|

भैरहवा : फागुनको पहिलो दिन पाल्पामा जीप दुर्घटना हुँदा १० जनाले ज्यान गुमाए। १३ जनाको सिट क्षमता रहेको जीपमा २७ यात्रु सवार थिए। उकालोमा तान्न नसकेपछि जीप दुर्घटना भएको प्रहरीको अनुमान छ।

बिहीबार कपिलवस्तुको सुरही नाकामा बस दुर्घटना हुँदा पनि १० जनाको मृत्यु भयो। ३० जना घाइते भए। बस तीव्र गतिमा रहेका कारण दुर्घटना भएको जनाइएको छ। यसअघि बुधबार दाङको देउखुरीमा जीपले ठक्कर दिँदा साइकलमा सवार दिदीबहिनीको ज्यान गयो। 

यी घटना त प्रतिनिधिमूलक घटना मात्र हुन्। लुम्बिनी प्रदेशमा मात्रै पछिल्लो चालु आर्थिक वर्षको छ महिनामा २८५ जनाले ज्यान गुमाएको प्रहरीको तथ्यांक छ। फागुनको तीन दिनमा मात्र २२ जनाले ज्यान गुमाएक छन्। घाइतेको गम्भीर अवस्थालाई हेर्दै यो सङ्ख्या अझै बढ्न सक्ने ट्राफिक प्रहरीको भनाइ छ। 

विशेषतः प्रदेशको पहाडी जिल्लामा भएको दुर्घटनामा परेर हताहत हुने सङ्ख्या बढी रहेको छ। ट्राफिक प्रहरी, सवारी चालक एवं बस व्यवसायीहरुको चेपुवामा यात्रुले ज्यान गुमाइरहँदा सरोकारवाला एकअर्कालाई दोषारोपण गरिरहेका छन्। 

ट्राफिक प्रहरी चालक, सडकको अवस्था एवं सवारीको स्थितिलाई देखाउँदै दुर्घटनाको कारक बताइरहेको छ। बस व्यवसायीले भने ट्राफिक प्रहरीले दुर्घटनाका नाममा अनावश्यक जाँच गरी मानसिक तनाव दिएको आरोप लगाउँछन्।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाईँले प्रारम्भिक अनुसन्धानमा चालककै लापारबाहीका कारण दुर्घटना भएको बताए। तीव्र गति, अत्यधिक भारवहनका कारण पाल्पा र कपिलवस्तुको दुर्घटना भएको उनको भनाइ छ।

हालको घटनामा चालकको लापरबाही देखिए पनि दुर्घटनामा अन्य कारणले पनि प्रभाव पार्ने गरेको उनी बताउँछन्। मुख्यतयाः चालक तथा यात्रुले ट्राफिक नियमको पालना नगर्नु, सडकको अवस्था, सवारी साधनको अवस्था, मापसे, चालक जवाफदेही नहुनु, भौगोलिक विकटता, अत्यधिक सवारी चापलगायत कारण लुम्बिनी प्रदेशका दुर्घटनाका मुख्य समस्याका रूपमा रहेका छन्।

प्रहरी उपरीक्षक प्रसाईँले दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरीसँग सीमित स्रोत  साधन रहेको गुनासो गर्छन्। ‘ट्राफिक व्यवस्थापन प्रविधिमैत्री र डिजिटाइलेजेसन गर्न आवश्यक छ। अहिले ट्राफिक प्रहरीमा यी दुवैको खाँचो छ’, उनले भने, ‘हामीले पर्याप्त कारबाही गरेका छौँ। प्रहरीले सचेतनासँगै सजाय गरे पनि त्यो पर्याप्त छैन।’

उनले ट्राफिक प्रहरी प्रविधि र उपकरणमा कमजोर रहेको बताए। यसका लागि स्थानीय निकायहरुसँग पटकपटक अनुरोध गरे पनि त्यो सफल हुन भने नसकेको उनको भनाइ छ। व्यवसायी भने सबै घटनामा चालकलाई मात्र दोष दिन नमिल्ने बताउँछन्। पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल अहिले यात्रुको चाप भन्दा सवारी साधनको चाप बढी भएको कारण चालकलाई यात्रु कसरी बढाउन सकिन्छ भन्ने मानसिक तनाव रहेको बताउँछन् चालक यात्रु कसरी बढाउने र कसरी बढी रकम कमाउने भन्ने ध्यानमा रहँदा दुर्घटना बढेको उनी स्वीकार गर्छन्।

लुम्बिनी प्रदेशमा आव २०७७/०७८ मा एक हजार दुई सय १२ दुर्घटनामा परी ५२७ जनाले ज्यान गुमाएका थिए। सोही आर्थिक वर्षमा एक हजार ८३ जना गम्भीर घाइते र ७४० जना सामान्य घाइते भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको तथ्यांकले देखाएको छ। आव २०७८/०७९ मा एक हजार १६४ सवारी दुर्घटनामा परी ५५१ जनाले ज्यान गुमाएका थिए। यो अवधिमाएक हजार १२३ जना गम्भीर घाइते तथा ५१७ जना सामान्य घाइते भएका थिए।

आव २०७९/०८० मा भने ८९२  सवारी दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ४६२ रहेको थियो। सो आर्थिक वर्षमा ७९९ जना गम्भीर घाइते तथा ४७७ जना सामान्य घाइते भएको तथ्यांकमा उल्लेख छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.