|

पाल्पा : ४२औं मगर दिवस विविध कार्यक्रम गरी मंगलबार पाल्पामा पनि मनाइएको छ। सबै स्थानीय तहमा मगर समुदायका विभिन्न संघसंस्थाले कार्यक्रम आयोजना गरेर मनाएका हुन्। विशेष गरी मगर संस्कृति झल्किने कार्यक्रम गरेका थिए।

नेपाल मगर संघ माथागढी गाउँपालिकाले सराइमा भव्य मेला नै आयोजना गर्‍यो। हजारौंको संख्यामा मानिसहरूको भिड लागेको थियो। युवाको जमात ठूलो थियो। यहाँ आएका बालबालिकादेखि वुद्धसम्मले मगरी पोसाक लगाएर ठाँटिएका थिए।

पुरूषले भांग्रा, गादो, भादगाउँले टोपी, महिलाले गुन्या, चोली, पहेँलो पटुका, घलेक, कण्ठ माला, मुगाको माला, चाँदिको ठिमुरा, रैयाँ, फुली, बुलाँकी, मुडवरी लगाएका थिए। कार्यक्रमस्थल नै रंगिचंगी देखिएको थियो।

खुला चौरमा आयोजना गरिएको कार्यक्रममा मगर संस्कृति झल्किने सालैजो, झ्याउरे, सोरठी नाँच, नौमति बाजा प्रदर्शनी गरिएको थियो। स्टलमा बंगुरको मासु, कुखुराको मासु, बटुक, सेलरोटी, चुकाउनी, जाँड राखिएको दृष्य देखिन्थ्यो। जाँडलाई मगर समुदायले सगुनको रुपमा प्रयोग गर्ने चलन छ।

कार्यक्रमस्थल नजिकै निर्माण गरिएको कुँडुले घर हेर्नेको घुइँचो नै लागेको थियो। पछिल्लो पुस्ताले संस्कार र संस्कृति भुलिरहेको अवस्था छ। यस्ता कार्यक्रमले युवा पुस्तामा हस्तान्तरण गर्ने स्थानीय शिक्षक लोकेन्द्र थापाले बताए।

यहाँ आएका युवा तथा बालबालिकाले मगर समुदायको रितिरिवाज, परम्परा र संस्कृतिबारे सिक्ने नेपाल मगर संघ माथागढीका अध्यक्ष भेगराज थापा मगरले बताए।

मगर दिवस मनाउन स्थानीय पालिकाले सहयोग गरेको छ। यस समुदायको संस्कृति संरक्षणमा आफूले स्थानीय सरकारले रचनात्मक कार्यक्रम गर्दै आएको माथागढी गाउँपालिका अध्यक्ष यम चिदीले बताए।

मगर समुदायको फरक पहिचान छ। पाल्पामा यो समुदायको बाहुल्य छ। मगर समुदायको संस्कृति, परम्परा र रितिरिवाजलाई संरक्षण र प्रवद्र्धन गर्न तीनै तहका सरकारले सहयोग गर्नुपर्ने लुम्बिनी प्रदेश सांसद खेम सारूले बताए। 

मगर दिवसका दिन मंगलबार पाल्पाका सबै स्थानीय तहले सार्वजनिक बिदा दिएका थिए।  

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.