|

काठमाडौं :विगतमा चिसो मौसममा ग्यासको खपत बढ्ने गरेको भए पनि यो वर्ष त्यस्तो देखिएको छैन। चालु आर्थिक वर्षको साउन महिनादेखि नै ग्यासको खपतमा गिरावट देखिएको छ। 

शुक्रबारको गोरखापत्र दैनिकमा समाचार छ, आयल निगमका अनुसार विगतका वर्षमा वार्षिक १० देखि १५ प्रतिशत ग्यासको खपत बढ्ने गरेकामा गत आवमा ५ प्रतिशतले खपत घटेको छ। 

पछिल्लो समय विद्युतीय चुलो (इण्डक्सन) को प्रयोग बढ्दै गएकाले पनि ग्यासको खपतमा कमी आएको देखिन्छ। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले आर्थिक मन्दीका कारण ग्यासको खपतमा कमी आएको जानकारी दिए। 

‘विगतका वर्षमा चिसोको समयमा ग्यासको खपत २० देखि २५ प्रतिशतसम्म बढ्ने गरेको थियो’, अध्यक्ष घिमिरेले भने, ‘बिजुलीको नियमित आपूर्ति नहुँदा उपभोक्ता बिजुलीमा पूर्ण भर पर्ने अवस्था छैन। आर्थिक गतिविधि सुस्त भएकाले ग्यासको खपतमा कमी आएको हो।’

५९ उद्योगका पौनै दुई करोड सिलिन्डर उपभोक्ताका घरमा छन्। विगतका वर्षमा एउटा घरमा तीन वटा सिलिण्डर बराबर एक सिलिन्डर मासिक ग्यास खपत हुने गरेकामा अहिले आएर त्यसमा २० देखि ३० प्रतिशतसम्म ग्यास खपत घटेको उनले बताए। 

विगतका वर्ष हिटर, ग्यास गिजरको प्रयोग बढी हुने हुँदा ग्यासको खपत पनि बढ्ने गरेकोमा अहिले बिजुलीले त्यसलाई विस्थापन गरेको व्यवसायीको भनाइ छ। 

निगमका अनुसार चालु आवको साउन महिनामा ४० हजार ४५६ मेट्रिक टन आयात भएको छ । यस्तै भदौ महिनामा ४५ हजार ९५९ मेट्रिक टन, असोज महिनामा घटेर ३८ हजार ८८६ मेट्रिक टनमा झरेको छ। 

यस्तै कात्तिक महिनामा ४२ हजार ६८६ मेट्रिक आयात भएकामा मङ्सिर महिनामा ४३ हजार ५१२ मेट्रिक टन ग्यासको आयात भएको छ । सामान्यतया बजारमा मासिक ४२ हजार ६०६ मेट्रिक टन ग्यास खपत हुन्छ। 

पकाउन छिटो हुने हुँदा उपभोक्ता इन्डक्सनतिर आकर्षित हुन थालेकाले ग्यासको खपत घट्न गएको उद्योगीको भनाइ छ । ग्यास बिक्रेता महासंघका अध्यक्ष चन्द थापाले व्यावसायिक प्रयोगमा ग्यासको खपतमा गिरावट आएको जानकारी दिए। 

आर्थिक सङ्कटका कारण होटल, रेस्टुरेन्टको व्यापारमा कमी हुनु, विद्युत्को आपूर्ति नियमित हुनु, बढ्दो महँगीले गर्दा सर्वसाधारणले खर्च कटौती गर्दा खपत कम हुन गएको उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.