फुटबल र भलिबलको विजेताले क्रमशः ४० हजार र २५ हजार रुपैयाँ पाउने

|

काभ्रे : जिल्लाको खानीखोला गाउँपालिकाले ‘दोस्रो खानीखोला कप खेलकुद प्रतियोगिता’ आयोजना गर्ने भएको छ। गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले कात्तिक २२ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा फुटबल र भलिबल समावेश गरिएको जानकारी दिए।

अध्यक्ष थिङका अनुसार गाउँपालिकाको खेलकुद विकास समितिका आयोजनामा ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ मूल नारालाई आत्मसात गर्दै खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको हो। उनले दोस्रो खानीखोला कप वडास्तरीय हुने बताए। 

खानीखोला गाउँपालिका खेलकुद विकास समितिका संयोजक प्रेमप्रकाश लामाले फुटबलमा विजेतासँगै द्वितीय र तृतीय हुने टिमले पुरस्कारस्वरूप क्रमशः ४० हजार रुपैयाँ, ३० हजार र २० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने बताए। 

भलिबलतर्फका प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः नगद २५ हजार, २० हजार र १५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउनेछन्।

फुटबलमा प्रथम कपमा भन्दा यसपटक पुरस्कार राशि बढाउँदा भलिबलमा भने यथावत् राखिएको छ। प्रथम खानीखोला कपमा समावेश कराँतेतर्फ पुरुष र महिला दुवै खेल दोस्रो कपमा भने हटाइएको छ। 

प्रतियोगितामा सहभागी हुन इच्छुक वडा अन्तर्गतको टिमले २१ कात्तिकभित्र ३ हजार रुपैयाँ शुल्कसहित टिम दर्ता गरिसक्नु पर्नेछ। गाउँपालिकाको खेलकुद विकास समितिका संयोजक लामाले प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई गापाको टिममा समावेश गरिने बताए।

उजुरीका लागि २५ सय लाग्ने, विवाद गर्नेलाई स्वतः खेलबाट हटाइने

समिति संयोजक लामाले कुनै खेलाडीको उजुरी गर्नु परेमा नगद २ हजार ५ सय रुपैयाँसहित आवश्यक प्रमाण संलग्न गरेर मात्रै उजुरी दिनुपर्ने बताए। उनले अनावश्यक विवाद सिर्जना गर्ने टिमलाई आयोजकले स्वतः खेलबाट हटाउन सक्ने बताए। 

उनले एक वडाका खेलाडी अन्य वडामा समावेश गर्न नपाइने र एक टिममा खेलाडी र कोच तथा व्यवस्थापकसहित १५ जनासँगै खेलाडीले अपशब्द तथा अश्लील चरित्र देखाएमा स्वतः खेलबाट हटाइने गरी नियमसमेत बनाएको बताए। 

अनुशासन उल्लंघन गर्ने खेलाडी वा टिमलाई खेलबाट निष्काशन गर्नुका साथै कुनै प्रकारको दावी विरोध परे अन्तिम निर्णय आयोजकको हुने उनको भनाइ छ। 

खेल नकआउट चरणमा खेलाइने प्रतियोगितामा टिम दर्ता गर्दा खेलाडीले स्थायी बसोबास गरेको परिचय खुल्ने कागजात (नागरिकता, मतदाता परिचयपत्र तथा खेलकुद विकास समितिको परिचयपत्र) आदि संलग्न राख्नु पर्ने समितिले जनाएको छ। 

खेलकुद विकास समितिले एक विधामा खेल खेल्ने खेलाडी अर्को विधामा खेल्न नपाउने जारी सूचनामा उल्लेख गरिएको छ। यसअघि एउटै खेलाडीलाई अन्य विधाको खेलमा पनि सहभागी गराएको थियो।

यसअघि नयाँ वर्षको अवसर पारेर ‘प्रथम खानीखोला कप प्रतियोगिता’ आयोजना गरेको आयोजकले यसपटक भने तिहार तथा छठ पर्वको अवसरमा दोस्रो खानीखोला कप प्रतियोगिता आयोजना गर्न लागिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.