|

कैलाली : सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्र स्थापना गर्ने भएको छ। पहिलो चरणको संरचना निर्माणको काम यसै वर्ष सम्पन्न गर्ने गरी तयारी थालिएको छ। 

संघीय सरकारले प्रदेशको डोटीमा सरुवा रोग अनुसन्धान केन्द्र सञ्चालनमा ल्याउने गरी काम गरिरहेका वेला प्रदेश सरकारले प्रदेशस्तरीय सरुवा रोग अनुसन्धान केन्द्र कैलालीको टीकापुरमा बनाउने निर्णय गरेको थियो। 

प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत २०७८ सालमा भवन निर्माणको काम थालिएको थियो। तत्कालीन समयमा समयमा काम सम्पन्न हुन नसक्दा भवन निर्माणको काम एक वर्ष पछि धकेलिएको थियो। दुई करोडको लगानीमा पहिलो दुई तलासम्मको काम भएको भवनको यही वर्ष बाँकी काम सम्पन्न गरेर सञ्चालनको प्रक्रियामा लैजाने तयारी प्रदेशको रहेको छ। यो वर्ष प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले भवनको बाँकी कामको लागि दुई करोड रुपैयाँ विनियोजन गरेको छ।

विनियोजन भएको बजेट बोलपत्र प्रक्रियामा गएर सम्झौताको लागि निर्माणका लागि छनोट भएको निर्माण कम्पनीलाई पत्र पठाइसकेको मन्त्रालयका इन्जिनियर होमराज तिमिल्सिनाले जानकारी दिए। ‘मन्त्रालयले दुई करोडको टेण्डर आह्वान गरेकोमा बीबी खप्तड जेभीले भवनको काम पाएको छ’, उनले भने, ‘चालु आवभित्र संरचनाको काम सम्पन्न हुने गरी मन्त्रालयले निर्माण कम्पनीले सम्झौता गर्नेछ।’ 

संरचनाको काम सम्पन्न भएपछि सरुवा रोग अनुसन्धान केन्द्र सञ्चालनको आवश्यक प्रक्रिया अगाडि बढाइने सामाजिक मन्त्रालयका सचिव गणेश सिंहले बताए। उहाँले अहिले भवन निर्माणकै चरणमै रहेको जनाउँदै त्यसपछि जनशक्ति व्यवस्थापनका लागि मन्त्रालयले काम अगाडि बढाउने जानकारी दिए। 

टीकापुर अस्पताल परिसरभित्र निर्माण हुन लागेको सरुवा रोग अनुसन्धान केन्द्रले टीकापुर अस्पतालको स्तरोन्नतिमा समेत मद्दत पुग्ने विश्वास गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.