|

"हामी कसैका होइनौं, कोही हाम्रा होइनन्

हामी सत्य र न्यायका, सत्य र न्याय हाम्रो"

-रुदाने

सिद्धान्त लेख्ने, पढ्ने र कण्ठ गर्नेहरू धेरै जन्मिए। सिद्धान्तका लागि जीवन र जीवनका लागि सिद्धान्त दिने दुवैथरिका पनि देखियो। तर सिद्धान्तलाई जनताको बोली, व्यवहार र विचारको कसीमा तौलेर जनहितका खातिर क्रान्तिको आगोमा जल्नेहरू बिरलै जन्मिए।

नेपाल आमाको गर्भबाट जन्मिएका कतिपय विलक्षण प्रतिभाहरूले इतिहासलाई सधैँका लागि अविस्मरणीय बनाइदिएका छन्। तीमध्ये केही यति महान् छन् कि उनीहरूको इतिहास कुनै षड्‌यन्त्रले या आफैँ नामेट हुनै सक्दैन। त्यस्तै एक क्रान्तिकारी युगपुरुष मकवानपुरको काखमा जन्मियो, हुर्कियो, देश र जनताका लागि लड्यो र लड्दालड्दै थाकेर गयो। रुदाने, अर्थात् रूपचन्द्र विष्ट– दामन, नेपाल।

आजको पुस्ता र आउँदो पुस्ताको मानसपटलबाट यो नाम, व्यक्तित्व र उनले चलाएको थाहा आन्दोलनको इतिहास हराउँदै गइराखेको छ। रुदाने र थाहा आन्दोलनको विवरण न राम्ररी अभिलेखीकरण भयो न त पुस्तान्तरण नै हुन सक्यो। रूपचन्द्र खुला किताब थिए तर आजकल उनी कम पढिन थाले। रूपचन्द्रलाई भेट्नै मुस्किल भइसक्यो, यद्यपि मकवानपुरका बहुसंख्यक घरमा उनका अवशेष छन्।

म उनको जीवनी लेखिराखेको छैन। उनको थाहा दर्शनको व्याख्या गर्न सजिलो पनि छैन तर उनले चलाएको आन्दोलनलाई ‘क्रान्तिकारी’ भन्न कुनै द्विविधा छैन। बरु उक्त आन्दोलन समय सुहाउँदो थियो वा समयभन्दा अघि थियो भन्ने विषयमा विमर्श गर्न सकिन्छ। म उनलाई देवत्वकरण गरेर अपमानित गर्न चाहन्नँ। मेरो कुनै पार्टी विशेषसँग राजनीतिक पूर्वाग्रह पनि छैन। बरु केही कुरामा रुदानेसँग मतभेद छन्।

व्यक्ति कहिल्यै पूर्ण हुन सक्दैन। रूपचन्द्र स्वयम् जसबाट प्रभावित रहे, मार्क्स र माओ, ती पनि पूर्ण थिएनन् तर समाजलाई चिरकालसम्म प्रभावित पार्ने त्यस्ता विचारकबारे समाजले जान्नै पर्छ। रुदानेबारे यो पुस्ता र अब आउने पुस्ताले ‘थाहा’ पाउनै पर्छ, किनकि देशलाई फेरि रुदाने चाहिएको छ। उनको जस्तो इमान र जनमुखी राजनीतिको खाँचो छ।

उनले सधैँ सत्य खोज्न भने, थाहा पाउन भने। आज उनैलाई खोज्ने वेला भएको छ। यो लेख त्यसतर्फको एउटा प्रयास हो। मेरा शब्दहरू रुदानेको विराट व्यक्तित्वमाथि प्रकाश पार्ने स–साना झिल्का मात्रै हुन्।

रूपचन्द्र विष्ट एक असल र सच्चा कम्युनिष्ट थिए। निडर क्रान्तिकारी योद्धा थिए। विद्रोही थिए। स्पष्ट विचारक रूपचन्द्र जनबोली बोल्ने साहित्यकार र माटो बुझेका दार्शनिक थिए। ‘थाहा’ आन्दोलनका प्रणेता उनी स्वार्थरहित राजनीतिज्ञ थिए, जसको जन्म सम्भ्रान्त परिवारमा भए पनि सदैव सर्वहाराको बोली बोले। रुदानेलाई पार्टीकरण गर्नु उपयुक्त हुँदैन। उनी राष्ट्रवादी र जनतावादी थिए। समानताको बिगुल फुक्ने उनी भुइँमान्छेको आवाज थिए। समग्र मकवानपुरको उनको इतिहासको साक्षी छ।

साम्यवादी समाजको परिकल्पना गरेका कम्युनिष्ट दार्शनिकहरूका लागि बृहत् अध्ययनका विषय हुन् रुदाने। उनको व्यक्तित्व अलग थियो। उनी त्यस्ता संन्यासी थिए, जो हरदम समाजका विकृति र विसङ्गतिलाई विद्रोह र जागरुकताको आगोले भस्म पार्ने प्रयत्नमा हुन्थ्यो।

रुदानेको वार्तालाप पनि विचित्रकै।

उनको शब्द संयोजन र विचारमा शुद्धता र स्पष्टता थियो। जटिल कुरालाई पनि गाउँले लवजमा सहज बनाएर भन्थे। जस्तो देख्थे, बुझ्थे, त्यस्तै बोल्थे। कुनै बनावटी थिएन। जसलाई जे देख्थे त्यही सम्बोधन गर्थे। भाते भन्दिन्थे, अपराधी भन्दिन्थे। अन्तरात्माबाट परख गरेर मानिसहरूलाई सम्बोधन गर्थे। पद, प्रतिष्ठा, पैसा, शक्ति कुनै पनि कुराले उनको बोलीलाई विचलित पारेको सुन्न पाइएन।

राष्ट्रिय पञ्चायत सदस्य छँदै पनि उनी पञ्चायतको खरो आलोचना गर्थे। त्यो समयमा दरबारको विरोध गर्न या त्यही व्यवस्थाको नुन खाएर त्यसैका पक्षधरहरुको भीडमा बसेर त्यही व्यवस्थाको विपक्षमा खरो असहमति प्रकट गर्न भिन्दै मुटु चाहिन्थ्यो।

रुदानेसँग त्यो भिन्दै मुटु थियो।

फलस्वरूप उनी धेरैपटक जेल बसे। समाजहितका लागि बोल्दा राजद्रोह लगाइयो। बहुदल आएपछि पनि रुदानेको आवाज त्यतिकै बुलन्द थियो। उनी भन्थे, ‘अवसर प्राप्त नभएका कारण इमानदार देखिएका फटाहाहरू पदमा पुगेपछि थाहा हुनेछ।’

***

रुदानेको पर्याय बनेको छ ‘थाहा’।

थाहा के हो?

उनकै वाक्य सापटी लिऊँ,

‘जीविकामात्र खोजिरहेका मान्छेहरूको मनस्थितिमा एक विद्रोह गर्न,

तिमी त मान्छे पो हौ त- भनेर सम्झाउन,

उसको विरोधमा- उसैको हजुरमा

एक उजुर हो- थाहा।’

आज सिंहदरबार र जनताबीच सुदूर सम्बन्ध छ। जनता सिंहदरबारका कुरा जान्न सकिराखेका छैनन्। दुईको बीचमा विराट पर्खाल छ। त्यो पर्खाल पारदर्शी बन्न सकेको छैन। त्यसैका लागि चाहिने हो चेतना र त्यही चेतना वा जागरुकताको अभियान हो ‘थाहा’। त्यही दर्शनको सम्मानस्वरूप मकवानपुरको एउटा पालिकाको नाम ‘थाहा’ राखिएको छ।

चारमाना माटोसँग

तेरो नाता पर्‍यो भनेर,

माटोको भाँडाले तँसित

दोस्ती स्वस्ति गर्‍यो भनेर,

बसिस् कैद गमलामा

सिङ्गै पृथ्वी छोडेर ?

- रूपचन्द्र

रुदाने सारा विश्वका लागि सोच्थे। आफ्नाभन्दा बढी परहित बोल्थे। माथिका हरफ त्यसैका सबुत हुन्।

सम्पन्न परिवारमा जन्मिए, हुर्किए, कानुनमा स्नातक गरे। पछि त्यही डिग्रीको प्रमाणपत्र च्यातेर मान्छे जगाउने अभियानमा लागे। संघर्ष सिकाए। आफ्ना लागि आफैँ उठ्न र बोल्न प्रेरित गरे।  स्वाभिमान सिकाए।

रापस भए पनि बोराको कपडा लगाएर हिँड्थे रुदाने। भुइँमान्छेबीच रहन्थे, उनीहरूकहाँ जे पाक्यो त्यही खान्थे। उनले कहिल्यै स्वतन्त्रताको विषयमा सम्झौता गरेको थाहा पाइँदैन‚ उल्टै दरबारबाट आएका बडाबडा पद ढोका बाहिरैबाट अस्वीकार गरिदिएका दृष्टान्त छन्। यस अर्थमा योगी थिए रुदाने। त्यागी थिए रुदाने।

समाज बुझ्न उनले हरेक प्रयत्न रोचक छन्। कहिले ड्राइभर बनेका छन्, कहिले कुल्ली। प्रधानाध्यापक हुँदा श्रमदानको कक्षा राख्थे। आफ्नै माटोमा उब्जनी गरेर खान्थे। कहिले बाख्रा पाले, कहिले पर्यटन व्यवसाय गरे। झुत्रेझाम्रे भएर झुत्रेझाम्रेकै सामीप्यमा बाँचे। माटोसँग नजिक भएकाहरूसँग प्रगाढ सम्बन्ध थियो उनको।

बहुआयामिक जीवन थियो रूपचन्द्रको।

केही घटनाका माध्यमबाट उनको जीवनलाई हेरौँ :

चुनावको पर्चा बेचेर चुनाव जित्ने पहिलो नेता थिए उनी। माननीय सम्बोधनसँग उनको चरम असहमति थियो। जनता जाननीय नभई नेता माननीय हुँदैन भन्ने मान्यता थियो उनको। जेल या मन्त्री छान्नुपर्ने अवस्थामा उनी कसैसँग किनिनु या बेचिनुभन्दा यो ज्यान बरु बाहिरको साटो जेलभित्रै राख्छु भन्थे। छोरी नपढाउने मुर्दावाद भन्थे। घरघर पुगेर महिला समानताको पक्षमा वकालत गर्थे, समान व्यवहार नगर्ने घरमूलीहरूलाई उनको आँगनमै गएर पाठ पढाउँथे। पालुङमा विकास घर बनाए, वैज्ञानिक खेतीको अवधारणा ल्याए, आलुमा उठाइएको करको हिसाब पारदर्शी बनाउन चोकचोकमा लेख्दै हिँडे। सधैँ श्रमको सम्मान गरे, श्रमजीवीको पक्षमा रहे।

यस्ता अनगिन्ती घटना छन्, जसले रूपचन्द्रलाई रूपचन्द्र बनायो।

आफ्नो जीवनको अन्त्यतिर रुदाने धेरै थाकिसकेका थिए तर कसैले बुझेन। आखिरमा उनैले बोल्नुपर्‍यो, ‘अब मेरो कुनै काम रहेन, बाँच्नुपर्ने कुनै कारण रहेन।’

स्वास्थ्य अवस्था बिग्रेपछि प्राइभेट अस्पतालमा उपचार गर्न लैजाने प्रयास भयो तर उनले आमजनताको उपचार जहाँ हुन्छ, त्यहीँ जान्छु भने। उनलाई वीर अस्पताल लगियो। एक महान् योद्धाले त्यहीँ नै अन्तिम सास फेर्‍यो।

स्वार्थी समाजले निःस्वार्थी रूपचन्द्रलाई बुझ्नै सकेन। उनी आज झण्डैझण्डै विस्मरणमा पुगिसके।

त्यस्ता उच्च प्रेरणाका स्रोतबारे सबैले जान्नु अनिवार्य छ। अबको पुस्ताका लागि उनको वस्तुनिष्ठ मूल्याङ्कन हुन जरुरी छ। अब रुदाने बुझाइनुपर्छ, व्यवहारमा उतारिनु पर्छ। रुदानेहरू जन्मिनुपर्छ, जन्मिसकेकाहरू हुर्किनुपर्छ।

रुदानेलाई पढ्नुहोस्।

रुदानेले उठाएका कतिपय विषयमा असहमति हुन सक्लान्, मेरै पनि छन्। तर उनको सकारात्मक पक्ष आजको समाजको आवश्यकता हो। तपाईँ मकवानपुरकै बासिन्दा हुनुहुन्छ भने भाग्यमानी हुनुहुन्छ। आफ्ना बाबुबाजे वा जान्नेबुझ्नेसँग रूपचन्द्रका बारेमा सोध्नुहोस्, जान्नुहोस्, ‘थाहा’ पाउनुहोस् र बाहिर ल्याउने कोसिस गर्नुहोस्।

मकवानपुरको हरेक बाटो र घर रुदानेसँग परिचित छ तर आजको पुस्ता उनीसँग अपरिचित छ, मकवानपुरकै पनि। यदि मकवानपुरकै अभिभावक हुनुहुन्छ भने आफ्ना छोराछोरीलाई रुदानेका बारेमा जानकारी दिनुहोस्।

म जन्मिँदा रुदाने यो भौतिक दुनियाँबाट गइसकेका थिए। बुबाको माध्यमबाट उनको जीवन र दर्शन बुझ्न पाएँ।

शोधकर्ताहरूसँग मेरो अनुरोध छ, रुदानेका बारेमा अझै मिहिन विश्लेषण र विवेचना गरियोस्। उनका बारेमा जे जति विषयवस्तु बाहिर आएका छन्, ती अपर्याप्त छन्। रुदानेको ज्ञान मकवानपुरबाट ​देशभर, विश्वभर जानुपर्छ।

अब ‘थाहा’लाई फेरि ब्यूँताउनुपर्छ। रुदानेको प्रामाणिक जीवनी लेखिनुपर्छ। उनका विचार र लेखनको सङ्कलन गरी हुनुपर्छ। उनका पूर्वार्धका सङ्घर्ष र उत्तरार्धका थकान पनि लेखिनुपर्छ। नयाँ पुस्तालाई गुमराह गर्न हुँदैन। पुराना रुदानेले नयाँ पुस्तालाई असीमित माया गर्छन्। तसर्थ उनको जीवन मात्र होइन, जिउँदो लास बन्न नचाहने रुदानेको मृत्यु पनि लेखिनुपर्छ। उनी विरुद्धका षड्‌यन्त्र, लगाइएका लाञ्छना, त्यो भोकमा पिएको रक्सी, थकाउने गरी भएका ती घात, उनका स्वार्थी मित्रहरू... ती सबैको बारेमा निरपेक्ष विवेचना हुनुपर्छ । ‘लासमाथि राजनीति नगर्नू’ भनी गएका रुदानेमाथि तत्पश्चात् भएको राजनीतिबारे पनि लेखिनुपर्छ।

रुदानेको पुनरागमन जरुरी छ आजको समाजलाई।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.