|

काठमाडौं : भारतबाट खरिद गर्न लागिएको सहुलियतको चिनी नआएपछि बजारमा पुनः चिनीको हाहाकार शुरु भएको छ। 

चिनी आयातको अनुमति पाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियतको चिनी आउने कुनै टुङ्गो नभएको जनाएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन चन्दले चिनी आयातमा कुनै प्रगति नभएको बताए।

मंगलबारको गोरखापत्र दैनिकमा समाचार छ, सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङलाई भन्सार सहुलियतमा १०\१० हजार मेट्रिक टन चिनी आयात गर्न दिने सहमति दिएको थियो। तर दुवै कम्पनीले विभिन्न बहाना बनाएर सो चिनी नेपाल आयात नगर्दा अहिले समस्या बल्झिएको हो।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले भारतबाट चिनी तत्काल नल्याउने बताउनुभयो। चिनीको सिजन सुरु हुँदा पनि भारतमा चिनीको भाउ महँगो रहेकाले तत्काल चिनी ल्याएर बिक्री गर्न नसकिने उनको भनाइ छ। 

प्रवक्ता ठाकुरका अनुसार भारतमा अहिले प्रतिकेजी ४८ रुपैयाँ छ। ‘त्यो चिनी खरिद गरी भन्सार तिरेर नेपाल ल्याउँदा उपभोक्ताले प्रतिकेजी १०० रुपैयाँभन्दा माथि तिर्नु पर्छ। भारतबाट ल्याउने भनेको चिनी अहिले तत्काल नआउने लगभग निश्चित भएको छ। आन्तरिक उद्योगमा उत्पादित चिनी बजारमा आउन थालेपछि चिनीको भाउ स्वतः घट्दै जान्छ’, उनले थपे। 

गएको भदौदेखि हुँदै आएको चिनीको अभाव झनै चुलिएको छ। साल्ट ट्रेडिङ कर्पोरेसनले आफ्ना बिक्री केन्द्रबाट प्रतिकेजी ११७ रुपैयाँमा उपभोक्तालाई दुई केजीका दरले बिक्री गर्दै आएको छ। बजारमा चिनी फाट्टफुट्ट रूपमा पाइए पनि एक केजी १२५ रुपैयाँमा किन्नु पर्छ। 

चिनी बिक्री गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेसनले आफूहरूको गोदाममा चिनी मौज्दात सीमित रहेकाले कर्पोरेसनको बिक्री केन्द्रबाट दुई केजी ग्राहकलाई दिनेबाहेक पसलका लागि बिक्री गर्ने चिनी नभएको कर्पोरेसनका निर्देशक ब्रजेश झाले बताए। 

उनका अनुसार कर्पोरेसनले एभरेष्ट सुगर मिलसँग भएको सम्झौताभन्दा निकै कम आएकाले त्यो पनि सकिएको छ। भारतबाट तत्काल चिनी खरिदको उपाय नदेखिएको कर्पोरेसनले जनाएको छ। 

यता उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आपूर्ति व्यवस्था मिलाउन छलफल भइरहेको जनाएको छ। नेपालका ६  वटा मिलले यही सातादेखि चिनी उत्पादन गर्न थालेका छन्। तर त्यो चिनी बजारमा आए वा नआएकोबारे रिपोर्टिङ लिने काम भइरहेको मन्त्रालयका प्रवक्ता ठाकुरले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.