|

तुलसीपुर : नयाँ पुस्ताले काम नसिकेकोमा चिन्त्तित कुमाल समुदायले माटोको अभाव भोग्नुपरेको दुःख पोखेको छ। पुस्तौँदेखि माटोका भाडा बनाई जीविका चलाउँदै आएका कुमाललाई अहिले यही पीडा रहेको छ।

तुलसीपुर उपमहानगरपालिका-७ पर्सेनीस्थित कुमालगाउँमा ६० भन्दा बढी घरधुरी कुमाल छन्। गाउँमा बढीमा १०-१५ घरका त्यो पनि पाका उमेरकाले मात्र पेशा जोगाएका आएका छन्। १४ वर्षको उमेरदेखि माटोका विभिन्न सामान बनाउँदै आएका ६२ वर्षीय रूपसिंह कुमालले माटो र दाउराको समस्या रहेको बताए।

बनाएका भाँडा बिके पनि माटोको समस्याले गर्दा भनेजति बनाउन नसकिएको उनको गुनासो छ। उनले भने, ‘बेच्न लगेपछि सामान बिक्री हुन्छ। गाउँगाउँमा गएर समयानुसारका सामान बनाए बिक्री हुन्छ तर माटोको समस्या छ।’

तुलसीपुर-७ को मटेराबाट माटो ल्याउने गरे पनि त्यहाँ विवाद हुँदा समस्या भएको बताए। उनले भने, ‘सामान बनाउन जहाँ पायो, त्यहाँको माटो हुँदैन। हाम्रा पुर्खाले ल्याउने मटेराबाट हो। अहिले स्थानीयले विवाद गर्दा समस्या भएको छ।’

यस्तै उनले गर्मी समय शुरु भएको र अब घैंटाको बढी माग हुने भए पनि उत्पादन गर्न समस्या हुने बताए। उनले बनाएका सामान पकाउन दाउराको समस्या हुने गरेको बताए। उनका अनुसार घरमै पराल हुने भए पनि दाउराको अभाव हुने गरेको छ।

यस्तै उनले पुर्ख्यौली पेशा छोराहरूलाई सिकाउन खोज्दा चासो नदिएको बताए। जेठो छोरा भारत गएको र कान्छा छोराले अटो चलाउने गरेको उनले बताए। उनले भने, ‘यो सीप सिकाउन धेरै प्रयास गरेँ तर छोराहरूले चासो दिएनन्। यो काममा दुःख धेरै हुने र आम्दानी कम हुँदा युवाले चासो दिएनन्।’

६७ वर्षीय गोविन्द कुमालले पनि करिब १३ वर्षको उमेरदेखि यो पेशामा लागेको बताए। पहिला माटोको भाँडा गाउँगाउँ लगेर जाने र धानसँग साटेर ल्याएर जीविका चलाउने गरे पनि पछिल्लो समय व्यापारीहरूले घरमै आएर पैसामा किन्ने गरेको उनको भनाइ छ।

आफ्ना बाउबाजेको पालादेखिको पेशालाई अहिलेसम्म निरन्तरता दिए पनि उनले माटोको समस्या रहेको बताए। उनले अहिले माटाका साना सामान मात्र बनाउने गरेको बताए। उनले भने, ‘एकातिर बजारमा प्लास्टिकका भाँडा छन् अर्कोतर्फ माटो पाइँदैन। अर्को काम पनि जानेको छुइनँ, बाउबाजेहरूसँग सिकेको यही पेशा अहिले जसोतसो गरिरहेको छु।’

उनका अनुसार माटो निकाल्न पनि धेरै संख्यामा जानुपर्ने र त्यहाँ पनि विवाद हुँदा अब पेशा नै छाड्नुपर्ने अवस्था आएको छ। युवा पुस्ताले यो पेशातिर ध्यान नदिने र अर्कोतर्फ माटो, दाउराको समस्या भएकाले अब गाउँबाट यो पेशा लोप हुने उनको भनाइ छ।

मेहनतअनुसार आम्दानी नभएकाले रुचि छैन : युवा नवीन

नवीन कुमालका अनुसार बुबाले यो सीप जाने पनि नगर्ने हुँदा पनि यो पेशाप्रति रुचि नलागेको हो। घरमा बाजेले माटाका भाँडा बनाए पनि उनको निधनपछि कसैले नबनाउने गरेको उनले बताए। उनले भने, ‘बुबाले यो सीप जाने पनि मिस्त्री काम गर्नुहुन्छ। त्यसैले मैले पनि यो पेशाप्रति चासो दिइनँ। अरू काम गर्दा दिनको एक हजार कमाइ हुन्छ‚ यो पेशाबाट एक हप्ता काम गरेपछि एक हजार कमाइन्छ, दुःख धेरै छ। त्यसैले युवा पुस्ताले चासो नदिएको हो।’

उनले पुर्ख्यौली पेशा लोप हुँदै गएको चिन्ता लागे पनि यो पेशाबाट जीवन चलाउन नसकिने भन्दै आफूहरू अरू पेशामा लागेको बताए। उनका अनुसार अहिले गाउँमा बूढापाकाले मात्र यो काम गर्दै आएका छन्। उनीहरूको निधनपछि त्यो हराउनेछ।

यो पेशालाई बचाउनु भनेको कुमाल जातिको पहिचान जोगाउनु भए पनि विभिन्न कारणले आफूहरू यो पेशाबाट अलग हुनुपरेको उनको भनाइ छ। यस्तै उनले राज्यले नयाँ सीप, प्रविधि र बजारीकरणको व्यवस्था गर्न सके मात्र युवाहरू यो पेशातर्फ आकर्षित हुने बताए।

माटो अभाव हुँदा युवापुस्तालाई पनि बहाना : प्रेम

माटोको अभावले गर्दा मागअनुसारको सामग्री तयार गर्न समस्या रहेको प्रेमबहादुर कुमालले बताए। पुस्तौँदेखि मटेराबाट माटो ल्याउँदै आएकोमा त्यहाँ विवाद हुँदा अहिले समस्या भएको छ। अर्कातर्फ युवा पुस्तालाई पनि यो पेशा छोड्ने बहाना भएको उनको भनाइ छ।

एकातिर बजारमा प्लास्टिकका भाँडा आउनु र अर्कोतर्फ पर्याप्त मात्रामा माटो नपाइने हुँदा सीप र परिश्रमअनुसार ज्याला नउठ्ने भएपछि कुमाल जातिको पेशासँगै सीप र कला पनि लोप हुँदै गएको भन्दै उनले पुर्ख्यौली पेशालाई संरक्षण गर्न राज्यले आफूहरूको समस्या सम्बोधन गर्नुपर्ने बताए।

उनका अनुसार गाउँमा समूह बनाएर आफूजस्तै बूढापाकाले अहिले जसोतसो माटाका सामान बनाउँदै आएका छन्। कुमाल गाउँ शान्ति उत्पादन समूहमा ११ जना रहेको उनको भनाइ छ। उनका अनुसार अहिले गमला तथा घोडा लगायत सामग्रीको माग धेरै भए पनि माटो अभावका हुँदा समस्या भएको छ।

पुस्तौँदेखि माटो ल्याउँदै आएको ठाउँमा अहिले स्थानीय सरकारले सडक बनाउँदा र स्थानीयले अवरोध गर्दा समस्या भएको उनले बताए। आफूहरूले समस्याको बारेमा स्थानीय सरकारलाई पटक पटक भने पनि कुनै सुनुवाइ नभएको उनको गुनासो छ।

उनले भने, ‘अहिले गाउँमा हामी धेरै बूढापाकाले यो पेशालाई निरन्तरता दिएका छौँ। विभिन्न समयमा तालिम हुँदा पनि युवाले ध्यान दिएका छैनन्। अहिले माटोको अभावले गर्दा सबै विस्थापित हुनुपर्ने अवस्था छ। अहिले धेरै माग आए पनि माटो अभावले समस्यामा छौँ।’

यस्तै उनले अहिले आफूलाई काठमाडौँबाट साना तथा ठूला घोडा र करुवाको माग आएको भन्दै माटोको अभावले गर्दा बनाउन समस्या भइरहेको समेत बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.