटमा गरिएका अध्ययन अनुसन्धानबाट बुद्धको राजप्रसाद रहेको पुरातात्त्विक प्रमाण, बुद्ध ग्रन्थ, चिनियाँ यात्रीको यात्रा वृत्तान्त र उत्खननबाट प्राप्त सामग्रीले सुरक्षित स्थल रहेको प्रमाणित भए अनुसार संरक्षित क्षेत्रका रूपमा सूचीकृत गर्ने काम भइरहेको छ’, उनले भने।

प्रधानाङ्गले सन् २०२४ सम्ममा सूचीकृत गर्ने तयारी अनुसार युनेस्कोले पठाएको जवाफ अनुसार तयारी गरेर आगामी विश्व सम्पदा सम्मेलनमार्फत थप प्रक्रिया अघि बढाउने बताए। उनका अनुसार मठमन्दिर तथा पुराना नेपाली मौलिकता बोकेका घरलाई विश्व सम्पदामा सूचीकृत गर्न युनेस्को तयार देखिएको छ ।

पुरातत्त्व विभागले १६ वटा क्षेत्रलाई सम्भावित विश्व सम्पदा क्षेत्रको सूचीमा राखेर अध्ययन, अनुसन्धानको काम अघि बढाएको छ।काभ्रेको पनौती क्षेत्रलाई समेत सम्पदा क्षेत्रमा सूचीकृत गर्ने प्रक्रियासमेत जारी रहेको प्रधानाङ्गले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.