|

सोलुखुम्बु : थुलुङ दुधकोशी गाउँपालिका–७ देउसामा प्रसूति  सेवा सुरु भएको छ। आइतबार गाउँपालिका प्रमुख असिम राईले नवनिर्मित प्रसूति भवनको उद्घाटन गरेसँगै सेवा सुरु भएको हो।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष असिम राईले नागरिकको स्वास्थ्यप्रति आफूहरु सचेत रहेको बताए। जनताबाट सहयोग संकलन गरेर मुक्लिमा अस्पताल निर्माण गरी सञ्चालन गरेको भन्दै अध्यक्ष राईले जुबुमा पनि अर्को अस्पताल निर्माणको चरणमा रहेको बताए।

स्वास्थसँगै सबै क्षेत्रको विकासमा आवश्यक बजेट व्यवस्था गर्नको लागि  आफू दिनरात नभनीकन लागिपरेको भन्दै अध्यक्ष राईले नागरिकको सहभागीता महत्त्वपूर्ण रहेको बताए।

 यस्तै सोही कार्यक्रमलाई सम्बोधन गर्दै पालिका उपाध्यक्ष सविता राईले वडा नम्बर ७ मा वर्थिङ सेवा सुरु भएकोमा बधाई दिँदै थप सेवा विस्तारमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन्।

वडामा सहि नेतृत्व र नेतृत्वलाई सहयोग गर्ने नागरिक भएकै कारण एकपछि अर्को विकास निर्माणको काम सम्पन्न भएको उनको भनाइ छ।

यस्तै थुलुङ दुधकोशी गाउँकार्यपालिका सदस्य तथा सामाजिक विकास समिति संयोजक बुद्धिराज राईले विकास निर्माणको हिसाबमा वडा नम्बर ७ सबैभन्दा अघि रहेको बताए।

कार्यक्रम समापन गर्दै वडा नम्बर ७ का वडा अध्यक्ष तथा पालिका प्रवक्ता भोजराज कार्कीले सबैलाई धन्यवाद दिँदै वडाको विकासमा एकजुट हुन आग्रह गरे। निर्वाचित भएपछि विभेदरहित ढंगबाट कामरहेको भन्दै अध्यक्ष कार्कीले सामुदायिक स्वास्थ्य इकाईमा दुईजना मात्रै कर्मचारी भए पनि चेराखु र बोगल टोलमा हरेक महिना स्वास्थ्यकर्मी पठाएर औषधी उपचार गर्ने व्यवस्था मिलाइएको उनको भनाइ छ।

गाउँपालिका अन्तर्गतको ३५ लाख बजेटबाट ६ कोठे प्रसूति गृह निर्माण गरिएको वडा अध्यक्ष भोजराज कार्कीले बताए। २०८० असारमा शिलान्यास गरिएको उक्त भवन स्वास्थ्य व्यवस्थापन समितिले ५ महिनामा निर्माण सम्पन्न गरेको हो। साथै निर्माण सम्बन्धि आयव्याय समेत सार्वजनिक गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.