|

दाङ : बबई गाउँपालिका-७ मलइमा रहेको देउती मावि तल्लो मलइको खेल मैदानमा जङ्गलको काठ थुपारेको १४ वर्ष भयो।

लामो समयदेखि काटिएका रुखका गोलिया मैदानमा राख्दा विद्यार्थीलाई खेल्न कठिन भएको छ भने ती काठ पनि कुहिएर खेर गइरहेका छन्। थुपारिएका काठले गर्दा खेल मैदान अहिले पूरै वनमाराले ढाकेको छ भने जंगली जनावरको डरत्रास उत्तिकै बढेको विद्यालयको भनाइ छ।

२०६७ सालदेखि राखिएका काठहरू अहिलेसम्म पनि सम्बन्धित निकायले नउठाउँदा खेल मैदान जङ्गलजस्तै भएको छ। एक बिघाभन्दा बढी क्षेत्रमा काठहरू राखेको र विद्यालयको तर्फबाट पटक पटक काठ उठाउन पत्र पठाएको भए पनि सम्बन्धित निकायले चासो नदिएको विद्यालयका प्रधानाध्यापक रत्न केसीले बताए।

उनले भने, ‘बाँके राष्ट्रिय निकुञ्जले २०६७ सालदेखि विद्यालयको खेलमैदानमा काठ राखेको छ। यी काठहरू उठाउन विद्यालयले पटक पटक निकुञ्जमा पत्रसमेत पठाइएको छ तर अहिलेसम्म कुनै सुनुवाइ भएको छैन। खेल मैदानमा काठका गोलिया राख्दा विद्यार्थीलाई खेल्न समस्या भइरहेको छ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमर बूढाका अनुसार काठको व्यवस्थापनका लागि विद्यालय बाँके राष्ट्रिय निकुञ्ज, विभाग हुँदै मन्त्रालयसम्म समेत पुगेको छ तर अहिलेसम्म कुनै सुनुवाई भएको छैन।

राज्यको यति धेरै सम्पत्ति समयमा नउठाउँदा कुहिएर अहिले खेर गइरहेको हुँदा राजश्वमा घाटा लागेको समेत उनको भनाइ छ। विद्यालयको खेल मैदान झाडीमय भएको हुँदा कुनै पनि दुर्घटना हुन सक्ने भन्दै छिटोभन्दा छिटो व्यवस्थापन गर्न उनले आग्रह गरेका छन्।

उनले भने, ‘काठ व्यवस्थापन गरिदिन आग्रह गर्दै म बाँके राष्ट्रिय निकुञ्जको कार्यालय गएँ तर निकुञ्जले हामीहरूले मात्र नहुने भनेपछि विभागमा पनि गएँ। विभागले पनि हामीले मात्र नभइ मन्त्रालयबाट अनुमति ल्याउनु पर्छ भनेकाले मन्त्रालयसमेत पुगेँ तर अहिलेसम्म काठ खेल मैदानमै कुहिएर खेर गइरहेको छ।’

खेल मैदानमा  लामो समयदेखि काठ राखेको हुँदा अहिले मैदान वनमाराको झाडी बनेकाले विद्यालयनजिकै बनेको जंगलका कारण दुर्घटना हुनसक्ने उनले बताए।

उनले भने, ‘एकातिर विद्यार्थीहरू खेल्ने क्रममा काठको गोलियाले च्यापिएलान् भन्ने डर छ। अर्कोतर्फ वनमाराले मैदान ढाकेको हुँदा जंगली जनावरले आक्रमण गर्लान् भन्ने डर छ। गाउँमा रातको समय बाघ आएर खोरबाट बाख्रा, गोरु लगेर मार्ने गरेको छ।’

विद्यालयमा टाढाबाट विद्यार्थी पढ्न आउने हुँदा विद्यालयमै छात्रावासको व्यवस्था गरेर राख्दा पनि राति जंगली जनावरले आक्रमण गर्लान् भन्ने डर रहेको उनको भनाइ छ। मलइ बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.