|

पर्वत : गर्मी सकिएर जाडो सुरु हुने बेलामा होस वा जाडो सकिएर गर्मी सुरु हुने बेलामा होस देशभरका स्वास्थ्य संस्थाहरूमा सिजनल फ्लुका बिरामीहरूको संख्या एकाएक बढ्छ।

अहिलेको मौसम चिसोबाट गर्मीतिर जाने क्रम रहेकोले जाडो समयमा भन्दा बढी स्वास्थ्य जोखिम हुने गर्दछन्। रुघाखोकी, ज्वरो, शरीर दुख्ने, घाँटी दुख्ने समस्याहरू बालबालिकादेखि वृद्धसम्म देखिन्छन्।

प्रस्तुत छ मौसम परिवर्तनको बेलामा मानिसको स्वास्थ्यमा आउन सक्ने समस्या र तिनको समाधानको विषयमा थाहाकर्मी संजय रेग्मीले पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलासँग गरेको कुराकानी।

 जाडो सकिने र गर्मी सुरु हुने बेलामा स्वास्थ्यमा कस्ता खालका समस्याहरू आउन सक्छन्?

मौसम परिवर्तन हुने बेलामा चिसोबाट तातो वा तातोबाट चिसो हुन्छ। यो बेलामा सबैभन्दा बढी समस्या भाइरल इन्फेक्सन र र सिजनल एलर्जीको हुन सक्छ।

फेरि अब चिसो सकिएर गर्मी सुरु हुन लागेकोले धूवाँ र धूलोबाट हुने एलर्जीको समस्यामा पनि वृद्धि हुन्छ। जसले गर्दा रुघाखोकीदेखि दमका बिरामीहरूलाई पनि समस्या नै हुन्छ। साना बच्चाहरूमा हुने दमको समस्या पनि यो बेलामा बल्झिन सक्छ।

 एलर्जी र भाइरल इन्फेक्सनबाट जोगिन के गर्न सकिन्छ त?

वातावरणलाई स्वस्थ राख्नुपर्छ। घर बाहिर जाने बेलामा र घरमा पनि सरसफाइ गर्ने बेलामा मास्क लगाएर धूवाँ, धूलोबाट जोगिनुपर्छ।

​ विशेषतः घाममा काम गर्ने कृषक, मजदुर लगायतले शरीरमा घाम पर्ने कुरामा ध्यान दिनुपर्छ। घामले पोल्ने, छाला डढ्ने, घामको  एलर्जी हुने समस्या पनि आउन सक्छ।

भाइरल इन्फेक्सन किन हुन्छ ? यसको उपचार के हो?
जाडोबाट गर्मी मौसम परिवर्तन हुने बेलामा बिहान र बेलुकामा जाडोकै महसुस हुने भए पनि दिउसोको समयमा बाहिर निस्किँदा गर्मी भएको हुन्छ। यो अवस्थामा हाम्रो शरीरबाट उत्पन्न हुने हर्मोन र रोगसँग लड्न सक्ने हाम्रो क्षमतामा पनि परिवर्तन आउँछन्।

शरीरभित्रै आन्तरिक तालमेल नमिलेको जस्तो यो समयको मौसममा लाग्ने भाइरस कडा हुने भएकाले निको हुन पनि एक हप्तासम्म लाग्ने गर्छ। रुघाखोकी, ज्वरो, टाउको दुख्ने, शरीर दुख्ने, लगायतका समस्या आउँदा घरमै बनाइने झोल पदार्थ वा घरेलु उपचार पनि गर्न सकिन्छ।

गाउँघरतिर तातो  झोल पदार्थ खाने, अदुवा, बेसार, लसुन लगायतको झोल पिएर आराम गर्ने लगायतका उपायले धेरैलाई निको भएको देखिन्छ। तर निको भएन र कठिन नै भयो भने स्वास्थ्य परीक्षण पनि गर्नुपर्छ।

 
अरू स्वास्थ्य जोखिम केही हुन्छन्?

अब मानिसले पानीसँग सम्बन्धित समस्याहरू धेरै भोग्नुपर्ने हुन्छ। धाराहरूमा पानीको बहाव परिवर्तन हुन थाल्छ। अस्वस्थ पानीका कारण फुड पोइजनिङको समस्या देखिने जोखिम गर्मी लागेसँगै बढ्दै जान्छ।

यही समयमा हाम्रो अस्पतालमा झाडापखालाको ३÷४ वटा केसहरू आइसकेका छन्। सिजन परिवर्तन भएपछि पानीमा इन्फेक्सन सुरु हुन्छ, इन्फेक्टेड पानीले झाडापखाला हुन्छ। गर्मी लागेपछि देखिने वा नदेखिने किराहरूको टोकाइबाट पनि छालामा डाबर आउने, चिलाउने, लगायतका एलर्जीहरू बढी हुन्छ।

जाडोमा भन्दा गर्मीमा फरक फरक खालका किराहरू देखिन्छन् र तिनीहरूले मानिसलाई पनि टोक्छन्।

 यी कुराहरूबाट जोगिन के गर्नुपर्छ?

गर्मी याममा वर्षा सुरु भएपछि बाढी पहिरो जाने र त्यसले विपत्ति ल्याउँदा महामारीको रूपमा धेरैका प्रकारका स्वास्थ्य जोखिमहरूको सम्भावना रहन्छ। त्यो अगाडिको अवस्थामा उमालेको पानी पिउने, बासी खाना नखाने, राम्रोसँग पाकेका खानेकुराहरू नखाने, लगायतका उपायहरू नै अवलम्बन गर्नुपर्छ।

चिसो समयमा कीटाणु सक्रिय नहुने भएकाले होटेल वा घरमा राखिएका बासी खानाको असर तत्कालै नदेखिएको भए पनि अब खानेकुराबाट आउन समस्या शरीरले सहँदैन। विशेषतः पुतलीदेखि किराहरूको टोकाइ र घामबाट पनि छालालाई बचाउन शरीर ढाक्ने गरी कपडा लगाउने, झुल टाँगेर सुत्ने लगायतका उपायहरू अपनाउनुपर्छ।

 मौसम परिवर्तनको बेलामा कुन उमेर समूहका व्यक्तिहरूमा स्वास्थ्य समस्या बढी देखिन्छन?

यो समयमा बालबालिकाहरू अलि बढी समस्यामा पर्न सक्छन्।

ज्येष्ठ नागरिकहरूमा पनि रोग प्रतिरोधात्मक शक्ति कम हुँदै गएको हुने भएर उहाँहरूमा पनि समस्या त आउँछ। तर उहाँहरूले आफ्नो केही हेरविचार आफै पनि गर्न सक्नुहुन्छ। तर साना बाबुनानीलाई मौसम परिवर्तन र यसको असरबारे थाहा हुँदैन।

त्यसैले  बच्चाहरूमा ज्वरो आउने, खोकी लाग्ने, शरीर दुख्ने, घाँटी दुख्ने, खान मन नगर्ने जस्ता समस्या देखिन्छन्। बच्चामा रोगसँग लड्न सक्ने क्षमतामा कमी हुने हुनाले बच्चाहरूलाई छिटो भाइरसले समात्छ।

 बालबालिकाहरूलाई मौसमी इन्फेक्सनबाट सुरक्षित राख्नका लागि के गर्नुपर्छ?

यो बेलामा हरेक स्वास्थ्य संस्थामा भाइरल इन्फेक्सनका बिरामीहरू बढेका हुन्छन्। त्यसमा पनि आफ्ना समस्याबारे बताउन नै नसक्ने साना बालबालिकाहरू र खेल्न वा घुम्न बाहिर बढी निस्कने बालबालिकाहरूमा समस्या धेरै हुन्छ। बिहान बेलुका जाडोको अनुभव भएको बेलामा तातो पानी पिउने व्यक्तिले दिउँसो गर्मी भयो भनेर चिसो पानी पिउँछन्। बिहान बेलुका न्यानो कपडा लगाएको व्यक्तिले दिउँसोमा सामान्य जिउ ढाक्ने कपडा लगाउँछन्। जसले शरीरलाई दुई अवस्थामा एडजस्ट गर्न कठिन हुँदा स्वास्थ्य समस्या आउने हो।

यो हुन नदिन पिउने पानीदेखि लुगासम्म ध्यान दिनुपर्छ। मौसमी इन्फेक्सनमा रुघाखोकी धेरै लाग्छ र यो निकै छिटो अरूमा फैलिन्छ। त्यसैले साबुन पानीले हात धुने, मास्क लगाउने, बच्चालाई ज्वरो आएको छ भने पर्याप्त मात्रामा आराम गराउने, समस्या देखिएमा विद्यालय नपठाइ आराम गराउनुपर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.