|

दाङ : तुलसीपुर-१२ कचिलाकी कल्पना खड्का गत आइतवार विहानै यातायात व्यवस्था कार्यालय तुलसीपुर दाङले  लाइसेन्सका लागि ट्रायल लिने ठाउँमा पुगिन्।

उनले आफ्नी सासूआमाको नाममा रहेको स्कुटी चलाउँदै आएकी छन्। त्यही स्कुटीले ट्रायल दिने भनेर ट्रायल लिने ठाउँभित्र जाँदा उनलाई २१५ रुपैयाँको रसिद काटेपछि मात्र जान भनियो।

उनले भनिन्, ‘गेटबाहिर बसेका रहेछन्। मलाई स्कुटीको कागजपत्र देखाउन भने। मैले ल्याएकी छैन। यो मेरो सासूआमाको नाममा रहेको छ। मैले नै चलाउँछु भन्दा उनीहरूले नमानेपछि २१५ रुपैयाँ तिरेर भित्र आएँ।’ 

आफ्नै घरको स्कुटी ल्याएर आउँदा पनि भ्याटसहित भनेर २१५ रुपैयाँ तिराएको भन्दै उनले यो अन्याय भएको बताइन्। उनले आफूहरू बोलेर मात्र केही नहुने भन्दै सबैले यसरी नै रकम दिने गरेको बताइन्। 

घोराही-१५ भरतपुरबाट आएकी रमिला शर्माले पनि आफन्तको स्कुटी हुँदा पनि २१५ रुपैयाँ नै तिरेको बताइन्। आफूले ट्रायलका लागि यातायात कार्यालयमा पहिले नै राजश्व बुझाएको र अब किन बुझाउने भनेर विरोध गर्दा पनि नमानेको र रकम लिएरै छाडेको उनको भनाइ छ।

उनले भनिन्, ‘आफ्नो घरपरिवारमा कसैको नाममा रहेको सवारीसाधन भएमा त्यसको कागजपत्र देखाएपछि काट्न पर्दैन रे! मैले आफन्तको सवारी लिएर आएकी थिएँ। बाध्य भएर पैसा तिर्नु पर्‍यो। नियममा २१४ रुपैयाँ रहेछ भने पनि हामीले २१५ रुपैयाँ तिरेका छौँ। सयौँसँग १/१ रुपैयाँ बढी लिइन्छ‚ त्यो पैसा कता जान्छ?’ 

उनले भ्याटसहित आफूहरूसँग पैसा लिने गरेको भए पनि ठेक्का पाएको कम्पनी जुम कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ प्रालिले सामान्य रसिदमात्र दिने गरेको गुनासो गरिन्।

दाङको देउखुरीबाट आएका केशव परियारले त अझ २१५ रुपैयाँको ठाउँमा २५० तिरेको बताए। यसको विरोध गर्दा पैसा नदिए भित्र जान पाइँदैन भनेपछि पैसा बुझाएको उनको भनाइ छ।

उनले पनि आफ्नो साथीको बाइक लिएर ट्रायल दिन आएको बताए। उनले भने, ‘मेरो बाइक छैन, मैले मेरो साथीको लिएर आएको छु भन्दा पनि उहाँहरूले मान्नु भएन। मैले २५० रुपैयाँ नै तिरेँ।’

यि त ट्रायल दिन आएकामध्येका केही प्रतिनिधि पात्र हुन्। यसरी सयौँले आपन्त वा साथीभाइको सवारीसाधन लिएर आएपछि २१५ रुपैयाँ बुझाएर नै ट्रायल दिने गरेका छन्।

जुम कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ पोखराले असुल्छ रकम

जुम कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ प्रालि कास्की पोखराले यसरी ट्रायल दिन आउने परीक्षार्थीसँग शुल्क उठाउने जिम्मा पाएको छ।

प्रालिका अनुसार यातायात कार्यालय तुलसीपुर दाङ र प्रालिबीच २०८० मंसिर २४ गते सम्झौता भएको र त्यहीअनुसार प्रालिले ट्रायल दिने ठाउँमा उपलब्ध गराएका मोटरसाइकल, स्कुटरका लागि मूल्य अभिवृद्धि करसहित २१४ रुपैयाँ ७० पैसा लिने व्यवस्था रहेको छ।

जिप, कार, डेलिभरी भ्यानको पनि ४९० रुपैयाँ तोकिएको करसहित ५५५ रुपैयाँ सेवा शुल्क तोकेको छ। तर परीक्षार्थीको स्वयम् नाममा भएको र मापदण्ड पुगेको हुनुपर्ने र अन्यथा आफ्नै सवारीसधानको पनि सेवा शुल्क लाग्ने सूचना जारी गरेको छ।

प्रालिका प्रतिनिधि जीवन पोखरेलका अनुसार मूल्य अभिवृद्धि करबाहेक १९० रुपैयाँमा टेन्डर सम्झौता भएको र करसहित २१४ रुपैयाँ ७० पैसा हुने र ३० पैसा फिर्ता गर्न नमिल्ने भएकाले २१५ रुपैयाँ सेवा शुल्क लिने गरेको उनको भनाइ छ।

आफूहरू यो सेवा शुल्क लिन लागेको यो पहिलो ट्रायल रहेको समेत उनले बताए। आफूहरूले दिने सेवा शुल्कबापत ट्रायल दिने ठाउँमा मापदण्डअनुसारका १० वटा मोटरसाइकल र ५ वटा स्कुटर रहेको दावीसमेत गरे। मोटरसाइकल, स्कुटर नहुनेले यही सेवा शुल्क तिरेर प्रयोग गर्न पाउने दावी गरे।

उनका अनुसार पहिला यहाँ ट्रायल दिने परीक्षार्थीहरूले आफ्नो सवारीसाधन नल्याएको खण्डमा ५ सयदेखि १ हजारसम्म दिने गरेका थिए। अहिले आफूहरूले यो काम शुरु गरेपछि सबैलाई सहज भएको उनको तर्क छ।

सेवा व्यवस्थित गर्न टेन्डर दिएको हो : यातायात कार्यालय

कार्यालय प्रमुख रमेशकुमार गौतमले अन्यत्रका यातायात कार्यालयमा पनि यस्तै गरेर व्यवस्थित गरेको हुँदा आफूहरूले पनि त्यही गरेको दावी गरे।

उनले भने, ‘टाढा टाढाबाट आउने तर गाडी, मोटरसाइकल नहुनेलाई खोज्नुपर्ने, धेरै पैसा दिनुपर्ने अवस्था भएको हुँदा त्यसलाई रोक्न हामीले यो टेन्डर दिएर व्यवस्थित गर्न खोजेका हौँ।’

उनले आफ्नो नाममा भएको वा घर परिवारमा कसैको नाममा रहेको सवारीसाधन ल्याएको खण्डमा कुनै पनि शुल्क नलाग्ने दावीसमेत गरे।

सवारीसाधन भएकाहरूलाई ट्रायल दिने ठाउँमा सस्तोमा सवारीसाधन प्रयोग गर्ने व्यवस्था गरिएको उनको जिकिर थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.